सरकारी नीति नै हुन्डी संरक्षक !

वीरगञ्ज। सरकारको गलत नीतिका कारण अवैध हुन्डी कारोबार मौलाएको निजीक्षेत्रले बताएको छ । सरकारको अव्यावहारिक राजस्व नीतिले हुन्डी कारोबार गर्न बाध्य बनाएको दाबी उद्योगी व्यापारीको छ ।  वीरगञ्ज उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई पत्र लेखेर यस्तो बताएको हो । संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमले अर्थमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ, ‘अन्तरराष्ट्रिय बजारमा कुनै सामानको दाम सस्तो छ । तर, सरकारले तयार गरेको सन्दर्भ मूल्यांकन पुस्तिकामा उक्त सामानको मूल्यांकन बढी छ भने उद्योगी व्यवसायीले प्रचलित मूल्यमा सामान मगाउन सक्दैनन् । प्रचलित मूल्यमा सामान मगाएमा ५० प्रतिशत जरीवाना लाग्ने व्यवस्था गरिएको छ यसले हुन्डी कारोबार बढाएको छ ।’  आयातकर्ताले सन्दर्भ मूल्यमा प्रतीतपत्र (एलसी) खोल्नुपर्ने भएपछि बाहिरिएको बढी रकम हुन्डीको माध्यमबाट फिर्ता ल्याउनुबाहेक अन्य विकल्प नहुने गौतमले बताए । हुन्डी कारोबार नगरौं भन्दा पनि सरकारकै नीतिका कारण बाध्य भएको दाबी उनको छ ।  वीरगञ्ज उद्योग वाणिज्य संघले अर्थमन्त्रीलाई पत्र लेखेर यसमा ध्यानाकर्षण गराएको छ ।  भारतमा वस्तु तथा सेवा कर (जीएसटी) लागू भइसकेकाले त्यस्तो बिल मूल्यलाई मान्यता दिनुपर्ने माग गरे पनि सुनुवाइ नभएको आयातकर्ताले बताउँदै आएका छन् ।  भन्सार कार्यालयबाट जाँचपास भएर भीसीटीएस गरी छुटेको सामान भन्सार यार्डबाट बाहिर निस्केपछि प्रहरीले पक्राउ गरी राजस्व अनुसन्धान विभागमा पठाउने गरेकोप्रति पनि निजीक्षेत्रले असन्तुष्टि जनाएको छ । ‘भन्सारबाट छुटेको गाडीमा प्रज्ञापनपत्र हुन्छ । भन्सार तिरेको रसिद पनि दिन्छ । राजस्व अनुसन्धानले मूल्यांकन कम भएको बहाना गरी दु:ख दिने र अन्तत: गलत सम्झौताबाट गाडी छोडिने अभ्यास बढ्दो छ,’ संघको पत्रमा उल्लेख गरिएको छ । आयातकर्ताले भंसार मूल्यांकन कम गराई सामान छोडेको हो भने जाँचपास गर्ने कर्मचारी पनि दण्डित हुनुपर्नेमा आयातकर्ता मात्र दण्डित हुनुपर्ने नियम गलत भएको गौतमको भनाइ छ । राज्यको प्रवृत्तिले गर्दा व्यवसाय गर्न असम्भवजस्तो लाग्न थालेको व्यापारीले बताउने गरेका छन् ।  यही साउन १ गतेदेखि आयातित सामानमा लेबल लगाउने नीतिको पनि निजीक्षेत्रले विरोध गरेको छ । लेबल लगाउनुअघि सम्भावित समस्या समाधानका लागि गृहकार्य नभएको संघको पत्रमा उल्लेख छ । ‘लेबल लगाउनेसम्बन्धी कार्यविधि अहिलेसम्म बनेको छैन । कस्तो सामानमा लेबल गराउने हो भन्ने स्पष्ट छैन,’ उद्योग समितिका अध्यक्षसमेत रहेका गौतमले भने, ‘औषधिको प्याकेटमा केही पनि लेख्न नपाउने औषधि व्यवस्था विभागले भन्छ । अब आयातकर्ताले के गर्ने ?’  सरकारले वैध व्यापारमा यस्तै समस्या खडा गरिरहने हो भने सीमाक्षेत्रमा अधिकांश व्यापार अनधिकृत च्यानलमा जाने भएकाले सरकारका अव्यावहारिक नीतिका कारण उद्यममा देखापरेका समस्याको निकास तत्काल खोजिनुपर्ने संघले बताएको छ ।

सम्बन्धित सामग्री

सम्पत्ति शुद्धीकरण मामिलामा नेपाल ‘ग्रे लिस्ट’ मा पर्ने जोखिम

सम्पत्ति शुद्धीकरण निवारणमा हेलचेक्र्याइँ गर्दा नेपाल ‘ग्रे लिस्ट’ मा पर्न सक्ने जोखिम बढ्दै गएको छ । भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबारलगायत वित्तीय अपराधका घटना न्यूनीकरणमा सरकारी नीति र संयन्त्रहरू असफल हुँदा यस्तो जोखिम बढेको हो ।

विप्रेषण घटेको घट्यै : ९० % वैदेशिक रोजगारी खाडीमा

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को शुरूदेखि घट्न थालेको विप्रेषण आप्रवाह सातौं महीनामा पनि सुधार हुन सकेको छैन ।  नेपाल राष्ट्र बैंकका अनुसार साउनदेखि माघसम्म विप्रेषण आप्रवाहमा ४ दशमलव ९ प्रतिशतले कमी आई ५ खर्ब ४० अर्ब १२ करोड रुपैयाँ कायम भएको छ । गतवर्ष सोही अवधिमा विप्रेषण १० दशमलव ९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव ८ प्रतिशतले कमी आई ४ अर्ब ५३ करोड कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।  विप्रेषण आप्रवाहमा कमी आएसँगै समग्र अर्थतन्त्रमा अझै सुधारको संकेत देखापरेको छैन । विज्ञहरूले अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि नबढ्नुमा विप्रेषण आप्रवाह घट्नुलाई मुख्य कारण मान्दै आएका छन् । अर्थशास्त्री डा। पोषराज पाण्डे विप्रेषण कुनै पनि देशको स्थायी आय हुन नसक्ने भए पनि तत्काल विप्रेषणको विकल्प नभएको बताउँछन् । ‘लामो समयसम्म विप्रेषण एकै गतिमा नहुने भएकाले सरकारले स्वदेशी उत्पादन वृद्धिलगायतका अन्य योजनामा जोड दिन ढिलाइ गर्नु हुँदैन,’ उनले भने ।  कतिपय विज्ञ जनसंख्याको तुलनामा यतिखेर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या उच्च विन्दुमा पुगेको तर्क गर्छन् । हरेक वर्ष श्रमबजारमा प्रवेश गर्ने करीब ५ लाखमध्ये स्वदेशमा मुश्किलले ५० हजार हाराहारीले रोजगारी पाउने गरेका छन् । स्वदेशमा रोजगारी नपाउनेहरू भारतलगायत विभिन्न मुलुकमा रोजगारीका लागि जाने गर्छन् । कोरोना महामारी शुरू हुनु अघिसम्म श्रम स्वीकृति लिएर वर्षमा नयाँ र नवीकरणसहित ५ लाख हाराहारीका युवायुवती वैदेशिक रोजगारीमा जाने गर्थे ।  कोरोना महामारी शुरू भएपछि भने वैदेशिक रोजगारीमा जानेको संख्या केही घटेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । विभागका अनुसार साउनयता श्रमस्वीकृति लिएर ३ लाख ५२ हजार ४ सय २७ युवायुवती वैदेशिक रोजगारीमा गएका छन् । तीमध्ये खाडीका चार मुलुक साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स ९यूएई० र कुबेतमा कामका लागि जानेको संख्या करीब ३ लाख २० हजार ५ सय ३३ छ । यो ७ महीनामा वैदेशिक रोजगारीमा जानेमध्ये कूल संख्याको करीब ९० प्रतिशत हो ।  यस अवधिमा सबभन्दा बढी नेपाली काम खोज्न साउदी गएका छन् । साउदीमा १ लाख २४ हजार ३५ युवायुवती कामका लागि गएका छन् ।  त्यस्तै कतारमा  १ लाख १६ हजार १ सय ५३ नेपाली काम खोज्न जाँदा यस अवधिमा महीनामा यूएईमा ७० हजार १ सय ३२ र कुबेतमा १० हजार २ सय १३ गएको विभागले जनाएको छ । पछिल्लो समयमा विप्रेषण आप्रवाह वृद्धि हुन नसक्नुका अनेक कारणमध्ये धेरैजसोले खाडी मुलुकलाई गन्तव्य बनाउनु पनि एक भएको विज्ञहरूको धारणा छ । वैदेशिक रोजगार बोर्डका पूर्व कार्यकारी निर्देशक रघुराज काफ्ले खाडी मुलुकको रोजगारीको विकल्प खोज्न ढिलाइ भइसकेको बताउँछन् । खाडी मुलुक जाने नेपालीले न्यून पारिश्रमिक पाउने तर ९० प्रतिशत हाराहारी तिनै मुलुकमा जाने गरेकाले त्यसको असर विप्रेषण आप्रवाहमा देखिएको उनको भनाइ छ ।  हाल सरकारले रोजगारीमा जान विश्वका ११० मुलुक खुला गरे पनि अधिकांश माग खाडी मुलुकबाट आउने गरेको छ । ‘धनी र विकसित मुलुकमा नेपाली कामदार पठाउन सक्ने हो भने अहिले आइरहेको भन्दा धेरै विप्रेषण प्राप्त हुन्छ,’ विभागका महानिर्देशक शेषनारायण पौडेल भन्छन्, ‘तर, अधिकांश माग खाडी मुलुकबाट आउँछन् ।’  वैदेशिक रोजगार ऐन २०६४ ले रोजगारीका लागि युवालाई विदेश पठाउनुअघि गन्तव्य मुलुकबाट मागपत्र ल्याउनुपर्ने व्यवस्था गरेको छ । गन्तव्य मुलुकका रोजगारदाताले कामदारको माग गरेपछि सम्बद्ध मुलुकमा रहेका नेपाली नियोगले त्यस्तो मागपत्र प्रमाणीकरण गर्नुपर्छ । मागपत्र प्रमाणीकरणपछि मात्र कामदार पठाउने प्रक्रिया शुरू हुन्छ । कामदारको मागपत्र ल्याउने र विदेश पठाउन पाउने सुुविधा ऐनले म्यानपावर कम्पनीलाई मात्र दिएको छ ।  म्यानपावर व्यवसायी भने युवायुवतीलाई राम्रा गन्तव्य मुलुकमा पठाउने चाहना हुँदाहुँदै ती मुलुकमा नेपाली राजदूतावास नहुँदा समस्या परेको दाबी गर्छन् । ‘हामी पनि नेपालका युवायुवती बढी पारिश्रमिक पाइने ठाउँमा जान पाऊन भन्ने चाहन्छौं,’ वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले भने, ‘तर, धेरैजसो मुलुकमा नेपाली नियोग नै छैनन् । छिमेकी मुलुकका नियोगलाई प्रमाणीकरणका लागि आग्रह गर्दा निकै समय र खर्च लाग्ने गरेको छ ।’  यतिखेर विश्वका ३९ मुलुकमा मात्र नेपाली राजदूतावास र कन्सुलर सेवा प्रदान गर्ने कार्यालय छन् । नेपाली राजदूताबास र कन्सुलर सेवा नभएका मुलुकमा जसलाई पायक पर्छ, तिनै नियोगले मागपत्र प्रमाणीकरण गर्नुपर्ने सरकारी नीति छ । व्यवसायीले यस्तो सरकारी नीति अव्यवहारिक भएको तर्क गर्दै आएका छन् ।  ‘पोल्यान्डमा नेपाली कामदार पठाउनुपर्‍यो भने जर्मनीमा रहेको राजदूतावासले मागपत्र प्रमाणीकरण गर्नुुपर्छ । तर, जर्मनीमा बस्ने कर्मचारी पोल्यान्डमा पुगेर रोजगारदाताको अवस्था बुझ्न व्यावहारिक हुँदैन,’ श्रेष्ठले भने । राम्रा मुलुकमा कामदार पठाउन नपाएपछि विप्रेषणमा सुधार हुन नसक्ने उनको भनाइ छ ।  चालू आवको तथ्यांक हेर्दा गतवर्षकै हाराहारीमा विप्रेषण भित्रिन कठिन हुने अनुमान गरिएको छ । गतवर्ष हालसम्मकै बढी ९ खर्ब ६१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको थियो ।  विप्रेषण घट्न थालेपछि यतिखेर राष्ट्र बैंकलगायत निकायले अध्ययन शुरू गरे पनि अहिलेसम्म यसको कारण सार्वजनिक गरिएको छैन । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट कोरोना महामारीमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेकाले पनि अहिले विप्रेषणमा गिरावट आएको हुनसक्ने ठान्छन् । श्रम, आप्रवासन विज्ञ सोम लुइँटेल वैदेशिक रोजगारीमा जानेलाई दक्ष बनाउन नसक्दाको असर विप्रेषणमा परेको बताउँछन् । ‘वैदेशिक रोजगारीमा जानेलाई सम्बद्ध काममा दक्ष बनाउन सकेको भए रोजगारदातासँग राम्रो पारिश्रमिक लिन सक्थे,’ उनले भने, ‘शीप नभएपछि पारिश्रमिक न्यून हुने भइहाल्यो ।’  केन्द्रीय तथ्यांक विभागका अनुसार यतिखेर वैदेशिक रोजगारीमा जानेमध्ये करीब ७५ प्रतिशत अदक्ष कामदार हुने गरेका छन् । कतिपय विज्ञ भने विप्रेषण घट्नुको कारण हुन्डी कारोबार बढेको हुनसक्ने अनुमान गर्छन् । ‘हुन्डी कारोबार रोक्न एकातिर विप्रेषण पठाउँदा लाग्ने खर्च सस्तो बनाउनुपर्छ भने अर्कोतर्फ सरकारी प्रक्रियालाई सहज पार्नुपर्छ,’ राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले भने ।  विप्रेषणले विदेशी विनिमय सञ्चितिमा सहयोग गर्ने गरेको छ । केन्द्रीय बैंकका अनुसार अहिले ६ दशमलव ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति छ । कुल विदेशी विनिमय सञ्चिति १६ दशमलव २ प्रतिशतले कमी आई माघ मसान्तमा ११ खर्ब ७३ अर्ब रुपैयाँ कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ प्रतिशतले कमी आई ९ अर्ब ७५ करोड छ । यस्तो सञ्चिति घटेको बेला निर्यात बढाउन सक्दा अर्थतन्त्रमा समस्या हुँदैन । तर, अहिले निर्यातको तुलनामा आयात निकै बढी छ ।सात महीनामा आयात ४२ दशमलव ८ प्रतिशत बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ । यस अवधिमा विभिन्न मुलुकमा निर्यात १ खर्ब ३१ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ ।  अधिकांश नेपाली रोजगारीका लागि निश्चित गन्तव्य मुलुकमा जाँदा जोखिम पनि उत्तिकै हुने धेरैको भनाइ छ । ठूलो संख्यामा नेपाली कामदार रहेका गन्तव्य मुलुकमा कुनै समस्या सृजना भयो भने त्यसबाट नेपाल पनि नराम्रोसँग प्रभावित हुनसक्ने सम्भावना भएकाले सरकारले रोजगारीलाई विविधिकरण गर्न आवश्यक छ ।