कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले विविधतामा एकता नेपालीको मौलिक पहिचान र विशेषता रहेको बताउनुभएको छ । इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इद (इद–उल–अज्हा) को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । “सही बलिदान त्यही हो, जुन निःस्वार्थ भावले गरिन्छ र जसमा सबैको कल्याण निहित हुन्छ,” उहाँको सन्देशमा उल्लेख छ । यस पर्वले राष्ट्रिय एकता र सांस्कृतिक ऐक्यबद्धताको भावना सुदृढ गर्दै सभ्य र समृद्ध समाज निर्माणका लागि थप प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दै उहाँले लोकतन्त्र, सामाजिक न्याय, स्वाधीनता, राष्ट्रिय अखण्डता र राष्ट्रियतालाई थप बलियो बनाउन पर्वले सहयोग पुग्ने विश्वास गर्नुभएको छ ।