कनेक्ट आईपीएसमार्फत काठमाडौं महानगरको कर भुक्तानी

काठमाडौं (अस) । स्थानीय सरकारको कर भुक्तानीसमेत अनलाइनबाटै गराउने गरी काठमाडौं महानगरले आफ्नो सबै कर भुक्तानी कनेक्ट आईपीएसमार्फत बैंक खाताबाटै हुने सुविधा सुरु गरेको छ । सुविधाका लागि काठमाडौं महानगरलाई कनेक्ट आईपीएसमा नबिल बैंकमार्फत आबद्ध गराइएको हो । यो सुविधासँगै करदाताले महानगरमा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमिकर), व्यवसाय कर, बहाललगायत सम्पूर्ण कर, दस्तुर तथा सेवाशुल्क घरमै बसेर दाखिला गराई अनलाइन भुक्तानीका लागि कनेक्ट आईपीएस ई–पेमेन्टमार्फत भुक्तानी गर्न सक्नेछन् । करदाताले कर तिर्न कार्यालयमा गएर लामो समयसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य हुनेछ । महानगरको राजस्व प्रणालीमा करदाताले पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोबाइल नम्बर र ईमेल ठेगाना आबद्ध गराउनुपर्नेहुन्छ । यसरी आबद्ध गरिसकेपछि करदाताले महानगरको वेबसाइटमा गई आप्mनो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गर्ने सक्नेछन् । रकम भुक्तानीका लागि आफ्नोे बंैक खाताबाट कनेक्ट आईपीएसमार्फत सजिलै कर तथा राजस्व तिर्न सकिनेछ ।