सुरुङमार्गको उत्साह

राजधानी प्रवेश र बहिर्गमनको मुख्य नाका थानकोट नौबिसेबाट दिनहुँ लाखौँ यात्रु तथा दसौंँ हजार सवारी साधन ओहोरदोहोर गर्ने गर्छन् । एक आँकडाअनुसार यस नाकाबाट दैनिक झन्डै २० हजार सवारी साधन निरन्तर चलिरहन्छन् । यति विध्न सवारी साधनको आवतजावत हुने यस क्षेत्रको सडक तुलनात्मक रूपमा फराकिलो भने छैन । फलतः यहाँ घण्टौँसम्म ट्राफिक जामको समस्या देखिनु नौलो विषय होइन । यसबाट यात्रुलाई सास्ती मात्र नभई समयको बर्बादी भइरहेको छ । पेट्रोलियम पदार्थको समेत अनावश्यक खपतमा वृद्धि भएको छ । यसैगरी वस्तु तथा सेवाको मूल्यमा समेत बढोत्तरी भइरहेको यथार्थ हो । देशको यातायात क्षेत्रमा यी साना समस्या होइनन् ।