विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा, २९ देशका गाउँ छानिँदा नेपालको छानिएन

काठमाडौं । विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)ले उत्कृष्ट पर्यटन गाउँहरू–२०२३ को सूची घोषणा गरेको छ । यही हप्ता उज्बेकिस्तानको समरकन्दमा भएको यूएनडब्ल्यूटीओको महासभाले विश्वका २९ देशका ५४ गाउँहरूलाई उत्कृष्टको रूपमा छानेको हो । उक्त सूचीमा पेरुका सर्वाधिक ५ गाउँ परेका छन् । यस्तै, जापान र चीनका ४–४ गाउँ पनि उत्कृष्टको रूपमा छानिएका छन् । यस्तै, चिली, स्पेन, दक्षिण कोरिया र मेक्सिकोका ३–३ गाउँ उक्त सूचीमा समावेश छन् ।  यसैगरी इजिप्ट, कोलम्बिया, स्विटजरल्याण्ड र अष्ट्रियाका २–२ गाउँ उत्कृष्टको सूचीमा परेका छन् । १७ देशका १–१ गाउँ पनि उत्कृष्टको रूपमा छानिएका छन्, जसमा छिमेकी भारतको धोर्डाे पनि परेको छ । यो दक्षिण एसियाबाट पर्ने एक्लो गाउँ हो । तर, नेपालका गाउँ भने उक्त सूचीमा परेका छैनन् । उक्त कार्यक्रमका लागि २६० ओटा आवेदन परेको थियो ।  ‘पर्यटन समावेशिता, स्थानीय समुदायहरूलाई सशक्त बनाउन र सबै क्षेत्रमा लाभ वितरण गर्नको लागि एक शक्तिशालिी शक्ति हुन सक्छ,’ यूएनडब्ल्यूटीओको महासचिव जुराब पोलोलिकासभिली भन्छन्, ‘यो पहलले ती गाउँलाई मान्यता दिन्छ, जसले आफ्नो विकास तथा कल्याणका लागि पर्यटनलाई उत्प्रेरकको रूपमा उपयोग गरेका छन् ।’ यी हुन् आधार उत्कृष्ट गाउँ छान्दा सांस्कृतिक र प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन, आर्थिक स्थायित्व, सामाजिक दिगोपन वातावरण स्थिरता र पर्यटन विकास र मूल्य श्रृंखला एकीकरणलाई आधार बनाइएको छ । यस्तै, पर्यटनको सुशासन र प्राथमिकता, पूर्वाधार र कनेक्टिभिटी र स्वास्थ्य, सुरक्षा र सुरक्षालाई पनि यसको आधार मानिएको छ ।  अपग्रेड कार्यक्रमका लागि पनि छानिएन नेपालको गाउँ  उत्कृष्ट गाउँको मात्रै होइन, यस वर्षको अपग्रेड कार्यक्रममा सहभागी हुने गाउँको सूचीमा पनि नेपालका गाउँ परेनन् । यो सूचीमा छानिएका २० गाउँमध्ये इन्डोनेशियाका ३ गाउँ परेका छन् । यस्तै इटाली, टर्की र पेरुका २–२ गाउँ उक्त सूचीमा अटाएका छन् । ११ देशका भने १–१ गाउँ उक्त सूचीमा छन् ।  सन् २०२१ मा लन्च गरिएको यो कार्यक्रम पर्यटनमार्फत ग्रामीण क्षेत्रको विकासका लागि ल्याइएको हो । यसले ग्रामीण क्षेत्रमा विकास र समावेशीकरण, जनसंख्या कमीबाट लड्न, पर्यटनको माध्यमबाट नवप्रवर्तन र मूल्य शृंखला एकीकरणका लागि काम गर्ने गरेको छ । एजेन्सीको सहयोगमा

सम्बन्धित सामग्री

विश्वका उत्कृष्ट पर्यटकीय गाउँको सूची: सरकारी बेवास्ताले नेपालका एउटै परेनन्

काठमाडौं। दुई साताअघि विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ)ले उत्कृष्ट पर्यटकीय गाउँ २०२३ सार्वजनिक गर्‍यो । यसमा विश्वभरका पर्यटकीय गाउँ समेटिन्छन् । यो सूचीमा परेका गाउँहरू पर्यटकको रोजाइमा पर्ने सम्भावना उच्च रहन्छ । उक्त संगठनले विश्वका विभिन्न २९ देशका ५४ गाउँलाई ‘उत्कृष्ट पर्यटन गाउँ’को सूचीमा समावेश गरेको हो । तर, चर्चित पर्यटकीय गन्तव्यहरूभएको नेपालका कुनै पनि गाउँ यो सूचीमा समेटिएका छैनन् ।  पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले वास्ता नगर्दा नेपालले विश्व बजारमा आफ्ना पर्यटकीय ठाउँ चिनाउने एउटा प्रभावकारी अवसर गुमाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय लामो समयदेखि यो संगठनको सदस्य छ । तर मन्त्रालयका अधिकारीहरू यस विषयमा आफूलाई जानकारी नै नभएको बताउँछन् । यतिसम्म कि मन्त्रालय र पर्यटन बोर्डका अधिकारीलाई यो सूची सार्वजनिक भएको कुरा पनि जानकारी छैन ।  बरु मन्त्रालयका सहसचिव राजेन्द्रकुमार केसीले यूएनडब्ल्यूटीओले आवेदन नै माग नगरेको भनेर आफ्नो बचाउ गरे । ‘आवेदन माग गरेको खण्डमा नेपाल पछि हट्ने कुरा थिएन,’ उनले भने, ‘संगठनले सदस्य राष्ट्रसँग आवेदन माग गरेन । उसले विभिन्न सूचनाका आधारमा नामावली सार्वजनिक गरेको होला, आवेदन माग गरिएको आधिकारिक जानकारी भएन ।’  यूएनडब्ल्यूटीओले भने २६० आवेदनबाट ५४ ओटा गाउँलाई उत्कृष्ट पर्यटन गाउँका रूपमा छनोट गरेको जानकारी दिएको छ । संगठनले यस्तो सूची तेस्रोपटक प्रकाशित गरेको हो ।  सहसचिव केसी भने संगठनले स्वमूल्यांकनबाट पनि उत्कृष्ट सूची सार्वजनिक गर्ने र आवेदन माग गरेर पनि यस्ता सूची सार्वजनिक गर्ने प्रचलन रहेको बताउँछन् । ‘नेपालले पहल नगरेर नेपालका पर्यटन गाउँ छुटेको भन्ने होइन,’ केसीले दाबी गरे । तर, नेपालले आवेदन नदिएका कारण सम्भावित पर्यटन गाउँ छनोट नभएका हुन् । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) धनञ्जय रेग्मी भने उक्त संगठनको सदस्य मन्त्रालय भएकाले उसले नै पहल गर्नुपर्ने तर्क गर्छन् । बोर्ड पाटाको सदस्य भएको र त्यसले माग गरेअनुसार आवेदन दिएर गोल्ड मेडल नै जितिसकेको उनले बताए । ‘तीनवर्षदेखि गोल्ड मेडल जितेका छौं,’ रेग्मीले भने, ‘उक्त संगठन र त्यसले छनोट गरेको पर्यटन गाउँको विषय बोर्डको हातमा हुँदैन, यो विषय मन्त्रालयले हेर्ने हो ।’  पर्यटन मन्त्रालय भन्छ – जानकारी पाएनौं   पर्यटन बोर्ड भन्छ – हाम्रो काम होइन पर्यटन प्रवर्द्धनमा सरकारी निकायको बेवास्ता नयाँ घटना भने होइन । पर्यटन व्यवसायी योगेन्द्र शाक्यले सन् २००८ को एउटा यस्तै घटना सुनाए । उनका अनुसार त्यसबेला चीनले आफ्ना नागरिकलाई नेपाल घुम्न पठाउँछौ भन्दै त्यसनिम्ति एउटा अनुरोधपत्र लेख्न नेपाल सरकारलाई सुझाएको थियो । त्यो बेला अधिकांश चिनियाँ पर्यटक आफ्नो सरकारले सिफारिश गरेको मुलुकमा घुम्न जान्थे । ‘तर, नेपालका नियामकले त्यसमा वास्ता गरेनन्,’ शाक्यले भने । नेपाल भ्रमण वर्ष २०११ मा पनि बेइजिङले १० लाख चिनियाँ पर्यटक पठाउने कुरा गरेको उनले सुनाए । ‘त्यो बेला पनि मन्त्रालयलाई पत्र पठाउन भनियो । मन्त्रालयले पत्र पठाएपछि ८ हजार हाराहारी रहेको चिनियाँ पर्यटक आगमन बढेर ४० हजारभन्दा माथि पुग्यो,’ उनले भने । मन्त्रालय तथा सरकारी अधिकारीहरू आवश्यक कुराको पहलमा सधैं चुक्ने गरेको उनको भनाइ छ ।  नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालमा धेरै यस्ता गाउँ भएको बताए । ‘बाहिर धेरै प्रचारप्रसार हुन सकेका छैनन्,’ उनले भने, ‘यस कारणले पनि सूचीमा नपरेको हुन सक्छ । अर्काेतर्फ आवेदन माग्ने वा नेपालले दिने तरीकाअनुसार पनि हुन्छ ।’ संगठनले आवेदन माग गर्छ भने त्यसमा आवेदन दिएर छनोट हुने/नहुने भन्ने हुन्छ, अर्काे सम्भावित गाउँहरू सर्वेक्षणबाट पनि छनोट हुन्छन् । ‘मुख्यगरी राम्रा गाउँहरू पर्यटकीय सम्पदा हुन् र यहाँ पर्यटकीय गतिविधि भइरहेका छन् भन्ने सन्देश नै पुग्न सकेको छैन,’ जोशीले भने, ‘मानौं पहिला घान्द्रुक, सिरुबारी, घलेगाउँलगायत राम्रो अनुभव दिने गाउँहरू छन्, यहाँ आउनेले राम्रो अनुभव लिएर पनि जान्छन् तर तिनको विश्वव्यापी प्रचार हुन सकेको छैन ।’ नयाँ सेग्मेन्टका पर्यटकीय क्षेत्रको धेरै प्रचार गर्नुपर्नेमा उनले जोड दिए ।  डिजिटल मिडिया, टुर अपरेटर्स, देशबाहिर गरिने इभेन्टहरूमा नेपालले यस्ता गाउँका विषयमा प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ छ । गन्तव्यहरूका विषयमा जानकारी, सचेतना बढाउन एकदमै जरुरी भएको भन्दै जोशीले नेपाल पर्यटन बोर्डले पनि प्रचारप्रसारका लागि थप अग्रसर हुनुपर्नेमा जोड दिए । उज्वेकिस्तानको समरकन्दमा भएको यूएनडब्ल्यूटीओको महासभाले विश्वका २९ देशका गाउँलाई उत्कृष्टका रूपमा छानेको थियो । उक्त सूचीमा पेरुका सर्वाधिक पाँच गाउँ परेका छन् । यस्तै जापान र चीनका ४–४ गाउँ उत्कृष्ट छानिएका छन् । चिली, स्पेन, दक्षिण कोरिया र मेक्सिकोका ३–३ गाउँ उक्त सूचीमा समावेश छन् । भारतको धोद्रो गाउँ पनि परेको छ ।  उक्त संगठनले उत्कृष्ट गाउँ छान्दा सांस्कृतिक र प्राकृतिक स्रोतहरू, सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन, आर्थिक स्थायित्व, सामाजिक दिगोपन वातावरण स्थिरता र पर्यटन विकास र मूल्य शृंखला एकीकरणलाई आधार बनाएको छ । यस्तै सुशासन र प्राथमिकता, पूर्वाधार, कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षालाई पनि यसको आधार मानिएको छ ।

पर्यटनमा खेलाँची

नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य रहेको मुलुकमा चिन्ने गरिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मीटरभन्दा अग्ला १४ मध्ये ८ हिमालय नेपालमै छन् । धार्मिक, सांस्कृतिक विशेषता झल्कने थुप्रै मौलिक परम्परा छन् । तर, विश्व पर्यटन संगठन (यूएनडब्ल्यूटीओ) ले विश्वका उत्कृष्ट ५४ गाउँ घोषणा गर्दा नेपालको एउटै परेन । किन यसो भयो ? नेपालको पर्यटन क्षेत्रको विकास र विस्तार गर्ने भनेर नेपाल पर्यटन बोर्ड स्थापना गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय छ । त्यति मात्र नभई हरेक प्रदेशमा पनि पर्यटनको विकास र विस्तारमा काम गर्ने मन्त्रालय स्थापना गरिएका छन् । हरेक स्थानीय सरकारले पनि पर्यटन क्षेत्रको विकासमा काम गरिरहेको बताउने गर्छन् । यतिधेरै सरकारले काम गरेको पर्यटनको अवस्था पक्कै पनि राम्रो हुनुपर्छ । तर, विश्वका उत्कृष्ट गाउँको सूचीमा नेपालको एउटै पर्न नसकेपछि अनेक आशंका उब्जाएको छ । यदि उत्कृष्ट गाउँमा पर्न सकेको भए पर्यटन क्षेत्रको विकासमा योगदान पुग्न सक्थ्यो । यसो नहुनु भनेको सरकारले काम गरेन भन्ने हो, नेपालको पर्यटनमा मौलिकताको कमी छ र सृजनात्मकता कम छ भन्ने हो । पर्यटनको विकासका लागि जसरी आन्तरिक रूपमा काम गर्न आवश्यक छ, त्यसैगरी अन्तरराष्ट्रिय मञ्चको पनि प्रयोग गर्नुपर्छ । उत्कृष्ट गाउँका लागि नेपालले तयारी गरेको भए र त्यसअनुसार काम गरेको भए नेपालको कुनै न कुनै गाउँ उक्त सूचीमा पर्न सक्थ्योे । परेनन् भने पनि प्रतिस्पर्धामा आउँदासमेत पर्यटन क्षेत्रको प्रचारप्रसारमा योगदान पुग्थ्यो । अहिलेको जस्तो कार्यालय कुरेर वा अनावश्यक कुरा मात्र गरेर पर्यटनको विकास हुन नसक्ने भएकाले कार्यशैली सुधार गरी नतीजा निकाल्नतर्फ लाग्नुपर्छ । अक्टोबरमा १ लाख १७ हजार पर्यटन भित्रिए भनेर बस्ने छूट अब हुनु हुँदैन । के नेपालको सम्भावना त्यति संख्यामा मात्रै पर्यटक भित्त्याउने हो त ? नेपालभन्दा कमजोर देशमा यो भन्दा ठूलो संख्यामा पर्यटक भित्रिरहेका छन् । तर नेपालमा किन यस्तो भइरहेको छ ? यतातर्फ ध्यान दिएर कमजोरी सुधार गर्न आवश्यक छ । उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो ।  नेपाल गाउँले भरिएको देश हो । मौलिक संस्कृति र रहनसहन पनि छ । मुस्ताङको गाउँ उत्कृष्ट पर्यटकीय गन्तव्यमा परे पनि यूएनडब्ल्यूटीओको सूचीमा भने पर्न सकेन । ग्रामीण पर्यटनका लागि नेपालका गाउँहरू थुप्रै छन् । ग्रामीण पर्यटन बढाउनकै लागि भिलेज टुरिजम प्रमोशन फोरम नेपाल (भीटोफ) को स्थापना गरिएको छ । यसले उत्कृष्ट ग्रामीण पर्यटन क्षेत्र भनेर गाउँहरू छान्ने गरेको पनि छ । तर, सम्भावना भएर पनि नेपाल उत्कृष्ट ग्रामीण पर्यटनमा छानिएन । खासमा यूएनडब्ल्यूटीओेले छान्न यस्तो ग्रामीण पर्यटनमा सूचीमा पर्न दरखास्त दिनुपर्ने हुन्छ । यसरी उत्कृष्ट गाउँ छान्न थालेको ३ वर्ष भयो । यस वर्ष २६० ओटा आवेदन परेका थिए जसमध्ये ५४ ओटा गाउँ छानिए । त्यस्तै २० वर्ष गाउँ स्तरीकरणका लागि छानिएका छन् । ७४ ओटा गाउँ यूएनडब्ल्यूटीओ बेस्ट टुरिजम भिलेज नेटवर्कमा परेका छन् । उत्कृष्ट गाउँमा पर्ने आधार नौओटा छन् । सांस्कृतिक र प्राकृतिक स्रोत, संस्कृतिको प्रवर्द्धन र संरक्षण, आर्थिक दिगोपन, सामाजिक दिगोपन, वातावरणीय दिगोपन, पर्यटन विकास र मूल्य शृंखलामा समायोजन, पर्यटनमा प्राथमिकीकरण र सुशासन, पूर्वाधार र कनेक्टिभिटी, स्वास्थ्य र सुरक्षाजस्ता पक्षको मूल्यांकन गरी उत्कृष्ट पर्यटन गाउँ चयन गरिन्छ । तर, यसमा नेपालले भाग लिएको समेत जानकारीमा आएको छैन । भीटोफ नेपालले यसमा ध्यान नदिएको हो कि आवेदन दिएर पनि जानकारी नदिएको  हो ? स्पष्ट छैन । यसरी उत्कृष्ट पर्यटन गाउँ चयन गरेर विशिष्ट र यथार्थपरक पर्यटन प्रवर्द्धन गराउने उद्देश्य रहेको छ । यसमा नेपाल नपर्नु भनेको ठूलो अवसर गुमाउनु हो । वार्षिक यति लाख पर्यटक भित्त्याउने, भ्रमण वर्ष वा दशक मनाउने जस्ता कुरामा हल्लाखल्ला भए पनि पर्यटनमा मौलिकता दिन र त्यसका लागि दाबी गर्न पाउने अवसर गुमिरहेको छ । यसले नेपालको पर्यटन अद्वितीय छ भन्ने विषयलाई ओझेलमा पारेको छ । निकट छिमेकी चीनका तीन गाउँ र भारतको एक गाउँ यो सूचीमा छनोट हुँदा नेपालको उपस्थितिसमेत नहुनु भनेको लाजको विषय हो । पर्यटनमा नेपाल कति योजनारहित ढंगले अघि बढेको रहेछ भन्ने कुराको उदाहरण पनि हो ।

घुम्न जाने होइन त नाम्जे गाउँ ?

नाम्जे । विश्वका १२ उत्कृष्ट गन्तब्य सूचीमा अमेरिकाको समाचार संस्था सीएनएनले सूचीकृत गरेपछि धनकुटाको ‘नाम्जे गाउँ’ पर्यटकीय आकर्षणको केन्द्र बनेको छ ।