२० वर्षिया ईसानाको ईच्छा स्टोर : व्यवसायी बन्न ठूलो ठाउँ र मोटो लगानी हुनुपर्दैन, आफैंमा बिश्वास गर्नुपर्छ

चैत १७, काठमाडौँ । पछिल्लो समय अनलाईन व्यवसाय गर्ने जमात ठूलै छ । उपभोक्ताले अनलाईनबाटै समान अर्डर गरेर सजिलै घर दैलोसम्म पुग्ने भएकाले पनि यसप्रति ग्राहकको आकर्षण बढ्दै गएको छ ।  आफूलाई मन लागेको सामान रोज्न सकिने, समयको बचत हुने, लखर - लखर बजार डुल्नपनि नपर्ने भएपछि नेपालीहरूको सामान खरीदको थलो बनेका छन्, अनलाईन सपीङ्ग हुने वेबसाइट । गएको केही वर्ष यता ई-व्यवसायमा लागेका थुप्रै युवायुवतीहरुले सफलता पाएका छन् । अनलाईन व्यवसायमा पुरुषको भन्दा महिला यो व्यवायमा बढि सक्रिय भएको पाईन्छ ।  सानो वा ठूलो जस्तोसुकै व्यवसाय गर्न सडक आसपास, ठूला चोक, व्यवसायिक कम्प्लेक्समै गर्नुपर्छ भन्ने मान्यतालाई तोड्दै सामान्य स्टोर र कोठाबाट पनि व्यवसायी बन्न सकिने प्लेटफर्म दिएको छ, अनलाईन व्यवसाय अर्थात् ई-कमर्सले ।  त्यस्तै एक ई- कमर्स व्यवसायी हुन २० वर्षिया ईसाना खत्री । ३ वर्षअघि १० हजार रुपैयाँ लगानी गरी ईच्छा स्टोर नामबाट शुरु गरेको अनलाईन व्यवसायले खर्च कटाएर मासिक १ लाख रुपैयाँभन्दा बढी नाफा गर्ने गरेको उनले बताइन् । कोठाबाट शुरु भएको व्यवसायले उनलाई सफल व्यवसायी बनाएको छ । ग्राहकले ईच्छा अनुसारको समान छानेर किन्न सकिने भएकाले ईच्छा स्टोर नामाकरण गरेको उनको भनाइ छ ।  स्टोरले ग्राहकहरुलाई व्यतिगत उपहारहरुका साथै विभिन्न प्रकारका पार्टीमा चाहिने सामान, कोठाको सजावट गर्ने लगायत २ हजार प्रकारका सामान विक्री गर्ने गरेको छ । बेलुन, बुकेट लगायत विभिन्न पार्टीका लागि चाहिने सामानको सप्लाई गर्नु मुख्य रहेको छ ।  अहिले स्टोरमा ८ रुपैयाँको बेलुनदेखि ६ हजार रुपैयाँसम्मको समान विक्री गर्ने गरेको उनले बताइन् । स्टोरको अहिले अनलाईनका साथै झम्सिखेलमा भौतिक पसल पनि सञ्चालनमा रहेको छ ।  विभिन्न पार्टी तथा ईभेन्ट म्यानेजमेन्टमा रुचि भएकै कारण अनलाईनमार्फत यस्तै प्रकारको सामान विक्री गरिरहेको उनी बताउँछिन्। हाल हजारौं अनलाईन व्यवसायी र व्यवसाय सञ्चालनमा छन् तर ईच्छा स्टोरमा त्यस्तो स्पेशल के छ ? भन्ने आर्थिक अभियानको प्रश्नमा, ‘पार्टी प्लानिङमा चाहिने उपयूक्त प्रोडक्टहरु खासै पाईदैन थियो । पाईहाले पनि एकदम सीमित हुन्थ्यो । हामीले बजारको त्यहि ग्याप फेला पार्‍यौं, यहि ग्यापनै ईच्छा भनेर आइडिया फुर्यो,’ उनले भनिन् ।   अहिले ईच्छा स्टोरका लागि  चीनबाट सामान आयत गर्ने गरेको उनले बताइन् ।  व्यवसायी बन्न ठूलो ठाउँ र मोटो लगानी हुनुपर्दैन,सफल बन्न आफैंमा बिश्वास गर्नुपर्ने उनको अनुभव छ। ‘सफल हुनुमा कुनै जादू छैन। यो सबै कडा परिश्रम, दृढता र स्थिरतानै प्रमुख हो। असफलताको डरले आफैलाई सीमित नगर्नुहोस्’, उनी भन्छिन्। व्यवसायलाई अझै बिस्तार र व्यवस्थित गर्दै जाने योजना बुनेकी छन उनले। अहिले ईच्छा स्टोरले ९ जानालाई प्रत्यक्ष रोजगारी दिएको उनले बताइन् ।