भगिनी सम्बन्धमा गाँसिए महासंघ र ग्रेटर न्युयोर्क चेम्बर

विराटनगर (अस) । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ र ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्सबीच भगिनी सम्बन्ध स्थापनाका लागि सम्झौतामा हस्ताक्षर भएको छ । भगिनी सम्बन्धमा दुवै पक्षले व्यापारिक समझदारी, व्यापारिक समुदायको कानुनी दायराभित्र रही आपसी सम्बन्ध कायम गर्न प्रोत्साहन गर्ने, व्यापारिक प्रतिनिधि, विज्ञ, आर्थिक सल्लाह र सुझाव आदान–प्रदानलाई प्रोत्साहन गर्ने, संघका सदस्यबीच सहज वातावरण, आर्थिक तथा व्यापारिक सूचना एंव तथ्यांक प्रवाह गरी सम्झौता तथा संयुक्त परियोजना सञ्चालनमा सहयोग गर्ने उल्लेख छ । आर्थिक नीति नियम, प्रकाशन, पत्रपत्रिका एवं व्यापारिक गतिविधि आदान–प्रदान, मेला, गोष्ठी, सेमिनार तथा अन्य कार्यक्रम आयोजना, सदस्यबीच प्राविधिक विशेषज्ञतालगायत बुँदामा सहमति भएको छ । उद्योग वाणिज्य महासंघ उपाध्यक्ष राजेन्द्र राउत र ग्रेटर चेम्बर अफ कमर्स न्युयोर्कका अध्यक्ष मार्क जाफीबीच भएको उक्त सम्झौतामा  ग्रेटर न्यूयोर्क चेम्वर अफ कमर्स, न्युयोर्क, अमेरिकन बिजनेस अफेयर्स अमिरप्रताप साहले हस्ताक्षर गरे  । ग्रेटर न्युयोर्क चेम्बर अफ कमर्स, न्युयोर्क अमेरिकाले सेम्टेम्बर २०, २०१९ मा आयोजना गरेको २० औं वार्षिक कन्फरेन्स तथा एक्स्पोमा महासंघ उपाध्यक्ष  राउत र निवर्तमान अध्यक्ष नरेन्द्रकुमार खड्का सहभागी थिए ।