सन् २००९ को अगष्टमा टर्की र पाकिस्तानबिच रेल सेवा सुरु भए पनि क्षेत्रीय अस्थिरता र सुरक्षाको कारण रोकिएको थियो। पहिलो रेल यही मार्च ४ तारिख बिहीबार अर्थात् आज इस्तानबुलबाट पाकिस्तानका लागि छुट्नेछ।
७ सय ५० टन सामान बोक्ने क्षमताको उक्त रेल १२ दिन पश्चात अर्थात् मार्च १६ तारिख मंगलबारको दिन इस्लामाबाद पुग्नेछ। यो रुटको सबैभन्दा बढी भाग २६ सय किलोमिटर इरानमा पर्नेछ। टर्कीमा १९ सय ५० किलोमिटर पर्नेछ भने पाकिस्तानमा १९ सय ९० किलोमिटिर पर्नेछ।
सञ्चालन हुन लागेको रेल सेवालाई चीनको महत्वाकांक्षी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ बिआरआईको महत्वपूर्ण हिस्सा मानिएको छ। टर्कीबाट इरानको तेहरान हुँदै पाकिस्तानको इस्लामाबाद आउने रेलले ६ हजार ५ सय ४० किलोमिटरको यात्रा पार गर्न १२ दिन लगाउने छ।
इस्लामाबादसम्म चिनियाँ रेलको सोझो पहुँच हुने हुनाले यो रुटलाई चीनको मध्य एसिया हुँदै युरोप जोड्ने बाटोको रुपमा लिइएको छ।