भुइँतलासहित २४ तला हुने धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम पनि आधा सकिएको छ । जसमा चार सयवटा सानो गाडी र सात सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । लिफ्ट राख्ने काम पनि सुरु भएको छ ।
दुई वर्षमा निर्माण सम्पन्न हुने गरी २०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । तर कोरोनाका कारण काम प्रभावित भएपछी गत असोजमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नौ महिना समय थप गरिदिएको थियो ।
२२ टुक्रामा परिणत भएको गजुरलाई पनि पहिलाकै जस्तै बनाउन गत सोमबारदेखि काम थालिएको छ । जुन गजुरमा सुनको जलपसमेत लगाइनेछ ।
१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले धरहरा निर्माण गरेका थिए । उनले महारानी त्रिपुरासुन्दरीदेवीको सम्झनास्वरूप यो स्मारक निर्माण गरेको भनाइ छ । त्यतिवेला ११ तलाको धरहरा १९९० सालको भुइँचालोमा भत्केको थियो । त्यसपछि नौ तला पुनर्निर्माण गरिएको हो ।