जिल्लाको सदरमुकामसमेत रहेको त्रियुगा नगरपालिकास्थित गाईघाटमा अत्याधुनिक सुविधासम्पन्न बसपार्क निर्माणमा चरम ढिलासुस्ती भएको छ। नेपाल सरकारको करिब १३ करोड रुपियाँको लागतमा त्रियुगा नगरपालिका–१२ स्थित हातीमारा क्षेत्रमा सो बसपार्क निर्माण हुँदै छ। व्यवस्थित बसपार्कको अभावमा व्यवसायीले कहिले गाईघाट बजारको सडकमा त कहिले त्रियुगा नदीको बगरमा सवारी पार्किङ गर्दै आएकामा एक वर्षभित्र सुविधासम्पन्न बसपार्क निर्माण गरेर सञ्चालनमा ल्याउने गरी मधेश प्रदेशस्थित सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजको निगरानीमा २०७६ सालमा सो योजना सञ्चालनमा ल्याइएको थियो।