संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई नियुक्त गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी हुन्। नियुक्तिसँगै नियुक्तिविरुद्ध सर्वाेच्चमा रिट परेकाे छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरेकी छन्। संवैधानिक निकायमा नियुक्त भएका प्रमुखले प्रधानन्याायधीश चोलेन्द्र शम्सेर राणाबाट शपथ लिएका छन्।
संवैधानिक निकायका रिक्त पदमा विभिन्न पदाधिकारीलाई नियुक्त गरिएसँगै उनीहरूलाई काम गर्न राेक लगाउन माग गर्दै सर्वाेच्चमा मुद्दा परेकाे छ। संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले पनि संविधानविपरीत संवैधानिक निकायका पदाधिकारीको नियुक्ति भएकाे बताएका छन्।
त्यस्तै आज भएको संवैधानिक निकायकाे नियुक्ति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराेध गरेकाे छ। उता नेकपाकाे प्रचण्ड-माधव समूहले नियुक्ति विराेध गर्दै भाेलि आम हड्ताल आह्वान गरेकाे छ भने साना दलले समेत यसकाे विराेध गरेका छन्।
त्यस्तै आजै अख्तियारका आयुक्त गणेशराज जाेशीले राजीनामा दिएका छन्। जाेशी नवीनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्त बनेका थिए। उता नवनियुक्त प्रमुख आयुक्त प्रेम कुमार राईले आजै पदभार सम्हालेका छन्।