भारतका विभिन्न राज्यमा देखा परेको बर्ड फ्लू नेपालमा पनि भित्रिएको छ। स्थानीय कृषकहरुले पालेका टर्की र हाँसको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा रियल टाइम पिसिआर विधिबाट परीक्षण गर्दा बर्ड फ्लू रोग पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो।
रोग पुष्टि भएको क्षेत्रबाट रोग अन्यत्र फैलन नदिन संघ, प्रदेश तथा स्थानीय तहका पशु सेवासँग सम्बन्धित निकायहरूलाई परिचालन गरी रोग देखिएको क्षेत्रमा रहेका करिब साढे २३ सय वटा घरपालुवा पन्छी तया रोग सार्न सक्ने अन्य वस्तु समेत नष्ट गरिसकिएको पशु सेवा विभागले जनाएको छ ।
भारतमा कोरोना भाइरस संक्रमण तनावबिच बर्ड फ्लू देखिएको थियो। मध्य प्रदेश, राजस्थान, केरल, हरियाणा, हिमाचल प्रदेश र झारखन्डमा चराहरूको अचानक मृत्यु भएपछि बर्ड फ्लूको आशंका गरिएको थियो।
सरकारले भारतमा बर्ड फ्लु देखिएसँगै नेपालमा बर्ड फ्लु रोकथाम तथा नियन्त्रणको लागि पूर्वतयारी थालेको थियो । सरकारले किसानहरूलाई कुखुरा ओसारपसार गर्दा अनिवार्य रूपमा क्वरेण्टीन प्रयोग गर्न, हेल्थ सर्टिफिकेट लिन र कहीँ कतै ठूलो परिमाणमा कुखुरा मरेका छन् भने जानकारी दिन आग्रह गरेको थियो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौंमा फैलिएको बर्ड फ्लु मानिसमा सर्नसक्ने भन्दै सतर्क हुन अपिल गरेको छ । महाशाखाले उक्त क्षेत्रमा कुनै पनि पक्षीको शंकास्पद मृत्यु भए, पक्षीको सम्पर्कमा आएका व्यक्तिहरुलाई ज्वरो, रुघाखोकीको लक्षण देखिए स्वास्थ्य संस्थाको सम्पर्कमा आउन तथा लक्षण देखिएका व्यक्तिको सम्पर्कबाट टाढा रहन सुझाएको छ ।
विश्व पशु स्वास्थ्य सङ्गठन (ओआईई) का अनुसार ‘नोटिफाइअबल एभियन इन्फ्लुएन्जा’ भाइरसको ‘सब-टाइप’ बाट हुने रोग वा सङ्क्रमणलाई बर्ड फ्लु भनिन्छ। सामान्यतया पशुपक्षीमा लाग्ने बर्ड फ्लुको भाइरस निकै ‘अस्थिर’ खालको हुने गरेको विज्ञहरू बताउँछन् ।