नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दावी गर्दै निवेदन दिएकाे छ। उता याे समूहका अध्यक्ष प्रचण्डले अदालतले संसद पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने बताएकाे छ।
औपचारिक रूपमा विभाजनतिर बढेकाे नेकपाकाे प्रचण्ड–माधव पक्षले मंगलबार कानुनी प्रक्रियाका लागि निर्वाचन आयोग पुगेर दावी पेस गरेको छ। आयोगलाई बुझाएको पत्रमा नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गत माघ १२ गते निर्वाचन आयोगले पठाएको पत्रमा संविधानको धारा र उपधारको उपेक्षा गरिएको आरोप लगाएका छन्।
प्रचण्ड-माधव समूहले निर्वाचन आयाेगले ओली समूहलाई आधिकारिकता दिन खाेजेकाे आराेप लगाएकाे छ। माघ १२ गते आयोगले पठाएको पत्रको जवाफसहितको आधिकारिकताको दावी गर्दै मंगलबार आयोगलाई बुझाएको पत्रमा ओलीलाई हटाएर माधव कुमार नेपाललाई अध्यक्ष निर्वाचित गर्ने पार्टीको निर्णयलाई मान्यता नदिइ घुमाउरो पाराले ओलीलाई नै आधिकारिकता दिन खाेजेकाे आराेप लगाएकाे हाे।
त्यस्तै नेकपाकाे प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना नगरे संसद बैठक बोलाएर ओलीलाई हटाउने ताकत रहेकाे बताएका छन्। प्रचण्डकाे याे घाेषणासँगै राजनीतिक संकट गहिरिने विश्लेषण गर्न थालिएकाे छ।