निर्वाचन आयाेगले नेकपाका दुवै समूहलाई आयोगमा बाेलाएर छलफल अघि बढाएकाे छ। निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै पक्षसँग आज छलफल गरेकाे हाे। केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको हाे।
निर्वाचन आयोगले बिहान ११ बजे दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई छलफलका लागि बाेलाएकाे हाे। आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना प्रकाशन र निर्वाचनको तयारीबारे हालसम्म भएको कामबारे छलफल गर्न नेकपाको दुबै पक्षलाई बोलाएको हाे।
दुवै समूहसँग आयोगले गरेकाे छलफलमा आयाेगले कुनै पनि नेकपालाई आधिकारिकता नदिइएकाे बताएकाे छ। आफूहरूलाई केही समय चाहिने माग गर्दै प्रचण्ड-नेपाल समूह बाहिरिएपछि ओली समूहसँग मात्रै छलफल गर्दै आयोगले यस्ताे बताएकाे हाे।
नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्बाङले नेकपाकाे आधिकारिकता टुंगाे लागिसकेकाे बताएका छन्। नेम्वाङले नेकपा आधिकारिकता विवाद टुंगिएकाले नै आयोगले दल दर्तासम्बन्धी प्रक्रिया शुरू गरेको बताएका हुन्। उता प्रचण्ड माधव समूहले भने नेकपाकाे विवाद समाधान नभइ दल दर्ताकाे सूचना निकाल्न नहुने बताएकाे छ।