असोज र कात्तिकमा उच्च विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणदर मंसिरपछि भने निरन्तर घट्दो क्रममा छ। यहींबीच कोभिड-१९ विरुद्धको पहिलो खोप भारतबाट नेपाल भित्रिने पक्कापक्की भइसकेको छ। नेपालमा कोभिड–१९ विरुद्धको खोपको पहिलो भागीदार को होलान् र सरकारको योजना कस्तो छ?
'निरन्तर ओरालो लागिरहेको कोरोना संक्रमणदर यदि यहि अवस्था रहीरहे र दोस्रो चरणको कोरोना नदेखिए संक्रमण निर्मूल हुन् सक्ला ?' भन्ने प्रश्न जनमानस रहीरहेको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना खोप अनुदानमा उपलब्ध गराउने बताएका छन् । सो खोप विहीबारसम्म नेपाल आइपुग्ने बताईएको छ।
औषधि व्यवस्था विभाग (डीडीए)ले ‘कोभिसिल्ड’लाई गत शुक्रबार नै आपत्कालीन प्रयोगका लागि ससर्त अनुमती प्रदान गरिसकेको छ । भारतबाट प्राप्त हुन लागेको यो खोपलाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिने बताइएको छ।
भन्सार विभागले खोप सामग्रीहरुको जाँचपासका लागि मुख्य भन्सार विन्दुहरु विशेषगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छुट्टै एकाइ खडा गरी कर्मचारी खटाउने जनाएको छ ।
खोपको सुरक्षित जाँचपास व्यवस्थापनका लागि सीमामा रहेका सबै जिल्लास्थित सरोकारवाला निकायहरुसँग समन्वय गरिने, सार्वजनिक बिदाका दिनसमेत यस्ता मालवस्तुहरुको जाँचपासलाई पहिलो प्राथमिकता दिइने विभागले जनाएको छ ।
भारतलगायतका विभिन्न मुलुकसँगै विश्व स्वास्थ्य संगठनमार्फतसमेत पहल भइरहेका बेला भारत सरकारले छिमेकी राष्ट्रहरुलाई अनुदानमा खोप दिने निर्णय गरेसँगै नेपालमा खोप आउने वातावरण तय भएको छ।
पहिलो चरणमा ल्याइएको खोप कसलाई दिने भन्ने यसअघि नै टुंगो लागिसकेको छ । नेपालमा खोप पाउने पहिलो भागीदारहरू यी हुन्:
१. स्वास्थ्यकर्मी तथा सेवक : यो वर्गमा नेपालको कुल जनसंख्याको ३ प्रतिशत नागरिक पर्दछन् ।
२. ज्येष्ठ नागरिक तथा दीर्घरोगी : जुन नेपालको जनसंख्यामा १२.२५ प्रतिशत छन्।
३. ४० देखि ५४ वर्षसम्मका दीर्घरोगी : नेपालमा यो वर्गका नागरिक कुल जनसंख्याको ३.६८ प्रतिशत छन् ।
४. माइग्रेन्ट श्रमिक : नेपालमा यस्ता श्रमिक १ प्रतिशत रहेका छन्।
५. ४० देखि ५४ वर्षका नागरिक : यस उमेर समूहक नागरिक पनि ३.६८ प्रतिशत छन् ।
६. १५ देखि ३९ वर्षका नागरिक : नेपालको जनसंख्याको २२.५५ प्रतिशत नागरिक यही उमेर समूहका छन् ।