छोटकरीमा: आज-२०७७ माघ ०६, मंगलबार

आज 'संसद विघटनसम्बन्धि रिट विचाराधीन,कहिलेसम्म लम्बिएला बहस ?', 'राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा','पार्टी कमिटीहरू तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन', 'अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा' लगातयत विषयवस्तुहरू समावेश गरिएका छन्।



प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा तीन दिनदेखि निरन्तर बहस भइरहेको छ। जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संविधानको धारा ७६ (७) मा रहेको ‘वा’ काे अर्थ साेधेका छन्।



रुकुम पश्चिमको राडीबजारमा आज साँझ ५ बजेदेखि अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ।

आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा गरिएको प्रशासन कार्यालयले जनाएको छ।



प्रधनमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सबैभन्दा पहिले त्यसलाईं असंवैधानिक र अलोकतान्त्रिक भनेर निर्णय गर्ने पार्टी नेपाली कांग्रेस थियो। तर, अहिलेसम्म आउँदा कांग्रेसभित्र अस्थिरताकाे स्थिति देखिएकाे छ।



नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुको पालामा संसद् विघटन गरे जसरी नै संसद् विघटन गरेको बताएका छन्। संसद् विघटन गरेर देशमा प्रतिगमनको खतरा देखिएको र प्रतिकान्तिको प्रयास भएको बताउँदै दाहालले यसलाई रोक्नका लागि जुनसुकै हदसम्म जानुपर्ने दाहालले बताए।



नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी ओली कामचलाउ भएको बताएका छन्। प्रतिनिधिसभा सदस्य नै प्रधानमन्त्री हुने भन्दै उनले ओलीले कि कामचलाउ भन्नुपर्ने कि कुर्सी छोड्नुपर्ने बताएका हुन्। 



शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि यसअघि परेका करिब तीन हजार आवेदन खारेज गरी नयाँ प्रस्ताव माग गरेको छ। भौतिक पूर्वाधार, विद्यार्थीको सिकाइ उपलब्धि स्तर बढाउन, गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि, नवप्रवर्तन र सिकाइ सामग्री व्यवस्थापन, प्राविधिक तथा व्यावसायिक शिक्षामा पहुँच अभिवृद्धिका लागि प्रस्ताव माग गरेको हो। 



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरू तत्काल पुनर्गठन गर्न निर्देशन दिएका छन्।



पुनर्निर्माणपछि चिटिक्क परेको रानीपोखरी लेउ र झ्याउले कुरूप बन्न थालेपछि काठमाडाैं महानगरपालिकाले सरसफाइ गर्न थालेको छ। पोखरीमा लेउ जम्मा हुने कारण पत्ता लगाएर माछा राख्ने वा लेउ नियन्त्रण गर्ने विषादी प्रयोग गर्ने भन्नेबारे समेत छलफल भइरहेको महानगरपालिकाले जनाएको छ। 



कम उमेरमा हुने विवाह मोरङमा स्थानीय तहका न्यायिक समिति र अधिकारकर्मीका लागि टाउको दुखाइ बनिरहेको छ। उमेर नपुगी विवाह गर्ने, छोराछोरी जन्माउने र सम्बन्ध–विच्छेदको अवस्थामा पुग्ने गरेका धेरै घटना आउन थालेपछि न्यायिक समितिलाई न्याय दिन मुस्किल परेको हो। 



प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै नेविसंघका कार्यकर्ताहरुले केश मुण्डन गरेर प्रदर्शन गरेका छन्। काठमाडौँको ज्ञानेश्वरबाट सुरु भएको उनीहरूको विरोध र्‍याली कमल पोखरीमा पुगेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हाे।



कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरपालिले कंक्रिटको जथाभावी प्रयोग गरेको भन्दै सम्पदा र पर्यावरणप्रति सचेत समूहले मंगलबार काठमाडाैँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन्।



पत्रकार नारायण वाग्लेले प्रतिनिधिसभाविरुद्धको आन्दोलनलाई प्रधानमन्त्री फेर्ने साधन बनाए जनता सडकमा नआउने बताएका छन्। हिजोको जनआन्दोलनमा गरिएका वाचाहरुमा कहाँकहाँमा नेतृत्व कहाँकहाँ चुक्यो भन्ने कुरा उल्लेख गरी आन्दोलनरत पार्टीहरुले बडापत्र सार्वजनिक गर्नुपर्ने पनि उनको भनाइ थियो।



समावेशी राज्य व्यवस्थाका लागि संघीयताको मुद्दा उठाएर १४ वर्षअघि मधेस आन्दोलन चर्कियो । भर्खरै सकिएको जनआन्दोलनको जगमा अपनाइएको राजनीतिक व्यवस्था अपूरो रहेको र त्यसले मधेसीलाई उपेक्षा गरेको ठम्याउँदै तत्कालीन मधेसी जनअधिकार फोरमले तराई–मधेसलाई फेरि तरंगित बनायो। २०६३ माघ १ गते अन्तरिम संविधान जारी भएसँगै मधेसमा आन्दोलन चर्कियो। 



अमेरिकाको उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छिन्। उपराष्ट्रपतिको रूपमा शपथग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन्। 



दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनामा सोमबार ६.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर ४५ मिनेटमा गएको थियो। यो भूकम्प जमिनको सतहबाट करिब २० किलोमिटर गहिराइमा गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।



भारतको गुजरात राज्यअन्तर्गत पर्ने सुरतको कासाम्बा क्षेत्रमा भएको ट्रक दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ। सुरतको कोसम्बामा सोमबार राति एउटा ट्रकले ठक्कर दिँदा मृत्यु भएका १५ जनामध्ये सातजना महिला, सातजना पुरुष र एकजना एक वर्षीय शिशु रहेको अधिकारीहरूले जनाएका छन्।



विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक टेड्रोस एड्हानोम गेहब्रेयससले असमान नीतिका कारण कोरोना खोप वितरण प्रभावित हुन सक्ने चेतावनी दिएका छन्। असमान नीतिका कारण विश्वले ‘विपत्तिपूर्ण नैतिक विफलता’ को सामना गर्नुपर्नेे औंल्याएका हुन्। 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक