आज 'विष्णु पौडेल पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रियामा अघि बढ्यो प्रचण्ड-नेपाल समूह', 'संसद् विघटनविरुद्धका रिट संवैधानिक इजलासमै सुनुवाइ हुने', 'नेपालमा ‘कोभिसिल्ड’ खोपले पायो आपत्कालीन प्रयोग अनुमति', 'विश्वकै शक्तिशाली भएको दाबीसहित उत्तर कोरियाले प्रदर्शन गर्यो नयाँ हतियार' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।
नेकपा (दाहाल–नेपाल) समूहले केपी ओली र विष्णु पौडेललाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ। पुस ५ मा बसेको नेकपाको स्थायी कमिटीका बहुमत सदस्यको बैठकले ओलीमाथि पार्टी अनुशासनको कारबाही अगाडि बढाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा नै उल्लेख नगरी प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको खुलेको छ। पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको सिफारिसमा संविधानको कुनै पनि धारा उल्लेख नभए पनि राष्ट्रपति कार्यालयबाट विघटन भएको सूचना जारी गर्दा संविधानको धारा ७६ (१) र (७), धारा ८५ तथा संसदीय व्यवस्थाका राष्ट्रिय र अन्तर्राष्ट्रिय अभ्यासअनुसार भनी थपिएको पाइएको हो।
तिनिधिसभा विघटनसम्बन्धी मुद्दाको किनारा सर्वोच्च अदालतको संवैधानिक इजलासलबाटै हुने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट बृहत् पूर्ण इजलासले हेर्नुपर्ने माग गर्दै दायर निवेदनमा शुक्रबार निवेदक र सरकार पक्षको बहसपछि अन्ततः इजलास यस्तो निष्कर्षमा पुगेको हो।
निर्माणाधीन कमलपोखरीमा कंक्रिटको प्रयोग र काममा ढिलासुस्ती गरिएको भन्दै अभियन्ताले प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरपालिकाले रानीपोखरीबाट पाठ सिक्न नसकेको भन्दै शुक्रबार अनुहारमा हिलो दलेर उनीहरूले विरोध जनाएका हुन्।
सन् २०२० मा नेपालमा भारत, म्यानमार, थाइल्यान्ड, चीन र अमेरिका गरी पाँच मुलुकका पर्यटक धेरै आएका छन्। भारतबाट ४० हजार ३ सय ३६, म्यानमारबाट २० हजार ९ सय, थाइल्यान्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार २ सय ५७ र अमेरिकाबाट १७ हजार ७ सय ६७ जना विदेशी नेपाल प्रवेश गरेका हुन्।
राष्ट्रवादी भनिएका ओलीको सक्कली चेहेरा देखिएको बताउँदै पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष बावुराम भट्टराईले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई दण्डित गर्नुपर्ने बताएका छन्।
नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले दुई तिहाई बहुमतको सरकारले प्रतिनिधिसभा विघटन गर्नुलाई मुर्खता र फाँसीवादी कदमको संज्ञा दिएका छन्।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले सरकारविरुद्ध माघ १६ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ। यसअघि काठमाडौंमा माघ २३ का लागि प्रदर्शनको मिति तय भएको थियो।
नागरिकलाई हातहातमै सरकारी सेवा उपलब्ध गराउने भन्दै सरकारले शुक्रबार 'नागरिक एप' सार्वजनिक गरेको छ। एपमार्फत नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु लगायतका सेवासुविधाहरू प्राप्त गर्न सकिनेछ।
औषधि व्यवस्था विभागले ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको छ। यस खोप हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो।
उत्तर कोरियाले नयाँ प्रकारको ‘सब–मरिन ब्यालेस्टिक मिसाइल’ सार्वजानिक गरेको छ। जसलाई त्यहाँको राष्ट्रिय सञ्चारमाध्यम ‘केसीएनए’ले विश्वकै सबैभन्दा शक्तिशाली हतियार भनेर व्याख्या समेत गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अर्को लोकप्रिय सामाजिक सञ्जाल प्लेटफर्म स्न्यापच्याटले पनि सधैँका लागि प्रतिबन्ध लगाउने घोषणा गरेको छ। अमेरिकी संसद् भवनमा भएको हिंसात्मक प्रदर्शनपछि सबै प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरू अहिले बाइडेनको शपथग्रहण कार्यक्रमअघि अनुपयुक्त सामग्री हटाउनमा तीव्ररूपले लागिपरिरहेका छन्।
कोरोना संक्रमण विश्वभर फैलिएको १ वर्षपछि २० भन्दा बढी देशहरुले कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिसकेका छन्। हालसम्म विश्व स्वास्थ्य संगठनले बायो एन्टेकको फाइजर खाेपलाई मात्रै आपत्कालीन प्रयोगको अनुमति दिएको छ। अमेरिकी खाद्य तथा औषधि प्रशासनले मोर्डना र अष्ट्राजेनिकालाई बेलायत सरकारले अनुमति दिएको छ। योसँगै विश्वव्यापी रूपमा फाइजर र मोर्डना गरी दुईवटा खोपले मान्यता पाएका छन्।