पौष महिना सुरु हुँदानहुँदै स्वरूप बदलिएर आएको कोरोना भाइरसले विश्वलाई पुन: त्रसित बनायो। त्यससँगै इजरायलमा संसद विघटन र अमेरिकी संसद भवनमा हमलाले विश्वलाई त्यतातर्फ खिच्यो। इरान र जापानको को हिमपहिरो, बारेन्ट्स समुद्रको डुंगा दुर्घटना, यमनस्थित एडेनको विमानस्थलमा आक्रमण,अल्जेरियाको सडक दुर्घटना लगायतका घटनाले ठूलो जनधनको क्षति गरायो। पौष महिनाभारको सम्पूर्ण गतिविधिहरू यहाँ सूचीकृत गरिएकाे छ।
बेलायतमा कोभिड–१९ को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै विश्वभर थप चिन्ता बढ्न थालेकाे छ। विश्व स्वास्थ्य संगठन, डब्लूएचओले यसअघि बेलायती अधिकारीहरूले खबर गरेको नयाँ रूपान्तरित कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्कमा रहेको जनाउकाे छ। यो नयाँ रूपान्तरित भाइरस सुरुवाती भाइरसभन्दा निकै तीव्रताका साथ फैलन सक्ने बताइएको छ। यद्यपि, तुलनात्मक कम खतरनाक भएको बताइएकाे छ।
नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका छन्। उनीहरूको स्वास्थ्य उपचार गरी परिवारको जिम्मा लगाइने बताइएकाे छ।
अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका छन्।
अमेरिकी संसद्ले सुडानलाई आतंकवादी राष्ट्रको सूचीबाट मुक्त गर्ने प्रस्ताव पारित गर्यो। सन् २००१ को सेप्टेम्बरमा अमेरिकी दूतावासहरूमा भएकाे आक्रमणमा भएको जनधनको क्षतिबापत ३३ करोड ५० लाख डलर रकम क्षतिपूर्तिस्वरूप तिर्न सुडान सरकार तयार भएपछि अमेरिकाले सुडानमाथिको प्रतिबन्ध हटाएको हो।
अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई सोमबार कोरोनाभाइरसविरुद्धको खोप दिइयो। बाइडेनलाई खोप दिँदा अमेरिकी टेलिभिजनबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो। यसैबीच, उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गत साता नै खोप लिइसकेका थिए।
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रोपटक महामारीका रूपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ। त्यहाँको सरकारले सार्वजनिकस्थलमा एकैपटक चारजनाभन्दा बढी भेला हुन नपाउने नियम समेत लागू गरेको छ।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेसँगइ देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ। देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि इजरायलको संसद भंग गरिएको हो।
चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको खाना अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन्। चिनियाँ मिडियाले कोभिडका कारण मात्र खाद्यान्न अभाव भएको विश्वास गरेका छैनन्। उनीहरूले छिमेकी राष्ट्रहरूसँगको चिसिएको सम्बन्धले यस्तो समस्या उत्पन्न भएको दाबी गरेका छन्।
युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ। युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएकै अवस्थामा अति जोखिममा रहेका व्यक्तिलाई प्राथमिकता दिई खोप लगाउन थालिएको हो।
इरानको अल्बोर्ज माउन्टेन रेन्जमा आएको हिमपहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।अन्तर्राष्ट्रिय मानवीय अभियान द रेड क्रेसेन्टले उक्त क्षेत्रमा हराइरहेकाहरूको खोजीका लागि २० टोली खटाएको जनाएको थियो।
रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।
चीन सरकारले सिनोफार्म कम्पनीद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई ‘सःसर्त’ अनुमति दिएको छ। चिनियाँ कम्पनी सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत रहेकाे बताइएकाे छ।
दक्षिणी यमनस्थित एडेनको विमानस्थलमा भएका तीन विस्फोटमा मृत्यु हुनेको संख्या २२ पुगेको त्यहाँको गृह मन्त्रालयले जनाएको थियो। सरकारी अधिकारीहरुलाई विमानस्थलमा गर्न लागिएको स्वागत कार्यक्रमलाई लक्षित गरी उक्त विस्फोट गराइएको मन्त्रालयको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभ्याक्स कार्यक्रमअन्तर्गत न्यून आय भएका सबै मुलुकहरूमा खोप पुर्याउने प्रतिबद्धता जनाएको छ। डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अडानोम गेब्रियससले नयाँ वर्षको भर्चुअल शुभकामना दिँदै न्यून आय भएका कुनै पनि मुलुकहरू खोप कार्यक्रमबाट बञ्चित हुन नपर्ने बताएका हुन्।
डब्लुएचओले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दियो। डब्लुएचओले खोप स्वीकृत गरेसँगै विश्वका विभिन्न देशले फाइजरका खोप आयात र वितरण गर्न थप सहज भएको छ।
दक्षिण अल्जेरियामा बिहीबार भएको एक सडक दुर्घटनामा कम्तीमा २० जनाको ज्यान गएको छ। साथै दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्।
चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ।
हालै सम्पन्न निर्वाचनमा मतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो भाइरल भएपछि अमेरिकी राजनीति थप चर्चामा रह्याे। अडियाे राष्ट्रपति ट्रम्पले मतगणना चलिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर दबाब दिएकाे रहेकाे दाबी गरिएकाे थियो।
चुनावी परिणाम उल्ट्याउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासले अमेरिकामा हिंसा फैलियो। अमेरिकाको राजधानी वासिङटन डीसीस्थित संसद् भवनमा निर्वाचन परिणाम अनुमोदनको औपचारिकता पूरा गर्न बस्न लागेको संसद्को बैठक बिथोल्न ट्रम्प समर्थकहरूले हुलदङ्गा गरेका थिए। घटनापछि बसेकाे संसद्काे संयुक्त बैठकबाट जो बाइडेन र कमला ह्यारिसको विजय अनुमोदन भएकाे छ।
कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गर्यो। ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ।
अमेरिकामा राष्ट्रपति डाेनाल्ड ट्रम्पलाई तल्लो सदनका डेमोक्र्याटहरूले 'दङ्गालाई प्रोत्साहन गरेको' आरोपमा महाभियोग लगाउने तयारी गरे। राष्ट्रपति डाेनाल्ड ट्रम्पबाट प्रजातन्त्र र संविधानमाथि खतरा सिर्जना भएकाे भन्दै उनलाई हटाउने प्रस्ताव संसदमा प्रस्तुत भयो। डेमोक्र्याटहरूले राखेको प्रस्तावमा डोनाल्ड ट्रम्पबाट शक्ति खोस्न उपराष्ट्रपति माइक पेन्स र बाँकी मन्त्रिमण्डललाई आग्रह गरियो।
नाइजेरिया दुई ठूला राजमार्गमा भएका अलग-अलग सवारीसाधन दुर्घटनामा परी कम्तीमा पनि २२ जनाको ज्यान गएको थियो। नाइजेरियाको लोकोजा कागी राज्यमा भएको दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने काबा क्षेत्रमा भएको दुर्घटनामा आठजना यात्रुको निधन भएको थियो।
जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन्। जापानी अग्नि तथा विपत् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन्।
भारतीय सर्वोच्च अदालतले तीनवटै कृषि कानुन कार्यान्वयन नगर्न आदेश दिएको छ। अदालतद्वारा सरकारका नाममा मंगलबार जारी आदेशअनुसार अर्को आदेश नआएसम्मका लागि तीनैवटा कानुन कार्यान्वयन नगर्नु भनिएको छ।