छोटकरीमा : पौष महिना (राष्ट्रिय)

यस महिना संसद विघटन र त्यसपश्चातको उतारचढाव राजनीतिक वृतमा चर्चाकाे विषय बन्याे। संसद विघटनको विरोधमा उल्टाे हिँड्नेदेखि लालटिन जुलुससम्म निकालियो भने प्रधानमन्त्रीको उक्त कदमबारे टिकाटिप्पणी भइरह्यो। यता, पौषको तेस्रो साता काठमाडौँ शहर विश्वकै प्रदुषित शहरको सूचीमा अग्रस्थानमा पुग्यो। देशभर बढेको चिसोले सीमा नाघेपछि जनजीवन कष्टकर बन्न पुग्यो। स्वरूप बदलिएको भनिएको कोरोनाले देशलाई त्रासमा राख्यो। यहाँ पाैष महिनाभरिका मुख्यमुख्य घटनाक्रमलाई सूचकाक्षर गरिएको छ।



प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपश्चात असन्तुष्ट प्रचण्ड-नेपाल पक्ष, प्रतिपक्षी दलहरू, विद्यार्थी संगठन तथा सचेत नागरिक समूहले चरणबद्ध रूपमा दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन्। अर्कोतर्फ ओली पक्षधरले नयाँ जनादेशमा जानु औचित्यपूर्ण भएको बताउँदै आइरहेको छ।



स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। कोरोना रोकथामको लागि गरिएको औषधि तथा उपकरण खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले मन्त्री ढकाललाई बोलाएर विभिन्न ९ वटा प्रश्नहरू सोधेको थियो।



कोरोनाका कारण चैत पहिलो सातादेखि बन्द भएका मस्जिद तथा मदरसाहरू पौष महिनादेखि खुलेका छन्। केही दिनअघि सरकारले धार्मिक स्थलहरू खाेल्ने निर्णय गरेसँगै काठमाडौँसहित देशभरका मस्जिदहरूमा नमाज (प्रार्थना) हुन थालेको हो।



बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा सीमित भएका छन्। बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका हुन्।



राजनीतिक प्रतिकूलताका कारण त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीको सहभागिताविना ४६औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। त्रिविको ४६औँ दीक्षान्त समारोहबाट ५६ हजार ७ सय १३ विद्यार्थी दीक्षित भएका छन्। तर, समारोहमा भने त्रिविले ८३ विद्यार्थीलाई मात्र निम्ता गरेको थियो।



बेलायतमा कोरोना भाइरसले स्वरूप बदलेर संक्रमण तीव्र फैलिएसँगै सरकारले पौष ०७ गतेदेखि बेलायतबाट नेपाल आउने सम्पूर्ण यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। 



विवेकशील साझा पार्टीको प्रवक्तामा केन्द्रीय सदस्य शरदराज पाठक चयन भएका छन्। गत संघीय निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट पार्टीका उम्मेदवार रहेका पाठकले ग्रामीण विकासमा स्नातकोत्तर गरेका छन्। राजनीतिमा सक्रिय हुनअघि उनी विभिन्न सञ्‍चारमाध्यममा आवद्ध थिए।



कोरोना भाइरसविरुद्धको खोप लगाउने नेपाली नागरिकको चाहनामाथि राजनीतिको कालो बादल मडारिन थालेको छ। प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि आएको राजनीतिक तरलताले खोप ल्याउनका लागि भइरहेको कुटनीतिक प्रयत्नमा असर पुर्याउन थालेको हो।



१६ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानले पौष १३ गते आन्दोलन स्थगित गरे। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा २१ दिनभित्र किसानलाई सरकारले दाबी गरेको ६६ करोड बक्यौता दिलाइदिने सहमित भएपछि किसानले आन्दोलन स्थगित गरेका हुन्। उखुको भुक्तानी माग गर्दै काठमाडौँको माइतीरमा आन्दोलनरत सलार्हीका किसान नारायण राय यादवको हृदयघातका कारण निधन भएको थियो। 



लुम्बिनी चिनी मिलका सञ्‍चालक मनोज अग्रवाल पक्राउ परेका छन्। पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको हो ।



नेपालका लागि भारतीय राजदूतावासले कोभिड–१९ खोपको खरिद तथा आपूर्तिमा सहकार्य गर्न भारत तयार रहेको प्रतिबद्धता व्यक्त गरेको थियो। विश्वमा विभिन्न संस्थाहरूसँग संलग्न भएर भारतले कोरोना भाइरस विरुद्धको खोपको परीक्षण गरिरहेको छ।



सरकारले विद्युतीय ग्रीड आधुनिकीकरण आयोजनाका लागि एशियाली विकास बैंक (एडीबी) बाट प्राप्त हुने १ सय ५६ मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई ८,८४८.८६ मिटर भएको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णयसमेत गरेको छ।



जनता समाजवादी पार्टी नेपाल र नेकपा एकीकृत मार्क्सवादी पार्टीबीच एकता घोषणा भएको छ। शुक्रबार दुवै पार्टीका शीर्ष नेताहरूको उपस्थितिमा ललितपुरमा कार्यक्रम गरी एकताको घोषणा गरिएको हो। 



नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ गर्नुपर्ने अवस्था नरहेको बताएको छ। तीन वर्षअघि नै लोडसेडिङ अन्त्य भइसकेको बताउँदै विभागले केही सञ्चारमाध्यममा अघोषित लोडसेडिङ सुरु भएको र विद्युत् आपूर्ति व्यवस्थापन गर्न नसकेको भन्ने समाचारहरु झुटो भएको बताएको हो। 



पौष २० गतेदेखि बाक्लो हिमपात सुरु हुँदा हुम्ला, जुम्ला लगायतका देशका उच्च हिमाली क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे छ। हिमपातका कारण नेपाल-चीन सीमास्थित हिल्सा नाका पूर्णरूपमा बन्द भएको छ। यता, काठमाडौँमा मौसम धुम्मिएसँगै सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढेकाे वातावरण विभागले जनाएकाे थियाे। प्रदुषण बढेसँगै काठमाडौँ विश्वका ५० प्रदूषित सहरमध्ये १ नम्बरमा पुगेकाे थियाे।



चार महिनाअघि मृत्यु भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव गरेको दाबी गरेका छन्। मृत्युपर्यन्त सार्वजनिक गरिएको मुखर्जीको आत्मकथा ‘द प्रेसिडेन्सियल इयर्स’ मा उनले उक्त कुरा सार्वजनिक गरेका हुन्। 



दार्चुलास्थित महाकाली नदीमा भारतले नेपाललाई जानकारी नै नदिएर एकपक्षीय रूपमा बाँध निर्माण गर्न थालेको छ। दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रूपमा बाँध निर्माण थालेको हो।



अब एउटा बैंकको एटीएम कार्डले अर्को बैंकको एटीएम मेसिनबाट पैसा निकाल्दा माघ १ गतेदेखि शुल्क लाग्ने भएको छ। कोभिडको जोखिमबाट बँच्‍न भन्दै सरकारले गत चैतदेखि शुल्क नलाग्ने व्यवस्था गरेको थियो।



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यथाशक्य छिटाे काेराेना खाेप भित्र्याई निःशुल्क वितरण गर्न आग्रह गरेकाे छ। सरकारले भने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीकाे भारत भ्रमणपछि मात्रै काेराेना खाेप भित्र्याउने बारे निर्णय दिनसक्ने संकेत देखाएकाे छ।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक