तस्बिर स्रोत, Waseem Khatak
पाकिस्तानमा शताब्दी पुरानो हिन्दु पवित्रस्थल गत डिसेम्बर महिनामा मुस्लिम भिडले ध्वस्त बनाइदियो। जुन त्यो पवित्र धार्मिकस्थलमा गरिएको दोस्रो तोडफोड र विध्वंस थियो।
पाकिस्तानको सर्वोच्च अदालतले उत्तर-पश्चिमको करक जिल्लास्थित श्री परम हंसजी महाराजको समाधि मन्दिरको पुनर्निर्माणको बाटो खुला गर्न निर्देशन दिइसकेको छ।
तर त्यो आक्रमणले देशका हिन्दुहरूको भावनालाई आघात पुर्याएको छ र सरकारले देशका धार्मिक अल्पसङ्ख्याहरूलाई संरक्षण गर्न असफल भएको आरोप खेपिरहेको छ।
मुस्लिमहरूको अत्यधिक बाहुल्य रहेको पाकिस्तानमा कुल जनसङ्ख्याको दुई प्रतिशतभन्दा कम हिन्दु समुदाय छन्। हिन्दुविरुद्धको पूर्वाग्रह व्याप्त छ।
सो स्थलमा पहिलो आक्रमण सन् १९९७ मा भएको थियो।
त्यसपछि सर्वोच्च अदालतले सन् २०१५ मा पुनर्निर्माण निम्ति दिएको आदेशपछि श्री परम हंसजी महाराजको समाधिमा हिन्दुहरू पुनर्निर्माणको प्रक्रियामै थिए।
तर प्रक्रियाकै चरणमा समुदायले हिन्दु तीर्थयात्रीहरूको निम्ति आराम गर्ने नजिकैको एउटा घर किने र त्यसको मर्मत सुरु गरे।
जसले गर्दा मन्दिर बिस्तार गर्न लागेको ठानेर स्थानीय मुस्लिमहरू आक्रोशित बने।
डिसेम्बर ३० तारिखमा मन्दिर नजिकै र्याली आयोजना गरियो। धार्मिक पार्टी जमाते उलेमाइ इस्लामसँग आबद्ध स्थानीय धार्मिक गुरु मौलवी मोहम्मद शरीफ त्यसको अगुवा थिए।
सन् १९९७ मा उक्त मन्दिरमा भएको आक्रमणको नेतृत्व पनि उनैले गरेका थिए।
तस्बिर स्रोत, Waseem Khatak
प्रत्यक्षदर्शीहरूका अनुसार मौलानाले भिडलाई भड्काए र जसले पछि मन्दिरको भित्तामा घनले तोडफोड गरे अनि आगो लगाए।
पाकिस्तानको अल्पसङ्ख्यक अधिकारसम्बन्धी आयोगले तयार पारेको प्रतिवेदन अनुसार बहुमूल्य वस्तुहरू सखाप पारिएको छ।
प्रतिवेदनमा लेखिएको छ, "समग्र तस्बिर पुरै विनाशको थियो।"
"उनीहरूले दण्डहीनताको साक्षी बने," आक्रमणपछि पाकिस्तानका प्रधानन्यायाधीश गुल्जार अहमदले भने, "घटनाले पाकिस्तानलाई अन्तर्राष्ट्रिय रूपमा लज्जित तुल्याएको छ।"
प्रहरीले शरीफ सहित १०९ जनालाई पक्राउ गरेको छ। घटनाका बेला ड्युटीमा रहेका एसपी र डिएसपी सहित ९२ जना प्रहरी निलम्बनमा परेका छन्।
"घटनास्थलमा ९२ जना प्रहरी थिए तर उनीहरूले कायरता र लापरबाही देखाए," स्थानीय प्रहरीका आईजी सनाउल्लाह अब्बासीले स्वीकार गरे।
घटनाका बेला कोही हिन्दु मन्दिरमा थिएनन्। उनीहरू धार्मिक सन्दर्भमा त्यहाँ पुग्छन्, त्यहाँ कोही बस्दैनन्। कोही घाइते भएका वा मारिएका छैनन्।
सुख्खा पहाडी मरुभूमिस्थित तेरी गाउँमा सन् १९१९ मा उक्त मन्दिर बनाइएको छ। अर्थात् त्यो पाकिस्तान बन्नुअघि धेरै पहिला बनेको हो।
विभाजनपछि धेरै हिन्दु दक्षिणतर्फ भारत र धेरै मुस्लिम नयाँ बनेको पाकिस्तानतर्फ धकेलिए।
उक्त मन्दिर रहेको स्थान हिन्दु सन्त श्री परम हंसजी महाराजको अन्तिम विश्राम स्थान हो। पाकिस्तान, भारत र विश्वका अन्य स्थानमा उनका अनुयायीहरू छन्।
उक्त गाउँका पत्रकार, अनुसन्धाता र शिक्षक वसीम खतकले दिएको जानकारी अनुसार त्यस क्षेत्रमा हिन्दु जनसङ्ख्या ठूलो थियो जो मुख्य रूपमा व्यापार-व्यवसायमा संलग्न थिए। त्यहाँ हिन्दु र मुस्लिम सामूहिक संस्कृतिका साथ सँगसँगै बस्थे।
श्री परम हंसजी महाराजलाई 'कुरानबारे जानकारी रहेको' बताउँदै खतक भन्छन्, "उनी ग्रन्थ उद्धृत गर्दै आफ्ना मुस्लिम अनुयायीहरूलाई आध्यात्मिक मार्गदर्शन गर्थे।"
तर सन् १९४७ मा भारत र पाकिस्तान अलग भएपछि श्रीसम्पत्ति छाडेर हिन्दुहरूले तेरी गाउँ छाडेर गए।
सरकारले उनीहरूले छाडेका सम्पत्ति सम्हाल्न र व्यवस्थापन गर्न एउटा ट्रस्ट खडा गर्यो। बेलाबेला तीर्थालुहरू आउने क्रम जारी रह्यो।
तस्बिर स्रोत, Waseem Khatak
'हिन्दु समुदाय अमेरिका र भारतको एजेन्ट'
सन्तको समाधि मन्दिरको सम्पत्तिको रेखदेखको जिम्मेवारी धर्म परिवर्तन गरी मुस्लिम बनेका उनका एक अनुयायीलाई दिइयो।
सन् १९६० मा ती अनुयायीको मृत्युपछि उनका छोराले दुई मुस्लिम परिवारलाई त्यो स्थान बेचिदिए।
भक्तजनलाई धार्मिक कार्य गर्न समाधिस्थलसम्म पुग्न ती दुई परिवारको निजी जमिनबाट जानुपर्ने अप्ठेरो आयो।
हिन्दु समुदायले सन् १९९० को दशकको सहज निकासको निम्ति त्योमध्ये एउटा घर किन्यो। जुन बेला स्थानीय मुस्लिम धर्मगुरुको पाकिस्तानी संस्थापनसँग प्रभावशाली सम्बन्ध थियो।
घर किनेको खबर सन् १९९६ मा प्रकाशमा आएपछि मौलावी शरीफले हिन्दु समुदायलाई अमेरिका र भारतको एजेन्ट घोषणा गरे र मन्दिर ध्वस्त पार्ने समूहको नेतृत्व गरे।
उक्त विध्वंस सन् २०१५ सम्म अदालतमा शृङ्खलाबद्ध मुद्दाको विषय बन्यो। सर्वोच्च अदालतले अन्ततः उक्त धार्मिक स्थलको पुनर्निर्माणको आदेश दियो।
तर दुईमध्ये एउटा घरभित्र रहेको सानो जमिनमा त्यो काम गर्न सजिलो थिएन। स्थानीय सरकारले त्यसको निम्ति बजेट दिन ढिलो गर्यो।
असन्तुष्ट पाकिस्तान हिन्दु परिषद्ले आफ्नै कोषबाट मन्दिरको पुनर्निर्माण र त्यहाँ पुग्ने बाटो फराकिलो बनायो।
हिन्दु समुदायका सदस्यहरू केवल मन्दिरको पुनर्स्थापनाले मात्र सुमधुर सम्बन्ध पुनर्स्थापना गर्न नसक्ने बताउँछन्।
पेशावरस्थित हिन्दु समुदायका नेता हारून सरब दियालले भने, "यो प्रणालीको विफलता हो, विशुद्ध स्थानीय विवाद कानुन र संविधान अनुसार सजिलै सुल्झाउन सकिने थियो, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दा बन्न पुग्यो।"
मन्दिरमा आक्रमण हुनु मात्र एक हप्ताअघि डिसेम्बरमा पाकिस्तानको अल्पसङ्ख्यक अधिकार आयोगको बैठकले पाकिस्तानमा 'अल्पसङ्ख्यकहरूप्रतिको व्यवहारमा देखिने सुधारको खाँचो' रहेको निष्कर्ष निकालेको थियो।
आक्रमणपछि आयोगले निकालेको प्रतिवेदनमा अझै लामो बाटो हिँड्न बाँकी रहेको निचोड निकालेको छ।