आज 'संसद विघटन असंवैधानिक भन्नेलाई संविधान पढ्न ओलीकाे आग्रह', 'दाहाल-नेपाल समूहले बुझायो सीडीओमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र', 'संसद विघटन असंवैधानिक भएकाे पूर्वप्रधानन्यायाधीशहरूकाे निष्कर्ष', 'अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा हार स्वीकार'लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार धनगढीमा आयोजित नेकपा ओली समूहको आमसभालाई सम्बोधन गर्दै संसद विघटनलाई असंवैधानिक भन्नेहरूलाई संविधान पढ्न आग्रह गरेका छन्। उनले पार्टी छाडेर गएका भगौडाका पछाडि नलाग्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। ओलीले दाहाल–नेपाल समूहलाई देशभरबाट दुई अंगको संख्यामा चुनाव जितेर देखाउन चुनौती दिएका छन्।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौँसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र बुझाएको छ। विरोधपत्रमा प्रधानमन्त्रीले राष्ट्रका नाममा क्षमायाचनासहित गलत कदम सच्याउन माग गरेका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध नेविसंघले काठमाडाैँको माइतीघर–बानेश्वर क्षेत्रमा उल्टाे हिँडेर प्रदर्शन गरेको छ। नेविसंघका नेता तथा कार्यकर्ताहरू माइतीघरबाट उल्टो हिँडेर बानेश्वरसम्म पुगेका थिए। उनीहरूले संसद् विघटनविरुद्ध नाराबाजी गर्नुका साथै प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गरेका छन्।
पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनूपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनकाे निर्णय असंवैधानिक भएकाे बताएका छन्। चारजना पूर्वप्रधानन्यायाधीशहरूले संयुक्त व्यक्त जारी गर्दै संविधानको धारा ७६ ले मन्त्रिपरिषद् गठन गर्ने सिलसिलामा वा सो प्रयोजन बाहेक अर्को अवस्थामा संसद विघटन गर्ने अधिकार नदिएको बताएका हुन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले संविधानले संसद विघटनकाे कल्पना समेत नगरेकाे बताएका छन्। थापाले प्रधानमन्त्रीले संसद विघटन गर्नु अनधिकृत भएकाे बताउँदै सर्वाेच्चले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था जाेगाउनुपर्ने उल्लेख गरे।
सुदूरपश्चिम भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीकाे सभामा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग गर्दै ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखिएको टिसर्ट लगाएका सात जना युवा पक्राउ परेका छन्। उनीहरूलाई तत्काल रिहाइ गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले माग गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएको बताएका छन्। बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन्।