प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपश्चात चरणबद्ध रूपमा असन्तुष्ट प्रचण्ड-नेपाल पक्ष, प्रतिपक्षी दलहरू, विद्यार्थी संगठन तथा सचेत नागरिक समूहहरूले दिनहुँजसो विरोध प्रदर्शन गर्दै आएका छन्। संसद विघटनविरुद्ध कालो बेलुन देखाएर गृहमन्त्रीको विरोध, अनेरास्ववियूको लालटिन जुलुस तथा ओलीको पुत्ला दहन, नेविसंघको उल्टो हिँडेर संसद विघटनको विरोध, विवेकशीलद्वारा ऐना देखाएर प्रतिगमनको विरोध लगायतका विराेध कार्यक्रमहरू देशभर भइरहेका छन्।
संसद् विघटनको विरोधमा कांग्रेसले २५ पुसमा तीन सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा, ३ माघमा सात सय ५३ वटै स्थानीय तहमा र ८ माघमा देशैभरिका ६ हजार सात सय ४३ वटा वडामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ। यसअघि १३ पुसमा सबै संसदीय निर्वाचन क्षेत्रस्तरमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो।
गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता तथा समर्थकले कालो बेलुन उडाएर विरोध गरेका छन्। केपी ओली समूहको कार्यक्रम स्थल जाने बाटो भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध नेकपा समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका थिए।
पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरूमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ।
संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरूले काठमाडौँमा लालटिन जुलुस निकालेका छन्। जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत नेता कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे।
सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहको स्ववियूले कालो झण्डा देखाएको छ। ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो। संसद् विघटनपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन्।
प्रतिनिधिसभा विघटनको विरुद्धमा आन्दोलनरत अनेरास्ववियूले बिहीबार प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ। पुस २१ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गरेको अनेरास्ववियू आबद्ध विद्यार्थीहरूले काठमाडौँ उपत्यकाका प्रदर्शनीमार्गको आरआर क्याम्पस, मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पससहित देशभर ओलीको पुत्ला दहन गरेका हुन्।
नेविसंघले शुक्रबार काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ। प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी थिए।
संसद विघटनको विरोधमा विवेकशील पार्टीले शुक्रबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको थियो। ऐना बोकेर प्रदर्शनमा उत्रिएका उनीहरूले ‘रिफ्लेक्ट गरौँ नागरिकले/समाजले/दलले/सरकारले’ लेखिएको प्लेकार्ड समेत बोकेका थिए।
प्रधानमन्त्री केपी ओली धनगढी जाने कार्यक्रमको विरोध गर्दै टायर बालेर प्रदर्शन गरिएको छ। ओलीको विरोधमा जिल्ला प्रशासन, सम्बोधनका लागि मञ्च बनाइएको खुलामञ्चनजिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूका कार्यकर्ताले टायर बालेका हुन्।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा शनिबार पनि देशभर प्रदर्शन गरेको छ। संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो।
सत्याग्रही डा. गाेविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएकाे अधिकार प्रयोग गरी संसद विघटन गरेकाे बताएका छन्। माइतीघरमा शनिबार आयोजित विरोधसभामा डा. केसीले राजालाई फाल्ने जनताले ओलीलाई पनि फाल्ने उल्लेख गरे।
जनता समाजवादी पार्टीले शनिवार भैरहवामा संसद विघटनविरुद्ध विराेध सभा गरेकाे छ। विराेधसभामा बाेल्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री ओलीकाे संसद विघटनकाे कदम असंवैधानिक भएको बताएका छन्।