आइतबारदेखि बाक्लो हिमपात सुरु हुँदा हुम्ला, जुम्ला लगायतका देशका उच्च हिमाली क्षेत्रकाे जनजीवन कष्टकर बनेकाे छ। हिमपातका कारण नेपाल-चीन सीमास्थित हिल्सा नाका पूर्णरूपमा बन्द भएको छ। यता काठमाडौँमा मौसम धुम्मिएसँगै सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढेकाे वातावरण विभागले जनाएकाे छ। मंगलबार विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ १ नम्बरमा पुगेकाे थियाे।
आइतबार बिहानदेखि हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका समेत बन्द भएका छन्। यस्तै, आइतबार रातिदेखि परेको हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ। त्यस्तै भारी हिमपात भएपछि नेपाल-चीन सीमा हिल्सा नाका पूर्णरूपमा बन्द भएको छ।
मौसम धुम्मिएसँगै काठमाडौंमा सोमबारदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढेर मंगलबार एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ। याेसँगै विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ १ नम्बरमा रहेको देखिएको थियो। वातावरण विभागले बिहान र बेलुकाको समयमा वायु प्रदूषण अत्याधिक बढेको जनाएको छ। विभागले मंगलबार एक विज्ञप्ति जारी गर्दै बालबालिका, वृद्धवृद्धा, दीर्घ रोगी, मुटुकाे समस्या भएका व्यक्तिहरूलाई प्रदूषणले बढी प्रभावित पार्ने भएकाले घर बाहिर ननिस्कन र बाहिर निस्कँदा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। यद्यपि, बिहीबारदेखि काठमाडौँमा घाम लाग्न सुरु भएपछि प्रदुषणकाे मात्रा घटेकाे छ।