छोटकरीमा : आज- २०७७ पौष २१, मंगलबार

आज वायु प्रदूषणमा विश्वका ५० सहरमध्ये काठमाडौं एक नम्बर, परराष्ट्रमन्त्री भारत भ्रमणमा जाने तयारीमा, भारतमा बर्ड फ्लुकाे प्रकाेप तथा साढे ३ वर्षपछि कतारमाथिको नाकाबन्दी हटाउन साउदी तयार लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।



नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै पुनर्स्थापना हुनुपर्ने बताएका छन्। आफूहरू संविधान निर्माता भएकाले अदालतमै पुगेर पनि विघटन गर्ने विशेषाधिकार नरहेको कुरा बताउने उनको दाबी थियो।



जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा चलिरहेको अवस्थामा कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले पनि संसद् पुनःस्थापना गर्न सक्दैन भनेर दिएका अभिव्यक्तिले चिन्ता थपेको बताएका छन्।



नेकपा (दाहाल–नेपाल) का १९ जना सांसदले प्रदेश २ को संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ। जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले दलका नेतामा शत्रुघ्न महतोलाई चयन गरेको छ। 



मौसम धुम्मिएसँगै काठमाडौंमा हिजोदेखि वायु प्रदूषणको मात्रा अत्यधिक बढेर आज बिहान एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ४३७ पुगेको छ। याेसँगै विश्वका ५० सहरमध्ये प्रदूषणका हिसाबले काठमाडौँ १ नम्बरमा रहेको देखिएको छ। काठमाडौँ उपत्यकामा सोमबारदेखि एक्कासी बढेको वायु प्रदुषणले स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने चिकित्सकहरूले बताएका छन्।



पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाको भ्रातृ संगठन अनेरास्ववियूले प्रतिनिधिसभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। अनेरास्ववियूले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरुलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्याम्पसहरूमा कालो ब्यानर राख्ने र कोणसभा आयोजना गर्ने भएको छ।



परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ली ज्ञवाली नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको छैटौं बैठकका लागि आगामी माघ १ गते भारत जान लागेका हुन्। स्रोतका अनुसार सोही दिन साँझ आयोगको बैठक बस्ने छ। र, भोलिपल्ट केही राजनीतिक भेटघाट गरेर ज्ञवाली स्वदेश फर्कने कार्यक्रम रहेको छ। 



नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सँगै सडकमा आउन प्रमुख प्रतिपक्षी कांग्रेस र जनता समाजवादी पार्टीलाई आग्रह गरेका छन्। 



राप्रपाका अध्यक्ष कमल थापाले सोमबार कञ्चनपुरको नेपाल-भारत सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा गाेली प्रहार गरेकाे घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार साँझ भारतीय सुरक्षाकर्मीको गोली लागेर दोधारा–चाँदनी– १ का अन्दाजी १६ वर्षीय नरेन्द्र लुहार घाइते भएका छन्। भारतीय वन क्षेत्र गठिगोठमा गएका बेवेला लुहारमाथि गोली प्रहार भएको थियो।



सरकारको निर्वाचनमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरी आगामी वैशाखमा निर्वाचनको मिति घोषणा गरेको भए पनि सुरक्षा निकायले भने वैशाखमा निर्वाचन मुस्किल भएको अनौपचारिक निष्कर्ष निकालेको छ। संसद् विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन छ। 



 भारतले आपत्कालीन प्रयोगको मान्यता दिएको कोभिड–१९ विरुद्धका खोप कोभिसिल्ड र कोभ्याक्सिन नेपालका लागि समेत सहज हुने देखिएको छ । तिनलाई कोभाक्स सुविधाबाट सहुलियत दरमा प्राप्त हुने भनिएको खोपभन्दा छिटो ल्याउन पहल सुरु भइसकेको बताइएको छ ।



अमेरिकाविरुद्ध जासुसी गरेको आरोप लगाइएका विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्न नसकिने बेलायतले बताएको छ। गोप्य कागजात अनलाइनमार्फत सार्वजनिक गरेको भन्दै बेलायतमा पक्राउ परेका असान्जलाई अमेरिकाले सुपुर्दगी गर्न लन्डनलाई दबाब दिँदै आएको छ। 



चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको छ। दुई दिनको अवधिमा ७३ हजारभन्दा बढी चिनियाँले बेइजिङमा पहिलो डोज खोप लिएको स्वास्थ्य सेवा विभागले जनाएको छ। खोप लिनेहरूमा सामुदायिक कार्यकर्ता र बस चालकहरू पनि छन्।



कोरोना भाइरसको महामारीबाट जुधिरहेको भारतमा विभिन्न पाँच राज्य: हिमाचल, हरियाणा, राजस्थान, केरल र मध्यप्रदेशमा एचफाइभ एन वान एभिएन इन्फ्लुएन्जा भाइरस अर्थात् बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। ला सीमाका कारण भारतमा बर्ड फ्लु पुष्टि हुनुलाई नेपालका लागि पनि खतराको घन्टीका रुपमा लिने गरिन्छ।



 बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले इङ्ल्यान्डमा तेस्रोपटक देशव्यापी लकडाउन घोषणा गरेका छन्। प्रमुख प्रतिपक्षी दल, आफ्नै मन्त्रिपरिषद् सदस्यहरू र युनियनको चर्को दबाबबीच उनले कोरोना नियन्त्रण प्रयासका लागि सोमबार साँझ लकडाउन घोषणा गरेका हुन्।



साउदी अरबले साढे तीन वर्षअघि कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ। साउदी अरबले आतंकवादलाई प्रश्रय दिएको आरोप लगाउँदै कतारमाथि साढे ३ वर्षअभि हवाई र स्थल नाकाबन्दी गरेको थियो। 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक