छोटकरीमा : आज- २०७७ पौष २०, सोमबार

आज चिनियाँ अर्बपति बेपत्ता, ट्रम्पले गरे मत परिणाम बदल्न काेसिस, राष्ट्र बैंकले नयाँ नक्सा भएकाे सिक्का निष्कासन गर्दै, चिसाे बढेसँगै देशका उच्च हिमाली भू-भागमा हिमपात, संघीय सरकारका मन्त्रीद्वारा प्रदेश सभा विघटनकाे संकेत, कक्षा १२ काे नतिजा छिट्टै तथा भारतसँग कुटनीतिक वार्ताकाे सम्भावना बन्दै लगायतका खबरहरू समावेश गरिएका छन्।



चीनका तेस्रो धनी तथा अलीबाबा समूहका मालिक ज्याक मा दुई महिनादेखि बेपत्ता भएका छन्। चीनको प्रविधिजगत्मा राज गर्दै आएका ज्याक त्यहाँका राष्ट्रपति सी चिनफिङसँग विवादपश्चात् हराएको बताइएको छ।



हालै सम्पन्न निर्वाचनमा मतका विषयमा राष्ट्रपति डोनाल्ड ट्रम्पको अडियो भाइरल भएपछि अमेरिकी राजनीतिमा पुनः भुइँचालो गएको छ। राष्ट्रपति ट्रम्पले मतगणना चलिरहँदा आफू हार्ने देखेपछि जर्जियाका शीर्ष निर्वाचन अधिकारीलाई फोन गरेर परिणाम बदल्न फोन गरेर दबाब दिएकाे दाबी गरिएकाे छ।



नेपाल राष्ट्र बैंकले लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको मुलुकको नयाँ नक्सा भएको एक रुपैयाँको सिक्का निष्कासन गर्ने भएको छ। भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेट्न स्वीकृति दिएको थियो। 



आइतबार बिहानदेखि हुम्ला, मुगुलगायत हिमाली जिल्लामा बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। बाक्लो हिमपातका कारण हुम्लाको नाम्खा गाउँपालिकाका सबै नाका समेत बन्द भएका छन्।



भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको बताएकी छन्। राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उनको मत थियो।



नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ। लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको उपचारका लागि अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन्। 



नेपाल भारत सीमा तत्काल खोल्न पश्चिम नवलपरासीमा जनता समाजवादी पार्टीले र्यालीसहित धर्ना दिएको छ। जिल्लाको पाल्हिनन्दन गाउँपालिका १ मा रहेको महेशपुर भन्सारदेखि नेपाल भारत सीमासम्म दबाबमूलक र्‍याली गर्दै दशगजामा एक घण्टा धर्ना दिएको थियो। 



 प्रहरीले थानकोटबाट बरामद गरेको एक करोड ४७ लाख रुपैयाँबारे थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ। थानकोट प्रहरीले ३० वर्षीय भारतीय नागरिक अमितकुमार गुप्ताको साथबाट स्रोत नखुलेको १ करोड ४७ लाख रुपैयाँ नगद बरामद गरेको थियो।



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षाको नतिजा सकेसम्म चाँडै प्रकाशन गर्ने जनाएको छ। परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार परीक्षाको उत्तरपुस्तिका परीक्षण र सम्परीक्षण कार्य सकिएको र इन्ट्री कार्य जारी रहेको छ।



मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुध्दमा धकेलेको बताएका छन्। पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुध्दमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको टिप्पणी गरेका हुन्। 



सत्तारुढ नेकपा भित्रको विवाद उत्कर्षमा पुगेपछि सेलाएको नेपाल-भारत वार्ता पुनः अघि बढ्ने भएको छ। भारतले कामचलाउ सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई दिल्लीमा स्वागत गर्ने निर्णय लिएको छ। यद्यपि बैठकको तिथि अझै औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।



गृहमन्त्री रामबहादुर थापा ‘बादल’को गृहजिल्ला चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकर्ता तथा समर्थकले कालो बेलुन उडाएर विरोध गरेका छन्। केपी ओली समूहको कार्यक्रम स्थल जाने बाटो भरतपुरको हाकिम चोक जाने क्रममा बादलविरुद्ध नेकपा समर्थकहरुले बेलुन उडाएर विरोध प्रदर्शन गरेका थिए। 



सर्वोच्च अदालतले सरकारसँग मन्त्रिपरिषद विस्तार गर्नुको कारणबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसँग लिखित जवाफ कारण माग गरेको छ। संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड–माधव समूहका नेताहरुले मन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ८ मन्त्री र १ राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद विस्तार गरेका थिए।



सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम विवादको विषयमा छलफल गर्न सरोकारवाला निकायलाई छलफलमा बोलाएको छ। नयाँ पाठ्यक्रममा गणित विषयलाई उपेक्षा गरिएको भन्दै अदालतमा रिट परेको थियो। अदालतले तत्काल नयाँ पाठ्यक्रम लागू नगर्न भनेपछि ११ मा नयाँ कि पुरानो पाठ्यक्रम पढाउने भन्ने समस्या छ। 



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहका नेता, पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रचण्डको पदलोलुपताका कारण नेकपा संकटमा परेको बताएका छन्। प्रचण्डले पद नपाएपछि पार्टीलाई गहिरो संकटमा पारेको भन्दै पोख्रेलले विगत लामो समय अघिदेखि पार्टीभित्र अन्तर्संघर्ष प्रचण्डले नै चर्काउँदै लगेको बताए।



राष्ट्रिय सभाको गत शुक्रबारको बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गरेकोमा राष्ट्रिय सभा सचिवालयमा अध्यादेश अस्वीकार गर्ने प्रस्ताव पेस भएको छ। मनोनित सांसद रामनारायण बिडारीले आइतबार अस्वीकार प्रस्ताव दर्ता गराएका हुन्।



संसद् विघटनको विरोधमा कांग्रेसले २५ पुसमा तीन सय ३० वटा प्रदेश सभा निर्वाचन क्षेत्रहरूमा, ३ माघमा सात सय ५३ वटै स्थानीय तहमा र ८ माघमा देशैभरिका ६ हजार सात सय ४३ वटा वडामा विरोध प्रदर्शन र सभा गर्ने निर्णय गरेको छ। यसअघि १३ पुसमा सबै संसदीय निर्वाचन क्षेत्रस्तरमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको थियो। 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक