छोटकरीमा २०२० : खेलकुद गतिविधि

कोरोना भाइरस महामारीका कारण थला परेको खेलकुद जगत् पछिल्लो महिनादेखि बौरिन लागेको छ। वर्षकाे अन्ततिर केही राष्ट्रिय स्पर्धा सुरु भएका छन् भने कतै अभ्यास खेल र बन्द प्रशिक्षण थालिएका छन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा वर्ष २०२० भरि के-कस्ता खेलकुद गतिविधिहरू भए त?



वर्ष २०२० मा नेपाली खेल क्षेत्र ठप्पप्राय रहँदा २०१९ डिसेम्बरमा देखिएको दक्षिण एसियाली खेलकुदको उत्साह निरन्तर रहन पाएन। नेपालमा गएको वर्ष फेब्रुअरीमा सहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि मच्छिन्द्र क्लबले जित्दासम्म खेलकुदको लय देखिएकै थियो तर चलिरहेको ‘बी’ डिभिजन लिग बीचमै रोकिँदा र सुरु हुनै लागेको इपिएल जस्ता क्रिकेट प्रतियोगिता हुन नपाउँदा समस्या परिरह्यो। महामारीका कारण खेल क्षेत्र अप्ठ्यारोमा पर्दा खेलाडीमा जीवनयापनको कठिनाइसमेत आइपरे। 



विश्व खेलकुदमा अधिकांश खेलहरू भनिएको समयमा गर्न कोरोना बाधक देखियो। कोरोना महामारीका कारण स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गर्नु पर्ने भएपछि पछिल्लो समय सांस्कृतिक तथा खेलकुद कार्यक्रममा प्रतियोगिता समेत अनलाइनबाट गर्न थालियो।



नर्वेका चेस स्टार मागनस चार्लसेनले लगातार १११ खेलमा अपराजित रहँदै विश्व कीर्तिमान बनाएको विषयदेखि ब्राजिलका लिजेण्ड फुटबलर रोनाल्डिन्हो नक्कली पासपोर्ट बोकेको आरोपमा पाराग्वेमा जेलमा परेको घटनाले पनि विश्व खेलकुद तरंगित बन्यो। 



गएको वर्ष मार्च १३ मा नै च्याम्पियन्स लिग र युरोपा लिगमा चलिरहेका खेलहरू रोकिए। जसले विश्व फुटबलमा कोरोनाको असर थपियो। २०२० मा हुने भनिएको युरोकप फुटबल नै स्थगित भएर अर्को वर्ष गर्ने घोषणा गरियो। २०२० मा नै हुने तय रहेको टोकियो ओलम्पिक पनि एक वर्ष पछि सार्ने निर्णय भयो।



अप्रिलमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आफू अन्तर्गतका संघहरूलाई १५० मिलियन युरो कोरोना महामारीसँग लड्नका लागि सहयोग गर्ने घोषणा गरेको थियो। जसले आर्थिक संकटमा रहेको फुटबलमा केही राहत मिल्यो।



गएको वर्ष अप्रिल ३० मा लिग रोकिएको समय शीर्ष स्थानमा रहेको पिएसजीलाई २०१९-२० को लिग वान विजेता घोषणा गर्दै प्रतियोगिता नै स्थगित गरियो। विश्व फुटबलमा चलेका अरु ठूला लिगहरू रोकिँदै चल्दै कठिन अवस्थाबाट विजेतासम्म पुग्यो। त्यसपछि नयाँ लिग पनि उही ढंगमा चलिरहेका छन्। कोरोनाले प्रभावित बने पनि च्याम्पियन्स लिग र युरोप लिग फुटबलले केही उत्साह थप्दा दर्शकबिनाको मैदान खल्लो बनिरह्यो।



गएको वर्ष स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्लब छाड्ने हल्लाले पनि फुटबल जगतमा चर्चा बनिरह्यो। महँगो रिलिज क्लज देखाउँदै क्लबले उनलाई छाड्न दिएन जसले मेस्सी पुनः बार्सिलोनामा नै रोकिए। नयाँ सिजनको लिगमा कमजोर बनिरहेको बार्सिलोनामा अब जितको खोजीमा रहेको मेस्सीले बताइरहेका छन्। यो सिजनको अन्त्यपछि उनले क्लब छाड्नेछन् भन्ने खबरहरू फेरि चर्चामा छन्। 



गएको वर्ष नै नोभेम्बर २५ मा विश्व फुटबलका स्टार खेलाडी डिएगो म्याराडोनाको निधनले खेल जगत स्तब्ध बन्यो। सन् १९६०, अक्टोबर ३० मा अर्जेन्टिनाको राजधानी रहेको प्रान्त ब्युनेस एयर्सको लानुसमा गरिब परिवारमा जन्मेका म्याराडोनाले विश्व फुटबलमा आफ्नो बेग्लै उचाइ बनाए। बोका जुनियर, बार्सिलोना, नापोली जस्ता क्लबमा फुटबल कला देखाएका म्याराडोनाले अर्जेन्टिनालाई १९८६ को विश्वकप जिताएको सम्झना फुटबल प्रेमीले गरे। म्यारोडोनाको ६० वर्षको उमेरमा निधन हुँदा विश्वका लाखौँ खेलप्रेमी स्तब्ध भएका थिए। उनको निधन भएपछि अर्जेन्टिनाले तीन दिने राष्ट्रिय शोक घोषणा गरेको थियो।



विश्व फुटबलमा व्यक्तिगत रूपमा दिइने विशेष मानिएको अवार्ड बालोन डि’ओर २०२० मा स्थगित गरियो। युइएफएले दिने वर्ष खेलाडीको अवार्ड भने केभिन डि ब्रायन र म्यानुअल नियोरलाई पछि पार्दै रोबर्ट लेवान्डोस्कीले जिते। लेवान्डोस्कीले नै फिफाले दिने वर्ष उत्कृष्ट खेलाडीको अवार्ड क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीलाई पछि पार्दै जिते। 



विश्व फुटबल जगतमा जस्तै क्रिकेटमा यो वर्ष कोरोना महामारी नै केन्द्रमा देखियो। फ्रेन्चाइज लिग क्रिकेटदेखि अन्तरदेशीय क्रिकेट सिरिज पनि कोरोनाको प्रभावमा परिरह्यो। पछिल्ला केही महिना चलायमान देखिएको क्रिकेटमा दर्शक बिनाकै खेल चलिरहेका छन्।



अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले प्रदान गरेको क्रिकेटर अफ दि डिकेड अवार्डमा अस्ट्रेलियाका स्टेभेन स्मिथ टेस्ट क्रिकेटर अफ दि डिकेड, अफगानिस्तानका रासिद खान टी ट्वान्टी क्रिकेटर अफ दि डिकेड साथै भारतका विराट कोहली क्रिकेटर अफ द डिकेड र एकदिवसीय क्रिकेटर अफ द डिकेड बने।



नेपाली क्रिकेट

आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु मैदानमा पहिलो सिरिज ओमन र अमेरिकाविरुद्ध फेब्रुअरी ५ देखि १२ सम्म त्रिवि क्रिकेट मैदानमा भयो। जसमा नेपालले अमेरिकासँगको दुई खेल जित्यो भने ओमनसँगको दुवै खेल हारेको थियो। 



कोरोनाभाइरस सुरु भइसकेको अवस्थामा नेपालले थाइल्यान्ड गएर पनि क्रिकेट प्रतियोगिता खेल्यो। एसिसी इस्टर्न रिजन टी ट्वान्टीमा सिंगापुर, हङकङ, मलेसिया र थाइल्यान्ड रहेको समूहमा नेपाल चौथो भएको थियो। चार खेलमा एक खेल मात्र जितेको नेपालको खराब अवस्था देखियो। 



नेपालमा नै मार्च १४ देखि २८ सम्म हुने भनिएको एभरेस्ट प्रिमियर लिग प्रतियोगिता समेत कोरोनाकै कारण स्थगित भयो। अन्तिम तयारीमा पुगिसकेको प्रतियोगितामा विश्व प्रसिद्ध खेलाडीहरू आउने तय भइसकेको थियो। तर प्रतियोगिता हुन पाएन। त्यासँगै पोखरा प्रिमियर लिग, धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाइज टी-ट्वान्टी क्रिकेट प्रतियोगिता पनि भएनन्। 



यही वर्ष नेपाली क्रिकेट टिमका प्रशिक्षक उमेश पटवालले अमेरिका र ओमनसँगको त्रिदेशीय सिरिजपछि राजीनामा दिए। अहिले नयाँ प्रशिक्षकका रुपमा डेभ वाटमोर आउने तय भइसकेको छ। 



अहिले दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता पनि चलिरहेको छ। प्रतियोगितामा अब सेमिफाइनल र फाइनल खेलहरू बाँकी छन्। 



नेपाली फुटबल

भूकम्पपछि पुनर्निर्माण भएको दशरथ रंगशालामा १३औँ दक्षिण एसियाली खेलकुद आयोजनापछि ए डिभिजन लिग फुटबल सञ्चालन भयो। २०१९ को १४ डिसेम्बरबाट २०२० को फेब्रुअरी १५ सम्म सञ्चालन भएको लिग फुटबलको उपाधि मच्छिन्द्र क्लबले जित्यो। पहिलो पटक मच्छिन्द्र क्लबले जितेको उपाधिले नेपाली क्लब फुटबलमा नौलोपन देखिएको थियो। 



ए डिभिजन लिग सकिएपछि एन्फाले बी डिभिजन लिग सुरु गरिसकेको थियो। तर कोरोना महामारीकै कारण चलिरहेको बी डिभिजन लिग रोकियो। रोकिएको बी डिभिजन लिग आउने फागुनमा हुने तय भएको छ। लिग खेल रोकिनुअघि सातदोबाटो युथ क्लब ६ खेलबाट १६ अंक बनाएर शीर्ष स्थानमा थियो। खुमलटार युथ क्लबको ५ खेलमा १३ अंक र बाँसबारी क्लबको ५ खेलमा ११ अंक रहेको थियो। 



कोरोना माहामारीका कारण खेलाडीहरूको फिटनेसमा नै समस्या देखिन थालिसकेको थियो। लामो समय मैदानबाहिर रहेका खेलाडीलाई मद्दत पुगोस् भन्ने हेतुले नेपालले बंगलादेशसँग मैत्रीपूर्ण दुई खेल खेल्यो। नोभेम्बर १३ मा भएको खेलमा २–० ले पराजित नेपाल नोभेम्बर १७ मा भएको दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको थियो। 



दक्षिण एसियाली खेलकुद आयोजनाको जस लिएर सफल दरिएका खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीबाट हटाइए। खेलकुद मन्त्रालयको जिम्मेवारीमा अहिले दावा लामा ल्याइएका छन्। दक्षिण एसियाली खेलकुदपछि कार्यकाल सकाएर राखेप सदस्यसचिव रमेश सिलवाल दोस्रो कार्यकालमा नियुक्त भइसकेका छन्। 



लामो समयको प्रतीक्षापछि खेलकुदको विकासमा काम हुने अपेक्षा रहेको ‘राष्ट्रिय खेलकुद विकास ऐन, २०७७’ यसै वर्ष लागु भयो। राष्ट्रिय खेलकुद परिषद (राखेप)मा सदस्यसचिव नियुक्ति हुने प्रक्रियादेखि राखेपमा रहने अन्य सदस्यको नियुक्ति जस्ता विषयदेखि खेल क्षेत्रमा प्रत्यक्ष प्रभाव पार्ने गरी नयाँ ऐनको व्यवस्था भएको छ। 



खेल क्षेत्रमा देखिएका तमाम गतिविधिहरूको सुचाकक्षर यहाँ गरिएको छ। छुटपुट पाटाहरू बारे तल पढ्न सक्नुहुनेछ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक