वर्ष २०२० काे सुरूआतमै अमेरिकाले इरानी कुर्दस् फोर्सका सैन्य कमान्डर कासिम सुलेमानीकाे हत्या दुई देशहरू आमुनेसामुने भए। घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठाडो आदेशमा इराककाे बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल बाहिर घटाइएकाे थियाे।
गत जनवरी ३ तारिखका दिन इराककाे बग्दाद अन्तर्राष्ट्रिय विमानस्थल बाहिर कारमा सवार इरानी कुर्दस् फोर्सका सैन्य कमान्डर कासिम सुलेमानीको अमेरिकी हवाई हमलामा मृत्यु भयाे। याेसँगै इरान र अमेरिका आमुनेसामुने भएका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे आदेशमा अमेरिकी सेनाको मानवरहित ड्रोन विमानबाट प्रहार गरिएको रकेट आक्रमणमा परेर सुलेमानीको मृत्यु भएपछि दुई राष्ट्रका राष्ट्रप्रमुखहरू बीचकाे वाकयुद्ध चर्चामा रह्याे।
घटना लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री माइक पोम्पेयो तथा इरानी सर्वाेच्च नेता आयोतल्लाह अलि खमेनी र इरानी राष्ट्रपति हसन रुहानी एकअर्काे देशविरुद्ध वाकयुद्धमा उत्रिएका थिए।
इरान र अमेरिका बीचको तनावले निकै उचाइ लिएसँगै इरानले युरेनियम सम्बर्द्धनको कामलाई पुनः सुचारु गरेकाे छ भने अमेरिकाले इरानमाथिको नाकाबन्दीलाई निकै कडा बनाउँदै लगेकाे थियाे।
अमेरिका इरानका बीचको द्वन्द्वको असर संसारभर परेको थियो। विशेष गरेर तेल आपूर्तिमा यसको गम्भीर असर देखिएको थियो। विश्व बजारमा आपूर्ति हुने पेट्रोलियम पदार्थ र ग्यास निर्यातको मुख्य क्षेत्र पर्सियन खाडी र ओमनको खाडी अशान्त बन्दा कच्चा तेलको मूल्य वृद्धि भएको थियो भने अमेरिकी अर्थतन्त्रको प्रमुख हिस्सा सुनको मूल्य निरन्तर उकालो लागेको थियो।