आज मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट, चिनियाँ प्रतिनिधिको नेपाल भ्रमण मित्रता गहन पार्न रहेको चीनको दाबी, संसद विघटनविरुद्ध कांग्रेसको देशभर प्रदर्शन, उखु किसानको आन्दोलन स्थगित, इरानमा हिमपहिरोमा परी कम्तीमा १० आरोहीको मृत्यु लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेपछि काम चलाउ भएको र उनले गरेको मन्त्रिपरिषद् विस्तार संविधान विपरीत भएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।
धारा ७७(३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको उल्लेख गर्दै रिटमा अहिलेका प्रधानमन्त्री ओली कामचलाउ भएको उल्लेख गरिएको छ ।
चीनले जारी चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभागको प्रतिनिधि मण्डलको नेपाल भ्रमण आपसी राजनीतिक विश्वास बढाउन तथा आपसी मित्रतालाई मजबुद बनाउनका लागि केन्द्रित भएको तर कुनै हस्तक्षेपका लागि नभएको स्पष्ट पारेको छ।
प्रतिपक्षी कांग्रेसले सोमबार सबै निर्वाचन क्षेत्रमा संसद् विघटनको विरोध गर्न कार्यक्रम आयोजना गरेको छ। कांग्रेसभित्र संसद् पुनःस्थापनाको पक्षमा लाग्ने कि निर्वाचनमा जाने भन्नेमा विवाद छ। सभापति शेरबहादुर देउवा पक्ष ओली सरकारले गरेको संसद् विघटनपछि मध्यावधि निर्वाचनमा जानुपर्ने र संसद पुनःस्थापनाको माग अगाडि सार्न नहुने भनिरहेको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष संसद पुनःस्थापनाका लागि आन्दोलन गर्नुपर्ने भनिरहेको छ।
१६ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आन्दोलनरत उखु किसानले आन्दोलन स्थगित गरेका छन्। सोमबार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा २१ दिनभित्र किसानलाई सरकारले दाबी गरेको ६६ करोड बक्यौता दिलाइदिने सहमित भएपछि किसानले आन्दोलन स्थगित गरेका हुन्।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् विघटन गरेर प्रधानमन्त्री केपी ओलीले इतिहासमा कलंकको टीका लगाएको बताएका छन्। प्रचण्डले प्रधानमन्त्री ओलीले आफूसँग संवैधानिक रूपमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरेकाले ओली सरकार विघटन भएको, तर संसद् विघटन नभएको दाबी गरेका छन्।
संखुवासभाको चैनपुर नगरपालिका– ४ मैदानेमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहले ओडारमा लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। अहिले सो ठाउँ र सम्भावित चेकपोस्टहरूमा नेपाल प्रहरीका इन्स्पेक्टरको कमान्डमा ३६ जना र सशस्त्र प्रहरीका तर्फबाट १० जनाको टोली खटाइएको छ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य देव गुरुङले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी ओलीको विपक्षमा आदेश दिएर संविधानको रक्षा गर्ने बताएका छन्। प्रधानमन्त्रीको कदमले संविधान नै खतरामा परेको भन्दै उनले आदालतप्रति आफूहरूको विश्वास रहेको बताए।
प्रचण्ड-माधव नेपाल निकट अनेरास्ववियू वाल्मिकी क्याम्पस कमिटीले सरकारले गरेकाे संसद विघटन असंवैधानिक र प्रतिगामी भएकाे बताएकाे छ। सरकारकाे यस कमदकाे विराेध गर्दै कमिटीले ‘स्वाहा’ कार्यक्रम गरेकाे छ। विद्यार्थीहरूले सोमबार विद्यापिठस्थित प्रदर्शनी मार्गमा सरकार विरुद्ध प्रदर्शन गर्दै सरकारको स्वाहा गरेका हुन्।
कोरोना भाइरस नयाँ स्वरूपमा देखा परेको भन्दै साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ। साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रुबाहक हवाई उडान रोकेको घोषणा गरेका थिए। बेलायतमा कोरोना भाइरसको नयाँ संस्करण देखिएको भन्दै ती मुलुकले जमिन र समुद्री मार्ग पनि बन्द गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नौ खर्ब डलरको राहत प्याकेजसम्बन्धी एक विधेयकमा आइतबार हस्ताक्षर गरेका छन्। एक साताअघि नै संसद्ले विधेयक पारित गरे पनि राष्ट्रपति ट्रम्पले विधेयकमा रहेका प्रावधानमा असहमति जनाउँदै हस्ताक्षर गर्न ढिलाइ गरेका थिए।
चीनका होटेल वा रेस्टुरेन्टले ठूलो परिमाणको खाना अर्डर लिन सक्ने अवस्थामा नरहेको स्थानीय मिडियाहरूले जनाएका छन्। चिनियाँ मिडियाले कोभिडका कारण मात्र खाद्यान्न अभाव भएको विश्वास गरेका छैनन्। उनीहरूले छिमेकी राष्ट्रहरूसँगको चिसिएको सम्बन्धले यस्तो समस्या उत्पन्न भएको दाबी गरेका छन्।
युरोपेली युनियनमा आबद्ध मुलुकहरूमा आइतबारदेखि एकसाथ कोभिड– १९ विरुद्धको खोप अभियान सुरु भएको छ। युरोपका केही मुलुकमा कोरोना भाइरसको नयाँ स्वरूप देखिएकै अवस्थामा अतिजोखिममा रहेका व्यक्तिलाई पहिलो प्राथमिकता दिई खोप लगाउन थालिएको हो।
इरानको अल्बोर्ज माउन्टेन रेन्जमा आएको हिमपहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ।
अन्तर्राष्ट्रिय मानवीय अभियान द रेड क्रेसेन्टले उक्त क्षेत्रमा हराइरहेकाहरूको खोजीका लागि २० टोली खटाएको जनाएको छ। उनीहरूले १४ जना आरोहीहरूको उद्धार गरेका छन् भने अझै सातजना हराइरहेका छन्।
रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ।