आज 'सरकार संविधान कार्यन्वयन गर्न प्रतिबद्ध भएको प्रधानमन्त्रीको दाबी','दाहाललाई संसदीय दलको नेता बनाउने माधव नेपालको प्रस्ताव पारित', 'संसद् विघटनविरुद्ध असनमा जसपाको प्रदर्श', 'इजरायलमा संसद् विघटन, दुई वर्षमा चौथोपटक निर्वाचन हुँदै' लगायका विषयवस्तुहरूलाई स्थान दिइएको छ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको विघटनले मर्माहत बनाएको भन्दै सम्बद्ध पक्ष संवैधानिक सर्वोच्चताका लागि गम्भीर बन्नुपर्ने बेला आएको बताएका छन्। सरकारले प्रतिनिधिसभा विघटन गर्नु संविधान विपरीत भएको भन्दै सभामुख सापकोटाले सबै राजनीतिक दलहरूलाई एक भएर उच्चस्तरीय सहमति गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधिसभा विघटन गरेर सरकारले असंवैधानिक कदम चालेको र संविधानले संसद् विघटनको कल्पनै नगरेको भनी संविधानविद्हरूले चर्को आलोचना गरिरहेको बेला प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको दाबी गरेका हुन्।
कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा बुधबार केन्द्रीय सदस्य गगन थापाले संसद विघटनविरुद्ध कांग्रेसमा सडकमा उत्रिइहाल्नुपर्ने बताएका छन्। केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य एनपी साउँदले कांग्रेसले सडक संघर्षमा नभई चुनावको तयारीमा जानुपर्ने बताएका थिए।
प्रतिनिधिसभा विघटनको विरोधमा जनता समाजवादी पार्टीले बुधबार काठमाडौंसहित देशभर प्रदर्शन गरेको छ। राजधानीको असनमा प्रदर्शनमा सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका थिए।
५४ जना सचेत बौद्धिक, लेखक, कवि, कलाकार एवं नागरिकहरूको बृहत् नागरिक आन्दोलनले संसद विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भएको बताएको छ।
आफ्नो पक्षको संसदीय दलको नेता चयन भएपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले आफ्नो ध्यान संसदलाई जीवित राख्ने र जनताको अपेक्षा अनुसार काम गर्ने नयाँ सरकार गठन गर्नेतिर हुने बताएका छन् । उनले संसद विघटनको विरोध गर्ने सबै शक्तिसँग सहकार्य गर्दै संसद पुनस्थापति गर्ने पनि बताए ।
नेकपाको पुष्पकमल दाहाल-माधव नेपाल पक्षले अध्यक्ष दाहाललाई पार्टीको संसदीय दलको नेता चयन गरेको छ। पार्टी अध्यक्ष बनेको भोलिपल्ट माधव नेपालले बुधबार गरेको प्रस्तावलाई संसदीय दलको बैठकले सर्वसम्मतिले पारित गरेको हो।
नेकपा (दाहाल-नेपाल पक्ष)का अध्यक्ष माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको अन्तरिम विधान बमोजिम कारबाही गरिएको भन्दै गल्ती स्वीकार गरेर माफी मागेमा पार्टीमा स्वागत गरिने बताएका छन्।
प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले आधिकारिक जिकिर गर्दैै आएको नेकपाको साधारण सदस्यबाट अझै केही दिन नहटाउने भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आजभोलि साबिकको तुलनामा चहलपहल बढेको छ। को व्यक्ति कति कामका लागि आउजाउ गर्छन् भन्नेबारे मन्त्रालयको सूचना शाखामा खटिएका कर्मचारीलाई समेत थाहा हुँदैन।
दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रोपटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ। यहाँको सरकारले अबदेखि सार्वजनिकस्थलमा एकैपटक चारजनाभन्दा बढी भेला हुन नपाउने नियम लागु गरेको छ।
मध्य फ्रान्सको पुये–डी–डोममा बुधबार गोली प्रहार गरी तीन प्रहरीको हत्या गरिएको छ। प्रहरीका अनुसार स्थानीयबासीको झगडा साम्य पार्न खटिएका प्रहरीमाथि गोली प्रहार गरिएको थियो।
प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सत्तारुढ गठबन्धन सरकारले संसद विघटन गरेसँगइ देशमा दुई वर्षभित्र चौथो पटक चुनाव हुने भएको छ। देशको संसदले बजेट पारित गर्ने समयसीमा पूरा गर्न नसकेपछि मङ्गलबार इजरायलको संसद भंग गरिएको हो।
न्युयोर्कस्थित कार्यालय रहेको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) का अनुसार सन् २०२० मा विश्वभर कम्तीमा २१ जना पत्रकारले कामको सिलसिलामा ज्यान गुमाएका छन्। यसअघि सन् २०१९ मा यसरी नै ज्यान गुमाउने पत्रकार १० जना थिए।