आज 'प्रतिनिधिसभा विघटन संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको निष्कर्ष', 'संसद् विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट दायर', 'सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएपछि प्रतिनिधिसभा विघटन भएको प्रधानमन्त्रीको दाबी', 'कुलपति र सहकुलपतिविना त्रिविको ४६औँ दीक्षान्त समारोह', 'अहिलेभन्दा तीव्र फैलन सक्ने कोरोनाबारे बुझ्दैछ डब्लूएचओ' लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।
प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी र अलोकतान्त्रिक कदम भएको तीन दलको बैठकले निष्कर्ष निकालेको छ। नेपाली कांग्रेससहित ओली इतर नेकपा र जनता समाजवादी पार्टीको संयुक्त बैठकले प्रतिनिधिसभा विघटनको घोषणा संविधान विरोधी भएको निष्कर्ष निकालेको हो। त्यस्तै तीन दलीय बैठकले सरकारकाे निर्णयकाे प्रतिवाद गर्ने समेत बताएकाे छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल समूहका सांसदहरूले बानेश्वरमा गरेको भेलाले संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष गर्ने निर्णय गरेको छ। त्यस्तै भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई अस्वीकार गरेको घोषणा समेत गरेको छ।
संसद् विघटनको विरोधमा सर्वोच्च अदालतमा ११ वटा रिट दायर भएका छन्। संवैधानिक इजलासतर्फ एउटा र साधारण इजलासतर्फ १० वटा रिट दायर भएका हुन्। यस्तै संसद् विघटनको निर्णय प्रधानमन्त्रीले अविश्वासको प्रस्तावको सामना गर्नुपर्ला र पदच्युत भइएला भन्ने दुराशय राखी सिफारिस गरिएको पनि रिटमा उल्लेख छ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीमाथिको कारबाहीबारे निर्वाचन आयोगमा जानकारी दिएको छ। आइतबार स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही सिफारिस गरेको थियो। निर्णयबारे स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले सोमबार दिउँसो आयोग पुगेर जानकारी गराएका थिए।
संसद विघटनविरुद्ध जनता समाजवादी पार्टीले पुस ८ गते देशव्यापी प्रदर्शन गर्ने भएको छ। जसपाले थप संघर्षका कार्यक्रम र भावी रणनीति तय गर्न पुस ७ गते केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रूपले गलत रहेको बताएका छन् । मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दु:खी र मर्माहत बनेको उनले सुनाए।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घेराबन्दीमा पारिएकाले प्रतिनिधिसभा विघटन गरिएको बताएका छन्। देशवासीका नाममा सम्बोधन गर्दै सरकारले गरेका कतिपय प्रस्तावमाथि संसद्मा छलफल गर्न पनि नदिइएकाले प्रतिनिधिसभा विघटन गरिएको दाबी गरेका हुन्।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिनिधिसभा विघटनको पछिल्लो कदमले पार्टी एकतालाई कुनै असर नपर्ने बताएका छन्। दाहालले आइतबार बसेको पार्टी स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीले चालेको स्वेच्छाचारी कदमको भर्त्सना गर्दै त्यसलाई पूर्ण रूपमा अस्वीकार गर्ने र उनलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको पनि जनाएका छन्।
नेकपाका अध्यक्ष केपी शर्मा ओलीनिकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेंसीसहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृति भवन) को अध्यक्ष र सचिवको कार्यकक्षमा ताला लगाएका छन्।
पार्टीको आन्तरिक विवादमा छुट्टै अस्तित्व र पहिचान बनाउने प्रयासस्वरूप नेकपामा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापाले निकट नेताहरुको भेला गरेका छन्। यो समूहले नेकपाको केन्द्रीय कमिटीमा आफूहरूको करिब ४० सदस्य रहेको दाबी गर्दै आएको छ। बादल समूहले सरकारकाे कदम प्रतिगामी भएकाे निष्कर्षसमेत निकालेकाे छ। त्यस्तै समूहका अधिकांश सदस्यले गृहमन्त्री थापालाई ओली गुटमा लागे आफूहरूले सहयाेग नगर्ने बताएका छन्।
प्रतिनिधिसभा विघटन गर्ने सरकारी कदमको विरोध गर्दै सोमबार प्रदर्शनमा उत्रिएका अधिकारकर्मी र एवं नागरिक अगुवाहरूलाई प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिणी गेटमा विरोध प्रदर्शन गरेका उनीहरूलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुर्याइएको छ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अन्ततः विभाजनको बाटो पहिल्याएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद् विघटनको सिफारिस गरेसँगै विभाजनको बाटो तताए पनि मङ्गलबार त्यसले औपचारिकता पाउन लागेको हो।
राजनीतिक प्रतिकूलताका कारण त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री र सहकुलपति शिक्षामन्त्रीको सहभागिताविना ४६औँ दीक्षान्त समारोह सम्पन्न भएको छ। त्रिविको ४६औँ दीक्षान्त समारोहबाट ५६ हजार ७ सय १३ विद्यार्थी दीक्षित भएका छन्। तर, समारोहमा भने त्रिविले ८३ विद्यार्थीलाई मात्र निम्ता गरेको थियो।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको साक्षी बन्न कुनै गुटको भेलामा नजाने बताएका छन्। आफू अझै एकताको पक्षमा र संसद भंगको विरुद्धमा रहेको बताउँदै गौतमले गुट भेलामा नजाने बताएका हुन्।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको प्रतिनिधि सभा विघटनको विषयमा नेपाल बार एसोसिएसन विभाजित भएको छ। बारका महासचिवले विज्ञप्ति निकाल्दै प्रधानमन्त्री ओलीको कदमबाट संविधानको उल्लंघन भएको बताएका छन् भने लगत्तै बारका कोषाध्यक्षले विज्ञप्ति व्यक्तिगत भएको बताउँदै उक्त विज्ञप्तिसँग केन्द्रीय सचिवालय तथा केन्द्रीय कार्यसमिति सहमत नरहेको बताएका छन्।
एक वर्ष नियन्त्रणको प्रयास बाबजुद यमन र पूर्वी अफ्रिकी क्षेत्रमा दोस्रो लहरको सलह प्रकोप आउन सक्ने संयुक्त राष्ट्र संघले चेतावनी दिएको छ। जसले लाखौँ मानिसको जनजीवन प्रभावित गर्न सक्ने बताइएको छ।
विश्व स्वास्थ्य संगठन, डब्लूएचओले यसअघि बेलायती अधिकारीहरुले खबर गरेको नयाँ रूपान्तरित कोरोना भाइरसको उत्पत्तिबारे बुझ्न बेलायतसँग नजिकी सम्पर्कमा रहेको जनाएको छ। यो नयाँ रूपान्तरित भाइरस सुरुवाती भाइरसभन्दा धेरै तीव्रसाथ फैलन सक्ने बताइएको छ तर त्योभन्दा खतरनाक चाहिँ नभएको विश्वास गरिएको छ।
संयुक्त राज्य अमेरिकामा हालसालै गरिएको साइबर हमलामा कुनै पनि भूमिका रहेको भन्ने भनाइलाई रूसले अस्वीकार गरेको छ। महत्वपूर्ण साइबर आक्रमणमा रूसको हात रहेको अमेरिकी आरोप प्रमाणहीन रहेको रूसको दाबी छ।
अफगानिस्तानमा सडक किनारमा रहेको दुई ओटा बम विस्फोटमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ। यस विस्फोटमा मारिएका यी व्यक्तिहरुमा राजमार्ग प्रहरी प्रमुखलगायत सात जना रहेका छन्।