भदौ २९, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा आयोजित गोष्टिमा वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड महामारीबाट पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो संकट परेको र यसलाई समाधान गर्न सबै पक्षको सहकार्य जरुरी हुने बताए ।
उनले पर्यटन क्षेत्र चाँडै नै लयमा फर्कने बताउँदै यसका लागि पूर्वतयारी स्वरुप गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने धारणा राखे ।
उनले उद्योग वाणिज्य महासंघको तर्फबाट गौतम बुद्ध विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा आउनुपर्छ भनेर सरकारसमक्ष आग्रह गरिरहेको भन्दै पर्यटन क्षेत्र अहिले सुस्त छ भनेर हात बाँधेर बस्ने अवस्था नरहेको बताए ।
उनले लुम्बिनी पर्यटनको अथाह सम्भावना भएको क्षेत्र रहेको र लुम्बिनी क्षेत्रका व्यवसायीले मुलुकका अन्य क्षेत्रमा रचनात्मक कार्यक्रम आयोजना गर्न सकेमा लुम्बिनीको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने धारणा राखे ।
उनले निजी क्षेत्रलाई रोजगारी सृजना गर्ने, लगानी गर्ने क्षेत्रका रुपमा सम्मान दिनका लागि निजी क्षेत्रको एकतावद्ध आवाज बनाउनुपर्नेमा जोड दिए ।
बजेट, मौद्रिक नीति तथा कर सम्बन्धी नीतिमा हाल निजी क्षेत्रको सुझाव समेटिन शुरु भएको स्मरण गर्दै यसमा अझै अपुग रहेको उनको भनाइ छ ।