आज '२०२१ आन्तरिक भ्रमण वर्ष स्वरूप मनाइने', 'टीकापुर घटनाको फैसला राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको थरुवाटको भनाइ', 'उद्योगमन्त्री भट्ट, मन्त्री त्रिपाठी र नेता पौडेल पुगे आन्दोलनरत किसान माझ', 'स्वास्थ्य सामग्री खरिद प्रक्रियामा आफ्नो संलग्नता नरहेको स्वास्थ्यमन्त्रीको जिकिर', 'बेलायतले अक्सफोर्डलाई चाँडै मान्यता दिने' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आलोचना गरेका छन्। बालुवाटारमा भएकाे भेटका क्रममा कार्यकारी अध्यक्ष दाहालले ओलीबाट पटक-पटक धाेका भएको गुनासो पोखेका थिए।
थरूहट–थारूवान राष्ट्रिय मोर्चा कैलालीले टीकापुर घटनाको मुद्दामा उच्च अदालत दिपायलले गरेको फैसला राजनीतिक रूपमा पूर्वाग्रही भएको आरोप लगाएको छ। कैलालीको टीकापुरमा थरूहट राज्यको माग गर्दै २०७२ भदौ ७ गते भएको आन्दोलनका क्रममा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सातजना सुरक्षाकर्मी र एक नाबालक मारिएका थिए। उक्त घटनामा संलग्न भएकाे भन्दै ५८ जनामाथि मुद्दा चलाइएकोमा २७ जना पक्राउ परेका थिए।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता एकसाथ आन्दोलनरत उखु किसानहरूलाई भेट्न माइतीघर मण्डला पुगेका छन्। भोलि शनिबार बैंक खोल्न लगाएर भए पनि पैसा पठाउने र भोलि नै किसानको हात–हातमा पैसा पर्ने उद्योगमन्त्रीले उद्घोष गरेका छन्।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलनरत उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। उनले किसानलाई धेरै दुःख नदिई उनीहरूका माग पूरा हुने वातावरण तयार गर्न र ठगी गर्नेलाई कारबाही गर्न सरकारसँग माग समेत गरेका छन्।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र विवाद चुलिएको वेला कुनै पनि भेलामा नजाने स्पष्ट पारेका छन्। यद्यपि पाँच नेताको बैठकमा भने जाने र बैठकबाट नै समस्याको समाधान खोज्नुपर्ने पक्षमा आफू रहेकाे गौतमले बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य सामग्री खरिदमा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन्। कोरोना रोकथामको लागि गरिएको औषधि तथा उपकरण खरिद प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिले मन्त्री ढकाललाई बोलाएर विभिन्न ९ वटा प्रश्नहरू सोधेको थियो।
सरकारले सन् २०२१ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रूपमा मनाउने बताएको छ। कोरोनाका कारण विदेशी पर्यटकहरूको आगमन भइहाल्ने अवस्था नभएको र हप्तामा दुई दिन बिदा दिने अवधारणा समेत यसैकारण सुरुवात गरिएको समेत सरकारले उल्लेख गरेकाे छ।
कोरोनाका कारण चैत पहिलो सातादेखि बन्द भएका मस्जिद तथा मदरसाहरू खुलेका छन्। केही दिनअघि सरकारले धार्मिक स्थलहरू खाेल्ने निर्णय गरेसँगै दुई दिनअघिदेखि काठमाडौँसहित देशभरका मस्जिदहरूमा नमाज (प्रार्थना) हुन थालेको हो।
गृह मन्त्रालयले १८ जना सहसचिव र उपसचिवको सरुवा गरेको छ। सरुवामा ११ जिल्लाका सिडिओ हेरफेर भएका छन्। गृहमन्त्रीस्तरबाट सिडिओ सरुवाको निर्णय भएको हो।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारको विभिन्न पक्षलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन्। अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन घटाउन तयारी गर्न र कार्यान्वयनमा लैजान निर्देशन दिएका हुन्।
राजसंस्था र हिन्दूराष्ट्रको पुनर्स्थापनाका लागि संघर्षको घोषणा गरेको राप्रपाले ललितपुरमा शुक्रबार प्रदर्शन गरेको छ। कुपन्डोलबाट सुरु भएको मोटरसाइकल र्याली पुल्चोक, जावलाखेल, कुमारीपाटी, मंगलबजार हुँदै लगनखेल पुगेर सभामा परिणत भएको थियो।
बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२० मा प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगितामा उत्कृष्ट तीनमा सीमित भएका छन्। बिहीबार बेलुका भएको बीबीसी वानमा प्रसारित अन्तिम प्रतिस्पर्धामा सन्तोष र अर्का एक प्रतियोगीलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले उपाधि हात पारेका हुन्।
भारतमा आगामी जनवरीदेखि नै कोभिड–१९ विरुद्धको खोप लगाउन सुरु गरिने भएको छ। स्वास्थ्य अधिकारीहरूले अबका केही हप्तामै खोपहरू आपत्कालीन प्रयोगका लागि स्वीकृत हुनसक्ने भएकाले खोप कार्यक्रम छिट्टै सुरु गरिने उल्लेख गरेका छन्।
नाइजेरियाको उत्तरी राज्य कितसिनाबाट करिब एक हप्ताअघि बन्दुकधारीहरूले विद्यालयमा आक्रमण गरी बेपत्ता पारिएका तीन सय ४४ विद्यार्थी मुक्त भएका छन्। उनीहरूको स्वास्थ्य उपचार गरी परिवारको जिम्मा लगाइने बताइएकाे छ।
कोरोना भाइरस (कोभिड–१९) महामारी फैलिएपछि त्यसविरुद्ध धेरै वैज्ञानिक र रिसर्च सेन्टरहरूले भ्याक्सिन निर्माणको काम सुरु गरे। त्यसमध्ये अक्सफोर्ड विश्वविद्यालयले पनि काेराेना खाेपमाथि अनुसन्धान गरिरहेकाे थियाे। प्रतिष्ठित शैक्षिक संस्थामा दर्ज भएकाे याे विश्वविद्यालयकाे खाेपले हालसम्म पनि प्रयाेग अनुमति पाएकाे छैन।