आज 'नेकपा हलचल : अध्यादेशले ल्याएको बबण्डर', 'काठमाडौँ महानगरभित्रका विद्यालय तत्काल नखुल्ने', 'चार सुगर मिल सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउन पक्राउ पुर्जी जारी', 'राप्रपाले हिन्दूराष्ट्रका लागि देशभर प्रदर्शन गर्ने', 'पेरुमा ट्रायल स्थगित गरिएको चिनियाँ खोप बहराइनमा स्वीकृत' लागायका विषयवस्तुहरू समावेश गरिएका छन्।
चौतर्फी आलोचनापछि प्रधानमन्त्री केपी ओली हिजो(मंगलबार) जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन सहमत भएका छन्। नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा पार्टी नेताहरूसँगको छलफलपछि ओली अध्यादेश फिर्ता गर्न तयार भएका हुन्।
कोभिड १९ बाट प्रभावित व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसकेमा आगामी असार मसान्तसम्म कालोसूचीमा नपर्ने भएका छन्। मौद्रिक नीतिको त्रैमासिक समीक्षामा गरिएकाे व्यवस्थाअनुसार निर्देशिका संशोधन भएकाे हाे।
सर्लाहीमा जीर्ण रहेको हुलाकी सडक स्तरोन्नती र नेपाल–भारत सीमा नाका खुलाउनु पर्ने माग राख्दै सर्वपक्षीय संघर्ष समितिले जिल्ला बन्दसहित सदरमुकाम मलंगवामा प्रदर्शन गरेको छ।
सहिद चोकबाट सुरु भएको प्रदर्शन मलंगवा नगर परिक्रमा गरी कोण सभामा परिणत भएको थियो। प्रदर्शनमा संघीय सांसद, प्रदेश सांसद र पालिका प्रमुखहरूसमेत सहभागी रहेका थिए।
कोभिड-१९ का कारण लामो समयदेखि बन्द रहेका काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन्। काठमाडौँ महानगरपालिका शिक्षा विभागले आज जिल्ला विपद् व्यवस्थापन केन्द्रका पदाधिकारी, विज्ञ र जिल्लाका सुरक्षा निकाय प्रमुखहरूसँग गरेको छलफलपछि महानगरपालिका यस्तो निष्कर्षमा पुगेको हो।
यसैबीच भक्तपुर नगरपालिकाले पनि पाैष १ अर्थात् आजदेखि सबै स्वास्थ्य मापदण्ड पूरा गरी विद्यालय खोल्न निर्देशन दिएको छ।
कोरोना महामारीको कारण करिब १० महिनादेखि बन्द रहेको हुम्लाको हिल्सा र लाप्चा नाका आइतबार एक दिनको लागि खुलेर पुनः बन्द भएको छ।
तिब्बतसँग नाका जोडिएको नाम्खा गाउँपालिकाका करिब ९ सय घरधुरीका ४ हजार ५ सय बासिन्दा चिनियाँ बजारमा निर्भर छन्। उनीहरू हिउँदका लागि तिब्बतको ताक्लाकोट गएर चामल, पिठोलगायत दैनिक बन्दोबस्तीका सामान ल्याउने गर्छन्।
जननिवार्चित सरकारलाई सैन्यशक्तिकाे बलमा अपदस्त गरेकाे सम्झनामास्वरूप आजकाे दिनलाई कालाे दिवसका रूपमा मनाइएकाे छ।
उखु किसानको बक्यौता रकम भुक्तानी नदिने चार सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाही, रौतहट र पश्चिम नवलपरासीले आरोपितको खोजी गर्न महानगरीय अपराध महाशाखालाई पनि पत्राचार गरिएकाे छ।
कोरोना महामारीका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ का खेलको नयाँ मिति सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले तय गरेको नयाँ मितिअनुसार नेपालले आगामी मार्चदेखि २०२३ को फेब्रुअरीसम्ममा ८ वटा सिरिज खेल्ने तय भएको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ पुसमा ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत हिन्दूराष्ट्र र राजसंस्थाका लागि नेपाल सरकारसमक्ष ज्ञापनपत्र बुझाउने भएको छ। अध्यक्ष कमल थापाले बोलाएको पार्टी केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले यो निर्णय गरेको हो।
बेलायतमा कोभिड–१९ को नयाँ रूप देखिएको खबर बाहिरिएसँगै थप चिन्ता बढेको बताइएको छ।
बेलायतका ६० वटा स्थानीय निकायहरूले नयाँ भाइरसको रेकर्ड राखेका छन् भने इंग्ल्यान्डको दक्षिण क्षेत्रमा मात्र एक हजारभन्दा बढी नयाँ केस पाइएका छन्।
चिनियाँ राष्ट्रिय फर्मा कम्पनी, साइनोफ्रामले निर्माण गरेको कोभिड विरुद्धको खोपलाई बहराइनले स्वीकृती दिंदै नागरिकहरुलाई यो खोप लिनका लागि अनलाइन आवेदन पनि खुलाइसकेको छ।
पेरु सरकारले चाहिँ शनिबार यही कम्पनीको खोप ट्रायलमा समस्या देखिएको बताउँदै स्थागित गरिएको उल्लेख गरेकाे थियाे।