आज 'कांग्रेसको गर्जन : सरकार नसच्चिए सडक छाड्देनौं', 'भुक्तानी माग्दै सोमबार पनि काठमाडौंमा उखु किसानको प्रदर्शन, 'नेपाल चलचित्र संघद्वारा हल खोल्ने स्वघोषणा', 'विद्यालयमा आक्रमण गरी ३०० भन्दा बढी विद्यार्थीको अपहरण', 'ब्रेक्जिट वार्तामा जुटेन सहमति' लगायतका विषयवस्तुहरूलाई स्थान दिइएको छ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी विराेध प्रदर्शन गरेकाे छ। प्रदर्शनले सरकार र उसको सर्वसत्तावादी प्रवृत्तिविरुद्ध जनमत प्रकट भएको कांग्रेसले बताएको छ। सरकारको गलत अभ्यासका कारण आफूहरू सडकमा आउनुपरेको कांग्रेसकाे कथन छ।
उखुको भुक्तानी माग्दै नवलपरासी र मध्य मधेशका किसानहरुको प्रदर्शनको आज दोस्रो दिन हो। माइतीघर मण्डलामा उखु किसानहरूले गत वर्ष पुस १८ गते सरकारसँग भएको सम्झौता पालना हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।
आफ्नो उब्जनीको मूल्य माग गर्दै धर्ना बसेका किसानहरूबीच चिरपरिचित अनुहार लोक गायक बद्री पंगेनी पनि देखिएका थिए।
‘उखु लग्यो मालिकले चिनी बनाई बेच्यो, किसानको पसिना कसले खिच्यो खिच्यो ।’
‘किसान मार्न पाइँदैन, यो नियम चाहिँदैन…।’ लगायतका गीतहरू उनले गाएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले असन्तुष्टि जनाएका छन्।
अनौपचारिक छलफल र सहमतिको कोसिसका लागि तीन दिन स्थायी कमिटी बैठक बोलाएर आफूहरू लचिलो भएकै बेला प्रधानमन्त्री ओलीले एकतर्फी रूपमा मंगलबार परिषद्को बैठक बोलाएर विवाद बढाउने काम गरेको दाहाल–नेपाल समूहको भनाइ छ।
विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा उनलाई अदालतले थुनामा पठाउने निर्णय गरेकाे हाे। अख्तियारले बन्स्यातसँग ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गरेको छ भने १३ वर्षको कैद सजाय हुने देखिन्छ।
नेपाल चलचित्र संघले काेभिडका कारण बन्द भएका फ्लिम हलहरू खाेल्ने घाेषणा गरेकाे छ। सरकारले काेराेना संक्रमणका कारण भिडभाड हुने ठाउँहरू नखाेलेकाे अवस्थामा उनीहरूले यस्ताे घाेषणा गरेका हुन्।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले देशको राजनीतिक प्रणाली स्थानीय तहको भूमिकामा निर्भर रहेको उल्लेख गरेका छन्। कोभिडको समयमा स्थानीय तहले गरेको कामकारबाहीबाट नै संघीयताकाे औचित्य पुष्टि भएकाे बताउँदै उनले संविधानले स्थानीय तहलाई असाधारण अधिकार दिएको समेत उल्लेख गरेका छन्।
अधिकांश चेपाङ परिवारसँग पुस्तौँदेखि बसेको जग्गाको लालपुर्जा पाउने टुंगो नभए पनि उनीहरूले चिउरीका रूखको भने पुर्जा पाउने भएका छन्। वाग्मती प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले चेपाङ समुदायलाई चिउरीका रूखको पुर्जा दिने भएको हो।
पूर्वसांसद सरिता गिरीले आफूलाई चीनको इसारामा सांसद पदबाट हटाएको आरोप लगाएकी छन्। उनले आफूलाई हटाउने विषयमा सत्तारुढ नेकपा र आफ्नो पार्टी जनता समाजवादी मिलेको आरोप समेत लगाएकी छन्। त्यस्तै उनले आफूलाई पदबाट हटाएपछि चिनियाँ राजदूत र समाजवादी पार्टीका नेताहरूले खुसियाली पार्टी गरेकाे बताएकी छन्।
नौ महिनासम्म भक्तजनका लागि बन्द गरिएकाे पशुपतिनाथ मन्दिर बन्द मंगलबार बिहान क्षमा पूजा सहित पुनः खाेलिने भएको छ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गर्न लागिएको मन्दिर व्यवस्थापनले जनाएकाे छ।
नेपाल सरकारले आफ्ना मागहरू पूरा नगरेको भन्दै नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले चरणबद्ध रूपमा आन्दोलन गर्ने चेतावनी दिएको छ।
मंसिर ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष स्वास्थ्यकर्मी तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियन संघ संगठनहरूले संयुक्तरूपमा १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा उनीहरूले माग पूरा गर्न २१ दिने अल्टिमेटम दिएको थिए।
नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरूले गरेको आक्रमणका कारण कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका छन्। नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा सो हमला भएको हो।
बहराइनले चीनमा बनेको कोरोना भाइरसविरुद्धको खोपको प्रयोगका लागि स्वीकृति दिएको छ। चाइना नेसनल फर्मास्युटिकल ग्रुप(सिनोफार्म) ले बनाएको कोरोना खोपको प्रयोगका लागि बहराइनले आफ्ना नागरिकलाई अनलाइन रजिस्ट्रेसन गर्नसमेत आह्वान गरेको छ।
युरोपेली संघबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) पछि दुई पक्षबीच हुने व्यापार सम्झौतालगायत विषयमा सहमति खोज्ने प्रयास विफल भएको छ ।
बेलायत गतवर्षको जनवरी ३१ मा ईयूबाट अलग्गिइसके पनि डिसेम्बर ३१ सम्म संक्रमणकालिन अवधिमा पुरानै नियम कानुन लागू हुने व्यवस्था छ ।