आज ' सामग्री खरिद प्रक्रिया प्रकरण : लेखा समितिले स्वास्थ्य मन्त्रीलाई छलफल गर्न बोलाउने', '१७ बालुवा प्रशोधन केन्द्र सिल', 'ब्रिटिस र सिंगापुर भर्तीका निम्ति अन्तिम प्रतिस्पर्धामा ७ सय ७० युवा बोलाइए', 'अझै तीन महिना चालक अनुमतिपत्रका लागि ट्रायल नखुल्ने', 'अफगान सेनाको कारबाहीमा ८ जना तालिबानी लडाकू मारिए' लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएका अनियमितताका बारेमा छलफल गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई बोलाउने भएको छ।
कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका निकाय र नेपाली सेना मार्फत स्वास्थ्य सामग्री ल्याउँदा भएका अनियमितताका विषयमा समितिले स्वास्थ्य मन्त्री ढकालसँग छलफल गर्ने भएको हो । त्यसका लागि आगामी बैठकमा स्वास्थ्य मन्त्री ढकाललाई बोलाउने तयारी भइरहेको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताए ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले सरकार जनताप्रति उत्तरदायी भएको स्पष्ट पार्नका लागि संसदीय समितिले दिएका निर्देशन पालना गर्नुपर्ने बताएकी छन्।
राज्यव्यवस्था समितिले बुधबार दिएको निर्देशन विपरीत सरकारले बिहीबार प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेपछि श्रेष्ठको यस्तो प्रतिक्रिया आएको हो ।
थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परी ६ जना घाइते भएका छन्।
मापदण्डविपरीत सञ्चालनमा रहेका पूर्वी नवलपरासीका १७ वटा बालुवा प्रशोधन केन्द्र सिल गरिएको छ । प्रमुख जिल्ला अधिकारी नेतृत्वको अनुगमन टोलीले विनयी त्रिवेणी गाउँपालिकामा दर्ताबिनै सञ्चालनमा रहेका प्रशोधन केन्द्रलाई बिहीबार सिल गरेको हो ।
बन्गाड–कुपिन्डे नगरपालिकाको सल्लीबजारदेखि पश्चिम रुकुमको चौरजहारी जोड्ने सडक खनिएको १८ वर्ष भयो । नेपाली सेनाद्वारा खनिएको सडक स्तरोन्नतिका लागि भन्दै सरकारले थप २० करोडभन्दा बढी खर्च गरिसकेको छ । अहिले पनि १२ करोडबराबरको काम भइरहेको छ । तर सडकको अवस्था झन्–झन् दयनीय बन्दै गइरहेको छ।
मुगुमकार्मारोङ गाउँपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा जाडो बिदा नदिने भएको छ । कोरोना महामारीका कारण बन्द विद्यालय झण्डै ८ महिनापछि खुलेकाले जाडो बिदा नदिने निर्णय गरिएको हो । गाउँपालिकाका विद्यालयहरु मंसिर १८ गतेदेखि संचालनमा आएका छन् । गाउँपालिकामा १८ सामुदायिक विद्यालय छन् ।
धरानस्थित कृषि उपज बजारमा शुक्रबारदेखि शित भण्डार (चिस्यान केन्द्र) संचालनमा आएको छ । कोसी करिडोरका पूर्वी पहाडी र तराईका जिल्लामा उत्पादित फलफूल, तरकारीको सबैभन्दा ठूलो थोक विक्रेता केन्द्र भएर पनि यसअघि शित भण्डारको व्यवस्था थिएन ।
लोकसेवा तयारी कक्षा र विभिन्न हाजिरीजवाफ कार्यक्रममा प्रायः सोधिने प्रश्न होः विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? प्रश्नको उत्तर होः होटल एभरेस्ट भ्यू, नेपाल ।
सगरमाथालगायतका हिमालचुलीहरु आँखै अगाडि उभिएको देख्न सकिने सोलुखुम्बुको यो होटललाइ ले समेत सूचीकृत गरेको छ । सन् २००४ मा समुद्र सतहबाट सबैभन्दा अग्लो स्थानमा रहेको होटल भनेर एभरेस्ट होटल सूचीकृत भएको हो ।
बेलायत सरकारले ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धामा बोलाएको छ ।
ब्रिटिस आर्मी मुख्यालयले वेबसाइट आर्मी डट एमओडी डट युकेमा रेक्रुट इन्टक/आरआई–२०२१ का निम्ति बिहीबार (१० डिसेम्बर) नामावलीसहित बोलाएको हो ।
त्यसरी बोलाइएका युवाहरूमा मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत ५६ जिल्लाका छन् ।
काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले चुनावमा जनतासमक्ष प्रतिबद्धता जनाएका केही परियोजनाहरु सुरु गर्न नसकेको स्वीकार गरेका छन् ।
मेयर शाक्यले काठमाडौं महानगरपालिकाको आफ्नै भवन, चक्रपथमा मोनोरेल, तीनकुनेमा बनाउने भनिएको बुद्धपार्क, अन्तर्राष्ट्रिय स्तरको मेगा हल लगायतका परियोजना सुरु गर्न समेत नसकिएको बताए ।
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल सधैँ एउटा कटु टिप्पणी गर्छन्– केपी ओली जति सफेद झुट बोल्ने मानिस पार्टीभित्र दोस्रो छैन । त्यसका लागि नेता नेपाल ओली नेतृत्वको पहिलो सरकार ढल्दाताकाको उदाहरण प्रस्तुत गर्छन् ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई कोरोना संक्रमण भएको छ । पारसले शुक्रबार आफूलाई कोरोना भाइरसको संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीले दशरथ रंगशालामा खेल्ने कतारमा हुने फिफा विश्वकप २०२२ को छनोट चरण अन्तर्गत समूह चरणको बाँकी खेलहरुको खेल तालिका सार्वजनिक भएको छ । एसियाली फुटबल महासंघ (एएफसी) ले खेल तालिका सार्वजनिक गरेको हो । कोरोना भाइरसको कारण लामो समय सरेको खेल तालिका पुनः सार्वजनिक भएको हो ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीननबचि भेटवार्ता भएको छ । अर्थमन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड १९ महामारीको नियन्त्रणलगायत विषयमा छलफल भएको छ ।
सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) अझै तीन महिना नखुल्ने भएको छ।
जाडो महिनाभरि कोरोना भाइरसको जोखिम उच्च रहने भएकाले अझै तीन महिना अनुमतिपत्र (ट्रायल) नखोल्न आन्तरिक छलफल भएको यातायात व्यवस्था विभागले जनाएको हो।
ब्रसेल्स । युरोपेली युनियनका नेताहरु सन् २०३० सम्ममा ५५ प्रतिशत हरितगृह ग्यास उत्सर्जन कटौती गर्न सहमत भएका छन् । युनियनको मुख्यालयमा भएको रातभरको वार्तापछि उक्त सहमति भएको हो ।
अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सेनाले गरेको हवाई कारबाहीमा कम्तीमा आठ जना तालिबानी मारिएका छन् ।
ती तालिबानीहरु लुकेर बसेको सूचनाका आधारमा गरिएको कारबाहीमा अरु चारजना घाइते भएका यहाँको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकी विज्ञहरूले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड– १९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड– १९ को खोप व्यापक रूपमा लगाउने बाटो खुलेको छ ।
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले विपक्षीहरूले लाहोरमा निकाल्ने भनेको जुलुस हालका लागि रोक्न आग्रह गरेका छन् ।
उनले पाकिस्तानमा कोभिड– १९ को असर अझै धेरै मात्रामा देखिएकोले ठूलो संख्यामा जुलुस ननिकाल्न आग्रह गरेका हुन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ संसद् भवनको शिलान्यास गरेका छन् । नयाँ संसद् भवन हाल रहेको संसद् भवननजिकै बन्ने छ । नयाँ भवन त्रिकोण आकारको डिजाइनमा बनाइँदै छ । पुरानो भवन भने वृत्ताकारको छ ।