यस हप्ता बोकोहरामद्वारा ४३ जना किसानको घाँटी रेटेर हत्या, बाइडेन प्रशासनको नालीबेली, कोरोना खोपको प्रभावकारिता बढेको राष्ट्रहरूको दाबी, शताब्दीकै महान् खेलाडी डिएगो म्याराडोनाको निधन र विचलित फुटबल जगत लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।
बेलायती औषधि निर्माता अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरिरहेको कोभिड– १९ को खोपले औसतमा ७० प्रतिशत मात्र सफल भएको जनाएको छ । सुरुमा निकै उत्साहजनक नतिजा ल्याएको भन्दै प्रचारप्रसार गरिएको यस खोपको तेस्रो चरणको परीक्षणको तथ्यांक विश्लेषण गर्दा यस्तो भेटिएको हो ।
नाजेरियाको एक मस्जिदमा बन्दुकधारीहरूले आक्रमण गरी पाँचजनाको हत्या गरेका छन् भने १८ जनालाई अपहरण गरी लगेका छन् । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीले आक्रमण गरेको प्रहरीले आइतबार पुष्टि गरेको हो ।
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनले अमेरिकी विदेशमन्त्रीमा आफ्ना सल्लाहकार सहयोगी एन्टोनी ब्लिन्केनलाई मनोनयन गर्ने सम्भावना रहेको छ । बाइडेननिकट स्रोतले ५८ वर्षीय ब्लिन्केनलाई विदेशमन्त्रीमा मनोनयन गर्ने सम्भावना रहेको बताएका छन् ।
रियल सोसिडाडले स्पेनिस ला लिगा फुटबलमा साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियल सोसिडाडले साँघुरो जित निकालेको हो ।
सोसिडाडले काडिजलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण गर्न सघाउने संकेत दिएका छन् । राष्ट्रपति ट्रम्पले बाइडेनको संक्रमणकालीन टिमसँग सहकार्य सुरु गर्ने संकेत दिएका हुन् । राष्ट्रपति ट्रम्पले अझै पनि औपचारिक रुपमा हार भने स्वीकार गरेका छैनन् ।
चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुवै मुलुक एवं जनताले लाभ लिन सक्ने बताएका छन् ।
अमेरिकी नागरिकहरूले कोभिड–१९ विरुद्धको खोप पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन् । अमेरिकाको कोभिडविरुद्धको खोप कार्यक्रमका प्रमुख डा. मोन्सेफ स्लावीले सीएनएनसँग उक्त कुरा बताएका हुन् ।
सुरक्षाको निहुँमा चिनियाँ कम्पनीमाथि भेदभावपूर्ण व्यवहार गरिएको भन्दै चीनले त्यस्ता कदमहरू तत्काल सच्याउन भारतसमक्ष अपिल गरेको छ । साथै, यस्तै भेदभाव जारी रहे चीन-भारत आपसी सहयोगमा समेत ठूलो क्षति पुग्नसक्ने चेतावनी पनि चीनले दिएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘फिफा दी बेस्ट’ अवार्डको मनोनयन सार्वजनिक गरेको छ । फिफाले सार्वजनिक गरेको मनोनयनको पुरुषतर्फ बार्सिलोनाका कप्तान लियोनल मेस्सी र स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोसहित ११ खेलाडी परेका छन् ।
भारतीय कांग्रेसका वरिष्ठ नेता अहमद पटेलको बुधबार बिहान निधन भएको छ । उनका छोरा फैसल पटेलले ट्वीटमार्फत बुवाको निधन बुधबार बिहान साढे ३ बजे भएको बताएका छन् ।
भारत सरकारले सपिङसम्बन्धी वेबसाइट अली एक्सप्रेससहित ४३ वटा चिनियाँ एप प्रयोगमा प्रतिबन्ध लगाएको छ । भारतको सूचना प्रविधि मन्त्रालयले ती एपहरु सूचना प्रविधि ऐनको प्रावधानअनुसार भारतमा प्रतिबन्ध लगाइएको मंगलबार जनाएको हो ।
पूर्वअमेरिकी राज्यसचिव जोन केरीलाई विशेष वातावरणदूतका रुपमा नियुक्त गर्ने राष्ट्रपति निर्वाचित बाइडेनको टोलीले जानकारी दिएको छ । सोमबार बाइडेनको टोलीले शीर्ष पद नियुक्तिका लागि सार्वजनिक गरेका व्यक्तिहरुमा केरीको नाम पनि आएको हो । यस निर्णयले जलवायु परिवर्तनको विषयमा अमेरिकाको भूमिका वृद्धि गर्ने विश्वास गरिएको छ ।
स्यान्टियागोमा महिलावादीहरूले महिला अधिकारको माग गर्दै प्रदर्शन गरेका छन् । स्यान्टियागोको एक प्लाजामा बुधबार ठूलो संख्याका महिला जम्मा भएर महिला हिंसाविरुद्ध नारा लगाएका हुन् ।
टेस्ला कम्पनीका मालिक एलन मस्कले २०२० मा मात्र आफ्नो सम्पत्तिमा १००.३ अर्ब डलर थपेपछि उनले विश्वको सर्वाधिक धनी व्यक्तिहरुमा, माइक्रोसफ्टका बिल गेट्सलाई हराएका छन् ।
४९ वर्षीय मस्कको सम्पत्ति, टेस्लाको सेयरमा भएको ठूलो वृद्धिपश्चात् ७.२. अर्ब डलरबाट बढेर १२७.९ अर्ब डलर पुगेको हो । सोमबारको दिनमा मात्र मस्कको सम्पत्तिमा ७.२ अर्ब थपिएको थियो ।
२०औँ शताब्दीकै महान् खेलाडी डिएगो म्याराडोनाले बुधबार राति अन्तिम सास लिए । सन् १९८० देखि १९९० सम्मका विश्वकप तथा युरोपियन फुटबलमा तहल्का पिटेका म्याराडोनाको निधनले विश्वभरका फुटबलप्रेमीलाई स्तब्ध बनाएको छ । उनको मृत्युपछि अर्जेन्टिनाको राजधानी बुनोस आयर्समा हजारौँ समर्थक सडकमा भावुक हुँदै श्रद्धाञ्जली दिइरहेका छन् । उनीहरू अझै पनि पत्याउन सकिरहेका छैनन् कि ‘फुटबलका भगवान्’ले संसार छाडिसके ।
नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता हस्तान्तरणका लागि राष्ट्रपति कार्यालय ह्वाइटहाउसले गरेको समन्वय इमानदार भएको बताएका छन् । ‘यसका लागि ह्वाइटहाउस अनिच्छुक छैन र मलाई लाग्छ यो त्यस्तो हुने छैन,’ एनबीसी टेलिभिजनसँगको अन्तर्वार्तामा बाइडेनले भने ।
एउटा परेवाको मूल्य कतिसम्म पर्ला ? तपाईं कति रुपैयाँ तिरेर किन्नुहुन्छ ? हजार..., १० हजार... वा सोभन्दा कम ? तर बेल्जियमा भएको एउटा परेवा १९ लाख डलर (भारु १४ करोड) रुपैयाँभन्दा बढी तिरेर किनिएको छ ।
डोनाल्ड ट्रम्पले निर्वाचनमा पराजित भएपछि पहिलोपटक ह्वाइट हाउसबाट बाहिरिन तयार रहेको बताएका छन् । इलेक्टोरल कलेजले डेमोक्रेटका उमेदवार जो बाइडेनलाई औपचारिक रुपमा राष्ट्रपति भएको पक्का गरे आफू पद छाड्न तयार भएको उनले बताएका हुन् । उनले अझैसम्म पनि स्पष्टसँग आफ्नो हार स्वीकारिसकेका छैनन् ।
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोले कोरोना खोप नलगाउने बताएका छन् । बिहीबार साँझ दिएको वक्तव्यमा उनले कोरोना भाइरसविरुद्धको खोप नलगाउने बताएका हुन् । उनले पटक पटक कोरोनाविरुद्धको खोपको प्रभावकारिताबारे प्रश्न उठाउँदै आएका छन् ।
बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेलायतको सरकारले कोरोनो भाइरसको महामारी अन्त्यका लागि बनाएका नियमहरुको पालना गर्न सबै नागरिकसँग आग्रह गरेका छन् ।
उनले बेलायतमा दोस्रो पटक आएको कोरोना भाइरसको वेभबाट बच्नका लागि विभिन्न नियमहरु बनाएको स्मरण गराए ।
राष्ट्रपति भलाद्मीर पुटिनले महिनौँ अगाडि नै, रुसमा निर्मित ‘स्पुतनीक–भी’ लाई विश्वकै पहिलो स्वीकृत कोरोनाविरुद्धको खोप भनि घोषणा गरेका थिए भने आफ्नी छोरीले समेत लगाइसकेको बताएका हुन् । तर उनी आफैँले चाहिँ यो खोप प्रयोग नगर्ने बताइएको छ । ६८ वर्षीय पुटिन पनि कोरोना भाइरसको उच्च जोखिमपूर्ण समुहमा पर्दछन् र रुसमा गत अक्टोबर २८ देखि नै ६० वर्ष भन्दा माथिको उमेरका स्वयमसेवकलाई खोपको ट्रायलमा संलग्न गराइएको थियो ।
। दक्षिण कोरियामा बिहिबार एकैदिन ५८३ नयाँ कोरोना संक्रमितहरु फेला परेका छन् जुन मार्च पछिकै सबैभन्दा उच्च दर भएको बताइएको छ । सामाजिक दुरी लगायत विभिन्न कडाइ अपनाइरहेको भएपनि दक्षिण कोरिया यतिबेला कोरोनाको तेस्रो लहरबाट नराम्ररी प्रभावित भइरहेको छ ।
सुडानका पूर्वप्रधानमन्त्री तथा प्रतिपक्षी दलका वरिष्ठ नेता सादिक अल महदीको बिहीबार मृत्यु भएको छ । ८४ वर्षीय महदीको कोभिड–१९ को संक्रमणका कारण मृत्यु भएको उनको दलले पुष्टि गरेको छ ।
अफगानिस्तानको पश्चिमी प्रान्त वार्डाकमा बन्दुकधारी एक समूहले सडकमा गुडिरहेका गाडी नियन्त्रणमा लिई २८ यात्रुको अपहरण गरेको छ ।
बन्दुकधारी समूहले बुधबार काबुलका लागि छुटेका गाडीलाई जालरिज जिल्लाबाट नियन्त्रणमा लिई यात्रुलाई अपहरण गरेको प्रान्तीय प्रहरी प्रवक्ता हाजी मोहम्मद अफियानीले बिहीबार पुष्टि गरेका हुन् ।
अन्तरिक्षको दृश्य अवस्य पनि व्याख्या गर्नै नसकिने अलौकिक किसिमको हुन्छ । अहिले ‘स्पेस–एक्सको क्रु ड्रागन क्याप्सुल’ मा सवार चार मध्येका एक अन्तरिक्षयात्री भिक्टर ग्लोभरले ट्विटरमा यसै सम्बन्धी एउटा भिडियो पोस्ट गरेका छन् । आफ्नो पहिलो अन्तरिक्ष भ्रमणमा क्याप्सुल बाहिर पृथ्वीको दृश्य कस्तो देखिन्छ भन्ने बताउँदै उनले तस्बिर र भिडियो राखेका हुन् । तीस सेकेन्डको भिडियोलाई ट्वीटरमा २१ लाख भन्दा धेरैपटक हेरिएको छ ।
My first video from space! Looking at the Earth through the window of Dragon Resilience. The scale of detail and sensory inputs made this a breathtaking perspective! pic.twitter.com/n7b5x0XLIp
— Victor Glover (@AstroVicGlover) November 24, 2020
नाइजेरियाको उत्तरपूर्वी माइदुगुरी सहरमा शनिबार विद्रोही समूह बोकोहरामले ४३ जना किसानको हत्या गरेका छन् । धान खेतमा काम गरिरहेका किसानमाथि उनीहरूले आक्रमण गरी हत्या गरेका हुन् । घटनामा ६ जना घाइते भएका छन् ।
सोमालियाको राजधानी सहर मोगादिसुको विमानस्थलमा आत्मघाती हमला भएको छ । सो हमलामा परेर कम्तीमा पनि ६ जनाको ज्यान गएको छ । आत्मघाती हमलाकारीले गरेको हमलामा परी ती नागरिकको ज्यान गएको हो । आक्रमण विमानस्थलनजिकैको एक लोकप्रिय आइसक्रिम पसलनजिकै भएको थियो ।