छोटकरीमा : आज- २०७७ मंसिर ०४, बिहीबार

आज देशभर चिसो बढ्यो, खोसिएकै हो प्रचण्डको कार्यकारी अध्यक्ष, कक्षा १२ को प्रश्नपत्र निर्माण हुँदै, 'फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता', ओबामाको पुस्तक पहिलो दिनमै झन्डै ९ लाख प्रति बिक्यो लगायतका विषयवस्तुहरूलाई समावेश गरिएको छ।



बिहीबार १,४४२ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,१२,९१७ पुगेको छ भने मृत्यु हुनेको संख्या १,२५९ पुगेको छ। हालसम्म नेपालमा १,८२,७८० जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ६,७३१ => Recovered Today: ३,५३८



मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटीएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकहरुको सरल, सहज र समान पहुँच सुनिश्चित गर्दै यातायात क्षेत्रमा लगानी अभिवृद्धि गर्ने र यातायत क्षेत्र सुरक्षित, व्यवस्थित र अपांगता भएका व्यक्ति अनुकुल बनाउने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको हो ।



औषधि व्यवस्था विभाग विराटनगरले मोरङ र सुनसरीका चारवटा उद्योगले उत्पादन गरेको सेनिटाइजर प्रयोगमा रोक लगाएको छ । ती उद्योगका सेनिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने विषाक्त रसायन (मिथानोल) को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि प्रयोगमा रोक लगाइएको हो ।



साझा पार्टीले मुगुको लागि आएको चामल भक्तपुर पठाउने व्यापारीलाई कारबाहीको माग गर्दै प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै साझा पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो ।



कोरोना संक्रमितको संख्या बढेपछि हुम्लाको शैक्षिक सत्र स्थगित भएको छ ।नाम्खा गाउँपालिकाको याल्वाङस्थित महाबौद्ध माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको हो ।



 रुपन्देहीको बुटवलबाट बिहीबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाल्पा जिल्ला इन्चार्ज ४१ वर्षीय पूर्णबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार बिहान बुटवल ७ दीपनगरबाट सिंहसहित पाल्पा जिल्लाका सदस्य मिनबहादुर आलेलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले बताए ।



कान्तिपुरकर्मी गोकर्ण गौतमको बिहीबार निधन भएको छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।



 काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री थियो ।



तेल चोर्न ट्यांकरमा फल्स सिलिङ राख्‍ने वीर बेताल आशीर्वाद कम्पनीलाई नेपाल आयल निगमले १५ लाख रुपैयाँ जरिवाना गराएको छ । चोरी गर्ने मनसायले चेम्बरभित्र पाता वेल्डिङ गरेर अर्को चेम्बर राख्‍ने कम्पनीलाई निगमले तत्कालका लागि सो रकमबराबरको जरिवाना गराएको हो ।



 अघिल्लो वर्ष, आजकै दिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपामा कार्यकारी अध्यक्षको ‘अख्तियारी’ पाएका थिए ।

पार्टी एकतादेखि नै सह-अध्यक्षको भूमिकामा खुम्चनुपरेको भन्दै विस्तीर्ण जिम्मेवारी खोजिरहेका थिए । मङ्सिर ४ गतेको सचिवालय बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई कार्यकारी अध्यक्षमा बढोत्तरी गर्दै उनलाई पार्टी सञ्चालकको जिम्मेवारी दिएको थियो ।



सर्वोच्च अदालतमा एक महिनामा सिफारिस हुनुपर्ने न्यायाधीश महिनौं बित्दा पनि रिक्त छ । न्यायाधीश केदार चालिसे र डम्बरबहादुर शाहीको कार्यकाल सकेर बिदाइ भएपछि रिक्त रहेको ठाउँमा अझै न्यायाधीश नियुक्त हुन सकेको छैन ।



 साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्सेमा उत्साह देखिएको छ । ऐतिहासिक कारोबार भएको दिन बजार परिसूचक नेप्से पनि उच्च अंकले बढेको छ ।

पछिल्लो केही महिनायता लगातार बढिरहेको नेप्सेमा दसैँयता झनै उत्साह देखिएको छ । 



 नेपाल क्रिकेट संघ (क्यान) नेपाल प्रिमियर लिग (एनपीएल) आयोजना गर्ने घोषणा गरेको छ । क्यानको बुधबार भर्चुअल रूपमा सम्पन्न वार्षिक साधारणसभाले कार्यसमितिलाई एनपीएल आयोजना गर्ने स्वीकृति दिएको थियो । तर, एनपीएल आयोजनाका लागि क्यानले एक भारतीय कम्पनीलाई आयोजकको जिम्मा दिने निर्णय गरेको छ । 



 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको सचिवालय समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको बताएका छन् ।

पार्टीको ‘कोर अफ दी लिडरसिप’ का रुपमा मान्यता पाएको सचिवालय आन्तरिक समस्या समाधान गर्नेभन्दा समस्या सिर्जना गर्ने थलोका रुपमा विकास हुँदै गएको पौडेलको भनाइ छ । 



 कक्षा १२ को परीक्षा मंसिर ९ गतेबाट हुँदै छ। गत वर्ष ११ सय ४७ परीक्षा केन्द्र रहे पनि यसपटक भने चार हजार एक सय पाँचवटा केन्द्र रहनेछ। उत्तरपुस्तिकाहरू परीक्षा केन्द्रमा पुगिसकेको र अनलाइनबाट पठाउने प्रश्‍नपत्र निर्माण भइरहेको परीक्षा नियन्त्रक कार्यालय सानो ठिमीले जनाएको छ।



संगठन तथा व्यवस्थापन सर्वेक्षणविना नै नेपाल प्रहरीमा एआइजीको दरबन्दी थप भएको छ । बुधबारको मन्त्रिपरिषद्को बैठकले एआइजीको एक र डिआइजीको पाँच दरबन्दी थप्ने निर्णय गरेको हो । 



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बस्यो ।

जहाँ अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले आफ्नो मन्तव्य राखे । मन्तव्यमा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका गम्भीर आरोप सत्य भए आफू हट्ने र सत्य नभएमा दाहाल हट्नुपर्ने उल्लेख गरेका छन् ।



सर्वोच्च र उच्च अदालतका रजिष्ट्रार तथा अदालतका स्रेस्तेदार र तहसिलदारहरूको राष्ट्रिय सम्मेलन हुने भएको छ । 

भर्चुअल माध्यमबाट यही मंसिर ८ र ९ मा देशभरका अदालतमा कार्यरत उल्लिखित पदहरूमा रहेका सबैको पहिलोपल्ट राष्ट्रिय सम्मेलन हुन गइरहेको सर्वोच्च अदालतले जनाएको छ । 



 दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कडाइको तयारी गरिएको छ । विवाहका लागि दिइएको छुट फिर्ता लिएसँगै अब दिल्लीमा मास्क नलगाउने व्यक्तिमाथि कारबाही गरिने भएको छ ।



डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ सिस्टमको आलोचना गर्दै मेसिनकै कारण लाखौं भोट नोक्सान भएको दाबी गरेका छन् । यो भोटिङ मेसिन डोमिनियन भोटिङ सिस्टम्स नामक कम्पनीले तयार गर्दछ ।



अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाको नयाँ पुस्तक ‘अ प्रमिस्ड ल्यान्ड’ सार्वजनिक भएको पहिलो दिनमै अमेरिका र क्यानडामा मात्रै करिब ८ लाख ९० हजार प्रति बिक्री भएको छ । ओबामाले आफ्नो दुई कार्यकालका अनुभव, ओसामा बिन लादेनमाथिको आक्रमण र ट्रम्पको उदयमाथि पनि चर्चा गरेको बताइएको छ ।



कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोपले मध्य–चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।



कोरोना भाइरसको संक्रमण देखिएसँगै दक्षिण अस्ट्रेलिया राज्य सरकारले बुधबार रातिदेखि लागू हुने गरी ६ दिनका लागि लकडाउन गर्ने भएको छ । राज्यका प्रिमियर स्टिभन मार्सलले अहिले देखिएको भाइरसको संक्रमणको चेन रोक्नका लागि लकडाउन आवश्यक भएको बताएका छन् । 



 अमेरिकी राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरुको संक्रमणकालीन टिमलाई सहयोग नगरे त्यसले नराम्रो परिणाम निम्तिने चेतावनी दिएका छन् । आफूहरुको टिमसँग ट्रम्प र उनको प्रशासनले राष्ट्रिय सुरक्षा, कोरोना महामारी रोकथाम तथा नियन्त्रण र खोप वितरणका बारेमा ब्रिफिङ नगरेको बाइडेनले बताएका छन् ।



फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार भाम्को नामक आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।



अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत कायम गरेको डेमोक्रेटिक पार्टीले वर्तमान सभामुख नान्सी पेलोसीलाई नै अर्को दुई वर्षका लागि सभामुखमा चयन गरेको छ । आगामी जनवरीमा सदनमा सभामुखका लागि मतदान हुनेछ । हाउसमा डेमोक्रेटको बहुमत रहेकाले पेलोसी विजयी हुने निश्चित छ । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक