आज आयातमा भन्सार छुट विदेशी पुस्तकलाई मात्रै, कक्षा १२ को परीक्षा तयारी पूरा, प्रस्तावित राजदूतहरू 'खतिवडा, रेग्मी र विक' संसदीय सुनुवाइ समितिबाट अनुमोदन, रुसी खोप ‘९२ प्रतिशत प्रभावकारी’ लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन्।
बिहीबार १,९१३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,०४,२४२ पुगेको छ भने मृत्यु हुनेको संख्या १,१८९ पुगेको छ। हालसम्म नेपालमा १,६४,५९२ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १०,०२२ => Recovered Today: २,३४९
संवैधानिक तथा राजनीतिक नियुक्तिहरू संविधानमा गरिएको व्यवस्थाअनुसार समानुपातिक तथा समावेशी नभएको भन्दै संसदीय सनुवाइ समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंसिर दोस्रो साताभित्र बोलाउने निर्णय गरेको छ ।
सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी खेलकुदका प्रशिक्षणहरु शुरु गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउन अनुमति दिएको हो ।
प्रधानमन्त्री केपी ओलीको ०७७ कात्तिकदेखि चैतसम्मको सबै पारिश्रमिक कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा हुने भएको छ। यस्तै, उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीहरूको तलबको ५० प्रतिशत रकम पनि कोषमा जम्मा गर्ने निर्णय सरकारले गरेको छ।
घरजग्गा नभएका बाजुराका १५ परिवार मुक्त हलियालाई सरकारले एकैठाउँमा जग्गा किनेर बस्ती बसाउने योजना बनायो । उनीहरूका लागि आर्थिक वर्ष ०७१–७२ मा ६७ लाख ५० हजार रुपैयाँ विनियोजन भयो ।
राष्ट्रिय परीक्षा बोर्डको आगामी मंसिर ९ गतेबाट १६ गते हुने कक्षा १२ को परीक्षा तयारी पूरा भएको जनाएको छ। परीक्षार्थी संख्या ४ लाख ३ हजार १ सय ८० जना रहेका छन् ।
अमेरिकाका लागि युवराज खतिवडा, बेलायतका लागि लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि निर्मलकुमार विश्वकर्मा राजदूतमा अनुमोदन भएका छन् ।
मन्त्रिपरिषद् बैठकले विदेशी पुस्तकहरुलाई मात्रै आयात गर्दा भन्सार छुट दिने निर्णय गरेको अर्थ मन्त्रालयले प्रष्ट्याएको छ। मन्त्रिपरिषद निर्णयलगत्तै सबै पुस्तकमा भन्सार छुट भनिए पनि वास्तविकता त्यस्तो नभएको मन्त्रालयको स्पष्टोक्ति छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष, संविधानसभाका सदस्य, पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आफ्नाे फेसबुक पेजमार्फत आज बसेको मन्त्रिपरिषद्को बैठकले उनको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्न निर्णय गरेको जानकारी गराएका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले शुक्रबार अपराह्न ४ बजे सचिवालयको बैठक बोलाएको छ । भोलिको सचिवालय बैठकका लागि रणनीति तय गर्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरू खुमलटारमा अनौपचारिक बैठक बसेका छन् ।
राष्ट्रिय सभाका पूर्वसांसद इन्द्रहाङ लिम्बूको कोरोना संक्रमणका कारण बिहीबार बिहान होम आइसोलेसनमा निधन भएको छ ।
सुनसरीको धरान– १८ का ९२ वर्षीय लिम्बूको निवासमै बिहान निधन भएको परिवारले जनाएका छन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगले कामको थालेको छ । पहिलो चरणमा देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सय वटामा आयोगले काम अगाडि बढाउनेछ । सोहीअन्तर्गत आयोगले बिहीबार एक कार्यक्रम गरी केही स्थानीय तहसँग सम्झौता गरेको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इन र अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार वार्ता करिब १४ मिनेट लामो थियो ।
रुसले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप स्पुतनिक–५ खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ । अमेरिकी कम्पनी फाइजरले आफूले उत्पादन गरेको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएको दुई दिनमै रुसले उक्त खोपबारे विवरण सार्वजनिक गरेको हो । रुसले गत अगस्टमै स्पुतनिक खोपलाई स्वीकृति दिएको थियो ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।
सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई)ले बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।