आज कुनै पनि हालतमा राजीनामा नदिने प्रधानमन्त्रीको भनाई, वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यको काम गर्न बाटो खुल्यो, मंसिर २ गते सार्वजनिक बिदा, बिहारमा फेरि नितीश कुमार, बहराइनका प्रधानमन्त्रीको निधन लगायत विषयवस्तुहरूलाई समावेश गरिएका छन् ।
बुधबार २,५६९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २,०२,३२९ पुगेको छ भने मृत्यु हुनेको संख्या १,१७४ पुगेको छ। हालसम्म नेपालमा १,६२,२४३ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १०,०८१ => Recovered Today: १,६६६
कोरोनाले सबै क्षेत्रलाई प्रभाव पारेको वेला सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनामा उल्लेखनीय प्रगति भएको पाइएको छ ।
कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिँचाइतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका कुनै पनि लक्षण देखिएकाहरुलाई मात्रै नि:शुल्क परीक्षण र उपचार गरिने भएको छ । कोरोनाका लक्षण नदेखिएका व्यक्तिको परीक्षण र उपचार नगरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यका रुपमा काम गर्न बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले संसद सदस्य हुनका लागि योग्यताको प्रश्न उठाउँदै दायर रिटमा गौतमको पक्षमा फैसला सुनाएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । उनले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासबाट पछि नहट्ने र राजीनामा नदिने बताए ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीको स्वास्थ्य गम्भीर बनेको छ । केही दिनदेखि निमोनियाबाट पीडित केसीलाई कोरोना संक्रमणसमेत पुष्टि भएको छ ।
मेडिसिटी अस्पतालको आइसोलेसनमा उपचाररत केसीको स्वास्थ्य गम्भीर रहेको कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले विज्ञप्ति निकालेर जनाएका छन् ।
नेकपाका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ढिलै भए पनि सर्वोच्च अदालतले उपाध्यक्ष वामदेव गौतमलाई न्याय गरेको प्रतिक्रिया दिएका छन् ।
उपाध्यक्ष गौतममाथि परेको मुद्दामा आजै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्नुनपर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवासभाको मकालु गाउँपालिका–५, फ्याक्सिण्डामा निर्माणाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गरेका छन् ।
प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको ४० प्रतिशत काम सम्पन्न भएको अवगत गराएका थिए । सो आयोजनाको २०७५ वैशाख २८ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेका थिए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले कृषि उत्पादन भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा आज आयोजित कार्यक्रमलाई बोल्दै मन्त्री भट्टराईले सडक सञ्जालले गाउपालिका जोडिएकोले कृषि उत्पादन बढाउँदै कृषि भण्डारका लागि चिस्यान केन्द्र बनाउन सहयोग गर्ने प्रतिबद्धता गरेका हुन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको आत्मविश्वास र मनोबल नबढाई अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूसँग बुधबार भएको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्र बिना अर्थतन्त्रलाई गतिशील बनाउन नसकिने बताएका हुन् ।
चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने समाचारहरु प्रकाशित भएपछि चिनियाँ मुखपत्र ले नेपाली कांग्रेस, भारत र पश्चिमा शक्तिहरुले नेपाल-चीन सीमा विवाद उक्साइरहेका आरोप लगाएको छ ।
चिनियाँ सैनिकले नेपाल-चीन सीमा पार गरेर हुम्लामा सीमा स्तम्भ उखेलेको र नेपाली भूमि अतिक्रमण गरेको भन्ने ‘आधारहीन’ समाचारहरु फैलाउन पश्चिमा शक्ति र भारतीय सञ्चारमाध्यमहरु र नेपाली कांग्रेस लागिरहेको जनाइएको छ ।
हङकङमा प्रजातन्त्र समर्थित चार सांसदहरुलाई तत्कालदेखि नै लागु हुने गरी अयोग्य ठहर गरिएको छ ।
बेइजिङले हङकङ सरकारलाई राष्ट्रिय सुरक्षाको लागि खतरनाक ठान्ने राजनीतिज्ञहरुलाई अयोग्य ठहर्याउने नयाँ प्रस्ताव पारित गरेपछि हङकङले चार प्रजातन्त्र समर्थित सांसदहरुलाई अयोग्य ठहर गरिएको हो ।
सरकारले २ मंसिरमा सार्वजनिक बिदा दिएको छ ।
किजा पूजाको अवसरमा सो दिन बिदा दिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाद्वारा निकालिएको विज्ञप्तिमा यस्तो जानकारी दिइएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेश राजधानीका विषयमा असन्तुष्ट रहेका पार्टीनिकट उद्योगी व्यवसायीलाई आफ्नो जिम्मेवारीमा फर्कन निर्देशन दिएको छ ।
नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीको भेला गरी पूर्ववत पार्टी काममा फर्कन निर्देशन दिएको विभागका प्रमुख गोपाल रानाले बताए ।
पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचनको बुधबार निधन भएको छ । ८५ वर्षीय गौचनको राजधानीस्थित दीर्घायु अस्पतालमा निधन भएको बागलुङ कल्याण समाज काठमाडौंका अध्यक्ष विराटकुमार श्रेष्ठले जानकारी दिए ।
चीनको तिब्बतसँग जोडिएको बझाङको सीमामा सुरक्षा व्यवस्था नहुँदा तस्करी बढेको भन्दै प्रतिनिधिसभा सदस्य आशा विकले गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन् । यथाशीघ्र सीमामा सुरक्षा निकायको उपस्थिति हुने वातावरण मिलाउन गृह मन्त्रालयलाई सांसद विकले अनुरोध गरेकी हुन् ।
बिहार विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितीश कुमार नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत प्राप्त गरेको छ । बिहारमा सरकार गठनका लागि २४३ सिटमध्ये १२२ सिट आवश्यकता पर्दछ, जहाँ एनडीएले १२५ सिट जितेर अहम् आँकडा पार गरेको छ ।
बहराइनका प्रधानमन्त्री सेख खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ । उपचारका क्रममा अमेरिकामा उनको निधन भएको हो ।
प्रधानमन्त्री खलिफाको उपचारका क्रममा अमेरिकास्थित मायो क्लिनिक अस्पतालमा बुधबार बिहान मृत्यु भएको बहराइनको राष्ट्रिय समाचार संस्था ले उल्लेख गरेको छ ।
पेरुको संसद्ले राष्ट्रपति मार्टिन भिजकारालाई सन् २०१४ मा क्षेत्रीय प्रशासक रहेको समय घूस लिएको आरोपमा महाअभियोग लगाएको छ । करिब ८ घण्टा चलेको सुनुवाइपछि महाअभियोग प्रस्तावको पक्षमा १ सय ५ र विपक्षमा १९ मत परेको हो । महाभियोग प्रस्ताव पास हुन ८७ सदस्य आवश्यक भए पनि १ सय ५ मत परेको हो ।
संयुक्त राज्य अमेरिकाले अरब मुलुक संयुक्त अरब इमिरेट्स (युएई) का लागि करिब २३ अर्ब ३७ करोड अमेरिकी डलरबराबरको अत्याधुनिक प्रतिरक्षा सामग्री बिक्री गर्न स्वीकृति दिएको छ । अमेरिकी विदेशी मन्त्रालयका अनुसार युएईलाई बिक्री गरिने सामग्रीह?मा एफ– ३५ लडाकु विमान, एमक्यू–नाइन–बी मानवरहित ड्रोन तथा आकाशबाट आकाशमा तथा आकाशबाट जमिनमा मार हान्न प्रयोग गरिने क्षेप्यास्त्रहरू रहेका छन् ।
कडा लकडाउन र कर्फ्युको अवस्थामा पनि आफूले पढाउने कक्षा कोठामा भीड भएको भन्दै फ्रान्सेली शिक्षक/शिक्षिकाहरुले मंगलबार देशभर प्रदर्शन गरेका छन् । एउटै कोठामा धेरै विद्यार्थीहरुलाई पढाउनुपर्ने बाध्यताले भाइरसको उच्च जोखिम हुँदा पनि सरकारले उचित व्यवस्था मिलाउन नसकेको भन्दै मंगलबार फ्रान्सभर प्रदर्शन र केही ठाउँमा हडतालसमेत गरेका हुन् ।