यहाँ अमेरिकी चुनाव र जो बाइडेनको बाजी, म्यान्मारमाआमनिर्वाचन :सुकी नेतृत्वको सरकारको जित्ने अनुमान, न्युजिल्याण्डको मन्त्रीपरिषद विस्तार, भियना आक्रमण, टर्की भूकम्प लगायतका विषयवस्तुहरूलाई समावेश गरिएका छन् । यसबाहेक विश्वभर के-कस्ता घटनाक्रमहरू देखिए ?, सम्पूर्ण जानकारीहरू यहाँ पाउनुहोस् ।
अमेरिकी चुनावमा जो बाइडेनले बाजी मारेका छन् । उनी र उनको प्रतिद्वन्दी डोनाल्ड ट्रम्पको चुनाव अवधिभर के-कस्तो व्यवहार देखियो ? अमेरकी चुनावको सम्पूर्ण जानकारी यहाँ पाउनुहोस् ।
न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डेनले सोमबार नयाँ मन्त्रिपरिषद् घोषणा गरेकी छिन् । निकै विविधतापूर्ण मानिएको यस मन्त्रिपरिषदमा पूर्वअर्थमन्त्री ग्रान्ट रोबर्टसनलाई उपप्रधानमन्त्री बनाइएको छ । रोबर्टसनले आफू समलिंगी भएको बताउँदै आएका छन् । उनलाई अर्थ मन्त्रालयको कार्यभारसमेत दिइएको छ ।
मध्यपूर्व र अन्तर्राष्ट्रिय मामिलासम्बन्धी लामो समय रिपोर्टिङ गरेका चर्चित पत्रकार रोबर्ट फिस्कको निधन भएको छ । आइरिस टाइम्सका अनुसार उनको शुक्रबार डबलिनस्थित सेन्टर भिन्सेन्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताका अनुसार काबुल युनिभर्सिटीमा आक्रमण हुँदा कम्तिमा पनि १९ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।
अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता तारिक आर्यानले तीन बन्दुकधारी युनिभर्सिटी परिसरमा प्रवेश गरेपछि क्याम्पसमा भागदौड मच्चिएको बताए ।
जबरजस्ती धर्म परिवर्तन गराएर र विवाह गराएकी एक क्रिश्चियन किशोरीलाई पाकिस्तान प्रहरीले उद्धार गरेको छ । १३ वर्षीया क्रिश्चियन किशोरीलाई करिब एक महिनापछि उद्धार गरिएको पाकिस्तानी अधिकारीहरुले जनाएका छन् ।
अष्ट्रियाको राजधानी भियनामा स्थानीय समयअनुसार सोमबार भएका विभिन्न आतंकवादी आक्रमणमा पाँचजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनामा कम्तीमा १५ जना गम्भीर घाइते भएका थिए ।
भारतको बिहार राज्यमा मंगलबार दोस्रो चरणको मतदान भइरहेको छ । कुल ९४ संसद् सदस्यका लागि १७ जिल्लामा मतदान भइरहेको अधिकारीहरूले जानकारी दिएका छन् । मतदान स्थानीय समयअनुसार बिहान ७ बजे सुरु भएको होे ।
मुम्बई प्रहरीले बलिउड अभिनेत्री कंगना रनौट र उनकी दिदी रंगोली चंदेललाई बयानका लागि हाजिर हुन बोलाएको छ । उनीहरुलाई नोभेम्बर १० भित्र हाजिर हुन भनिएको हो । न्यूज एजेन्सी एएनआईले यसबारे ट्विट गर्दै जानकारी दिएका हुन् ।
कंगनाविरुद्ध मुम्बईको बान्द्रा प्रहरी वृत्तमा उजुरीपछि मुम्बई प्रहरीले समन (बयानका लागि प्रहरी वृत्त बोलाएको पत्र) पठाइएको हो ।
चिनियाँ विदेश मन्त्रालयले नेपालको कुनै पनि भूमि नमिचेको दोहर्याएको छ। द टेलिग्राफले चीनले नेपालको १ सय ५० हेक्टर जमिन मिचेको र संरचनाहरु निर्माण गरेको भन्दै उक्त समाचारको खण्डन चीनले गरेको हो ।
मंगलबार टर्कीमा अचम्मको घटना भयो । चार वर्षीया बालिकाकाे भूकम्प गएको ९१ घन्टापछि सकुशल उद्धार भएको छ । उद्धार टोलीले एक भवनको भग्नावशेषबाट बालिकालाई उद्धार गरेको स्थानीय एजेन्सीहरूले जनाएका छन् ।
भारतको अहमदाबादस्थित एउटा कपडा गोदाममा आगलागी हुँदा आठजनाको मृत्यु भएको छ ।
अहमदाबादको नानुकाकामा रहेको एउटा कपडा गोदाममा आगो लागेपछि भवनको पर्खालमुनि किचिएर ६ जनाको मृत्यु भएको आजतकले जनाएको छ । घटनामा अन्य दुईजनाको समेत मृत्यु भएको हो ।
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ परेका छन् । रिपब्लिक टेलिभिजनका प्रधान सम्पादकसमेत रहेका अर्नबलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
टर्कीमा गत शुक्रबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या १ सय १६ पुगेको छ । टर्किस अधिकारीहरुले भूकम्पबाट मृत्यु हुनेको संख्या १ सय १६ पुगेको पुष्टि गर्दै अन्तिम चरणको उद्धार तथा खोजी कार्य जारी रहेको बताएका छन् । मृत्यु हुनेमा २ जना ग्रिसका नागरिक छन् ।
युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले पदबाट राजीनामा दिएका छन् । युद्धअपराध गरेको आरोपसँगै उनीमाथि राजीनामाको दबाब बढेको थियो ।
संयुक्त अधिराज्य (बेलायत)ले डेनमार्कबाट आउने सबै उडानमा प्रतिबन्ध लगाएको छ । अधिकारीहरूका अनुसार शनिबारदेखि बेलायतले डेनमार्कबाट आवागमनमा प्रतिबन्धित गरेको हो । डेनमार्कमा पछिल्लो समयमा कोभिड– १९ का संक्रमितको संख्या बढ्दै गएपछि आवागमनमा प्रतिबन्ध लगाइएको हो ।
म्यान्मारमा आइतबार संसद्का लागि आमनिर्वाचन हुँदै छ । विपक्षीहरूको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । पाँच वर्षअघिको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरूको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकी थिइन् ।
यस वर्ष चीनको वैदेशिक व्यापारमा ४.६ प्रतिशतले वृद्धि भएको छ । चीनकाे भन्सार प्रशासनले दिएकाे जानकारीअनुसार गत वर्षको तुलनामा यस वर्षको चीनको वैदेशिक व्यापार ४.६ प्रतिशतले वृद्धि भएको हाे।