छोटककरीमा : यस हप्ता (राजनीतिक घटनाक्रमहरू )

यस हप्ता चर्किएको नेकपा विवाद, भारतीय सेनाध्यक्ष्यको नेपाल भ्रमण, कांग्रेसको बैठक, मुकेश चौरासिया हत्या प्रकरण लगायतका विषयवस्तुबारे सम्पूर्ण जानकारी यहाँ पढ्नुहोस् ।



गत असारमै झन्डै फुटसम्म पुगेको पार्टीलाई बचाउन सहमतिको प्रतिवेदन बनाउने तत्कालीन ‘समस्या समाधान सुझाव कार्यदल’ सदस्यहरुले नेकपाभित्र उत्पन्न पछिल्लो तनाव चिन्ताजनक मात्रै नभएर देश र पार्टीको हितविरुद्ध रहेको बताएका छन् ।

आफूहरुको सुझावअनुसार भदौ २६ मा सहमतिमा टुंगिएको स्थायी कमिटी बैठकका निर्णय कार्यान्यवनलाई लिएर फेरि पार्टी विभाजनसम्मका गतिविधि र अभिव्यक्ति आउनु अस्वभाविक र विडम्बनापूर्ण भएको उनीहरुको भनाइ छ ।



कांग्रेसको सोमबार बसेको अनौपचारिक बैठकले पार्टीभित्रको आन्तरिक विवाद सुल्झाउने ठोस समझदारी बनाउन सकेन ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णय र गतिविधिबाट महाविधेशन निष्पक्ष हुनेमा आशंका उठाउँदै गत असोज ११ गते पार्टी केन्द्रीय कार्यालयमा १६ बुँदे ज्ञापन पत्र दर्ता गराएका थिए ।



प्रदेश सरकारले स्थानीय तहका पदाधिकारीलाई यातायात खर्च बापत मासिक १२ हजार रुपैयाँ पाउने निर्णय गरेपछि बर्दिया जिल्लामा जनप्रतिनिधिहरुले धमाधम मोटरसाइकल फिर्ता गर्न थालेका छन् ।

यसअघि पालिकाहरुले जनप्रतिनिधिलाई यातायात सुविधाका लागि मोटरसाइकल र स्कुटी खरिद गरेको थियो ।



 नेकपा पर्साका सदस्य तथा विन्दवासिनी गाउँपालिका कमिटीका सचिव मुकेश चौरसियाको हत्या आरोपित थप एकजना पक्राउ परेका छन् । गत कात्तिक ६ मा नेकपाको विन्दवासिनी गाउँपालिकाको  गम्भीर घाइते भएका चौरसियाको उपचारको क्रममा कात्तिक ७ मा वीरगन्जको एक निजी अस्पतालमा मृत्यु भएको थियो ।



अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरु युवराज खतिवडा र लोकदर्शन रेग्मीविरुद्ध उजुरी दिने व्यक्तिहरु अनुपस्थित भएपछि उनीहरुमाथिको सुनुवाइ कात्तिक २७ गते हुने भएको छ ।

सोमबार संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुविरुद्ध उजुरी दिने व्यक्तिहरुलाई छलफलका लागि बोलाए पनि उनीहरु उपस्थित नभएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।



जनप्रतिनिधिकै संलग्नतामा दलित भएकै कारण निर्घात कुटपिटका घटना हुँदा पनि दोषीलाई कारबाही गर्न प्रहरीले उदासिनता देखाउँदै आएको छ । कतै सार्वजनिक पोखरीमा माछा मार्ने निहुँमा त कतै राहत माग्दा दलितमाथि कुटपिट भएको छ । 



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र युरोपेली आयोग (इयु) बीचको सम्बन्ध अझ प्रगाढ बनाउँदै सहकार्यका नयाँ क्षेत्रमा कार्य हुने विश्वास व्यक्त गरेका छन् । 

प्रधानमन्त्री ओलीले नेपालका लागि युरोपेली आयोगका नवनियुक्त डेलिगेसनका प्रमुख (राजदूत) नोना डिप्रेजले सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको शिष्टाचार भेटमा क्रममा नयाँ राजदूतलाई स्वागत गर्दै उहाँको कार्यकालमा आपसी सम्बन्ध अझ प्रगाढ होस् भन्ने कामना गरेका हुन् । 



 प्रहरीमा तल्लो तहका कर्मचारीले सातामा एकदिन पनि छुट्टी नपाएको गुनासो गरेका छन् ।

प्रहरी प्रधान कार्यालयले नै हवल्दार तथा जवानहरुको मनोबलको वर्तमान अवस्था, कारक तत्त्व तथा उत्प्रेरणा अभिवृद्धिका क्षेत्रहरुसम्बन्धी अध्ययनमा यस्तो उल्लेख गरिएको छ ।



नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारीले पार्टी एकताबारे चिन्ता र चासो व्यक्त गरेकी छिन् । मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।



उच्च अदालत पाटनले समिर लामा 'भिटेन'लाई पक्राउ नगर्न प्रहरी प्रधान कार्यालय नक्साललाई अन्तरिम आदेश दिएको छ। भिटनले पारा गीतमा भएका आपत्तिजनक शब्दहरु संशोधन गरेर संशोधित नयाँ म्युजिक भिडियो चाँडै नै सार्वजनिक गर्ने भन्दै केही दिनअघि विज्ञप्ति निकालेका थिए।



अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राबीच अर्थ मन्त्रालयमा भेट वार्ता भएको छ । अर्थमन्त्री पौडेल र राजदूत क्वात्राबीच द्विपक्षीय आर्थिक सहयोग, व्यापार र लगानी, कोभिड–१९ को महामारी नियन्त्रण लगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।



भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणेले नेपालीसँग दीर्घकालीन सम्बन्ध सुदृढ गर्न नेपाल भ्रमण गर्न लागेको बताएका छन् । 

भारतको समाचार एजेन्सी एएनआईलाई मंगलबार प्रतिक्रिया दिने क्रमना उनले यो बताएका हुन् । उनी नेपालको तीनदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउँदै छन् । 



कांग्रेसले आमन्त्रित केन्द्रीय सदस्य तथा सांसद सूर्यबहादुर केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभापति शेरबहादुर देउवाको अध्यक्षतामा मंगलबार बसेको आकस्मिक बैठकले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा नेता केसीले उल्लेख्य योगदान पुऱ्याएको भन्दै निधनप्रति दुःख व्यक्त गरेको हो ।



प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् । 



पार्टीभित्रको विवाद उत्कर्षतिर अभिमुख हुँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले गोप्य भेलाको आयोजना गर्न थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण ओली पक्षले जुम मिटिङमार्फत् आफ्ना कुरा राख्न थालेको हो ।

स्रोतका अनुसार ओली समूहले आज प्रदेश नम्बर एकको कमिटी स्तरीय भेला आयोजना गरेको थियो ।



भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणेले बुधबार अपरान्ह पशुपतिनाथको दर्शन गरेका छन्। नरवणे भारतीय वायु सेनाको विशेष विमान 'इन्डियन एयर फोर्स-३३' मार्फत आज दिउँसो काठमाडौं ओर्लिएका थिए। भ्रमण दलमा नरवणेकी श्रीमतीसहित चार सदस्य रहेका छन्।



अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मेलम्ची खानेपानी आयोजना छिटो सम्पन्न गर्न अर्थ मन्त्रालयले आवश्यक सबै सहयोग गर्ने बताएका छन् । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उनले मेलम्ची आयोजना सम्पन्न गर्न आवश्यक सहयोग र सहजीकरण गर्न मन्त्रालय तयार रहेको बताए । 



नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्कफाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले साझा डिजिटल मुद्रा अवलम्बन गर्नुपर्ने बताएका छन् । आज सार्क राष्ट्रका केन्द्रीय बैंकका गभर्नरहरुको सहभागीतामा भएको सार्क फाइनान्स ग्रुप मिटिङमा गभर्नर अधिकारीले सार्क फाइनान्स अन्तर्गतका केन्द्रीय बैंकहरुले साझा डिजिटल मुद्रा अवलम्बन गर्न सार्कफाइनान्स स्तरमा एक अध्ययन गर्नुपर्ने बताएका हुन् । 



पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपाको विवादलाई अग्रगमन र पश्चगमनबीचको लडाइँको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीलाई नेपाली राजनीतिका पश्चगामी सोच राख्ने चतुर खेलाडी भनेका छन् । 



धनगढीमा दुईजना प्रहरीको हत्या घटनासँग जोडिएको तस्करीको मटर (केराउ) को कारोबारमा संलग्न एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ५, शिवनगरस्थित आदित्य ट्रेडिङका सञ्चालक ३५ वर्षीय राजीव गुप्ता पक्राउ परेका हुन् ।



 प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको बताउँदै त्यसलाई परास्त पार्ने बताएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको एक मन्त्रीले जानकारी दिए ।



चिकित्सा शिक्षा क्षेत्र सुधारको माग राख्दै आएका डा. गोविन्द केसीले राजनीतिक दलका शीर्ष नेताहरूले माफियासँग मिलेर शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापार गरिरहेको आरोप लगाएका छन्। सबै स्वास्थ्य र शिक्षण संस्थाहरूमा आफ्ना कार्यकर्ताहरूका भर्तीकेन्द्र बनाएर धराशायी बनाइरहेको आरोप उनको छ।



 पार्टी एकतादेखि अहिलेसम्म पटकपटक लेनदेनमा धेरै विवाद गरेका नेकपाका दुई समूहबीचको विवाद अब प्राविधिक तयारीतर्फ उन्मुख भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल दुवै समूह केही दिनयता विभिन्न विकल्पसहित प्राविधिक तयारीमा लागेका छन् ।



 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध अविश्वासको चलखेल भइरहेको बताउँदै त्यसको सामना गर्ने बताएका छन् । आफूले कुनै पनि हालमा राजीनामा नदिने र राजीनामा दिएमा मुलुक बर्बाद हुने भनेर अभिव्यक्ति दिएको एकदिन पछि प्रधानमन्त्रीले सरकारविरुद्ध पार्टी भित्रैबाट अविश्वासका कुरा आइरहेको बताएका हुन् । 



राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय सेनाप्रमुख जनरल मनोजमुकुन्द नरभणेलाई नेपाली सेनाको मानार्थ महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन्। समारोहमा जनरल नरभणेलाई खड्ग तथा सनदपत्र पनि प्रदान गरिएको छ।



 उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देशमा लगानी नभित्रिएला भन्ने डरले चिनी मिलका मालिकहरूलाई कारबाही नगरिएको बताएका छन् । किसानलाई करोडौं रुपैयाँ उखुको बक्यौता नदिएको र श्रमिकलाई रकम नदिएको लगायतका विषयमा प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले मन्त्री भट्टलाई बिहीबार छलफलका लागि बोलाएको थियो ।



 प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी एकताको रक्षा गर्न आग्रह गरेको छन् । पार्टी अध्यक्ष समेत रहेका ओली र प्रचण्डको बिहीबार भेटवार्ता भएको थियो । छलफल तिक्ततापूर्ण अन्त्य भएको नेताहरूले बताएका छन् ।

खासगरी प्रधानमन्त्री ओलीले प्रचण्डलाई गुटबन्दी बन्द गर्न र पार्टी एकताको पक्षमा उभिन आग्रह गरेको स्रोतको दाबी छ ।



कांग्रेस सांसद सूर्यबहादुर केसीको निधन भएपछि उनको ठाउँमा मोहनप्रसाद पाण्डे सांसद बन्ने भएका छन् । केसी प्रतिनिधि सभाको समानुपातिकतर्फ खस आर्य क्लस्टरबाट सांसद बनेका थिए । उनको ठाउँमा समानुपातिकतर्फबाट पाण्डे आउने भएका हुन् । 



 प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएपछि नेकपा सचिवालयका पाँचजना (बहुमत) नेताहरू हच्चिएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूले सहमतिमा बैठक डाक्न प्रधानमन्त्री ओलीलाई आग्रह गर्ने निर्णय गरेका हुन् । 



कालापानी क्षेत्रको भारतसँगको सीमा विवादपछि सीमा सुरक्षामा नेपालले लगानी बढाएको छ । गत चैतयता मात्र भारत र चीनको सीमा क्षेत्रमा ६५ वटा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएका छन् ।



नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा फुटाउने सपना नदेख्न चेतावनी दिएका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बहुमत सचिवालय सदस्यहरूको अनौपचारिक बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेपालले भने– हामी पार्टी एकताका लागि जुटेका हौँ, नेकपा फुटाउने सपना नदेखे हुन्छ, यो एकता त्यति कमजोर धरातलमा छैन । 



संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकार विरुद्धको अविश्वासको प्रस्ताव काल्पनिक कुरामात्रै भएको बताएका छन् । पार्टी नेतृत्वबीच केन्द्रमा विवाद चलिरहँदा गृहजिल्ला ताप्लेजुङमा एक साता बसाइका लागि आएका मन्त्री भट्टराईले पार्टी नफुट्ने दाबी पनि गरे ।



आर्थिक वर्ष सुरु भएको चार महिनापछि छत्रेश्वरी गाउँपालिकाले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । गत असार १० गतेको आठौं गाउँसभामा जनप्रतिनिधिबीच विवाद भएपछि लामो समयदेखि बजेट पारित हुन सकेको थिएन् ।



 भारतीय स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । सेनाध्यक्ष नरवणेलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपाली सेनाका बलाधिकृतरथी प्रभुराम शर्माले विदाई गरे । 

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्न बुधवार उनी यहाँ आएका थिए । 



सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वर्तमान सरकार परिवर्तन नहुने प्रस्ट पारेका छन् । उनले भने, 'यही सरकारले देशको विकास गर्छ, अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प छैन, सरकार परिर्वतन हुँदैन, सबै कर्मचारी ढुक्क भएर काम गर्नुहोस् ।'



उखु किसानहरुले चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम छिटो भुक्तानी हुने व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गरेका छन् । 

आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले बक्यौता रकम नपाए छठलगत्तै सिंहदरबार घेराउ गर्ने चेतावनी दिएका छन् । ‘



कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । सोमबार दिनको १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भनिएको बैठक २७ गते बिहीबारसम्मका लागि सारिएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत आइतबार जानकारी दिएका छन् । उनका अनुसार बिहीबारको बैठक दिउँसो १ बजे बस्नेछ । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक