छोटकरीमा : यस हप्ता (कार्तिक ०९ गतेदेखि कार्तिक १६ गतेसम्म)

दशैं केन्द्रित भएर बढ्दो कोरोना भाइरस प्रभाव नियन्त्रणका लागि सरकारले के-कस्ता कदमहरू चाल्यो ? यस अवधिभर कोरोना भाइरस संक्रमणको रेखा कति थपघट भयो ? यस हप्ताभर मुलुकभर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



कार्तिक १६ गतेसम्म ९६० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ ।

कार्तिक १६ गतेसम्म १,३४,८४२ जना कोरोना भाइरस संक्रमित निको भएका छन्।

यस्तै, हालसम्म १४,५६,३६६ जनाको पिसीआर टेस्ट भएको छ भने २,३८६ जना क्वारेन्टाइनमा रहेका छन्।



नेपाल-चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका औपचारिक रुपमा बुधबारदेखि पुनः सञ्‍चालनमा आएको छ । बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्‍चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड—१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।



रासायनिक मलको अभाव भए पनि पर्याप्त मनसुनी वर्षा र धान खेती गर्ने जमिन बढेकाले यस वर्ष धानको उत्पादन गत वर्षकै हाराहारीमा हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरूले बताएका छन्।

गत आर्थिक वर्षमा १४ लाख ५८ हजार हेक्टरमा धान खेती गरिएको थियो। यो वर्ष ४८ हजार हेक्टर बढी जमिनमा धान खेती गरिएको केसीले बताए।



चाडबाडको समयमा मानिसको आवतजावतमा भएको वृद्धिसँगै गाउँमा कोरोना संक्रमण पनि बढ्दै गएको छ ।

पछिल्लो एक साताको मात्रै तथ्यांक हेर्दा सक्रिय संक्रमितको संख्यामा वृद्धि बढेको छ । कोरोना चेक गर्नका लागि स्वाब दिएकामध्ये ८० प्रतिशतलाई कोरोना संक्रमण देखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।  



कोरोना महामारीका कारण लामो समयदेखि बन्द पशुपतिनाथको मन्दिर सुनसान भएको छ । लामो समयदेखि पशुपतिनाथको मन्दिर बन्द हुँदा मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएकाहरु विचल्लीमा परेका छन् ।

मन्दिर क्षेत्रका थोरै पसल खुला भएका छन् भने धेरैजसो पसलहरु व्यापार नहुँदा बन्द भएका छन् ।



स्थायी कमिटी बैठकयता नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियमितजसो बालुवाटार धाउँथे । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका बाँकी काम टुङ्ग्याउने सन्दर्भमा घण्टौँ कुराकानी हुन्थ्यो । र, पनि कुनै निकास निस्कँदैनथ्यो ।

प्रधानमन्त्री ओली भेट्न दिनहुँ बालुवाटार धाइरहेको देखेर कतिपयले अध्यक्ष प्रचण्डलाई ‘तारेख धाएको’ टिप्पणी पनि गरे । तर, अहिले ओली–प्रचण्डको भेटमा ‘ब्रेक’ लागेको छ ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङ साताको दुई दिनमात्रै हुने भएको छ। अब सातामा आइतबार र बुधबार साविककै समयमा प्रेस ब्रिफिङ हुनेछ भने अन्य दिन ४:३० बजे मन्त्रालयको वेबसाइट, भाइबर, फेसबुक र ट्विटरमार्फत तथ्यांक अपलोड गरिनेछ।



अनुसन्धानकर्ताहरूले कोरोनाभाइरस सङ्क्रमणपछि मानिसहरूको प्रतिरक्षात्मक एन्टीबडी एकदमै तीव्र गतिमा घटेको पाइएको बताएका छन्।

कोषहरूभित्र भाइरसविरुद्ध लड्न शरीरले तयार पार्ने तत्त्‍व एन्टीबडी हाम्रो रोग प्रतिरोधी क्षमताको एउटा महत्त्वपूर्ण हिस्सा हो।



चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल मनोरञ्जन क्षेत्र खुलाउने विषयमा बोर्डले पहल गरिरहेको बताउँछन् । केही समयअघि निर्माता संघ, कलाकार संघ, विकास बोर्डले हल खुलाउनेबारे सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । तर, निर्णय आइसकेको छैन । तर, कोरोना पर्वाह नगरी निर्माता–निर्देशक आफ्ना चलचित्र सुटिङ गर्न कस्सिएका छन्।



 वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाईलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । उनले मंगलबार पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए । उनी प्रदेश प्रमुखको कार्यालय हेटौडाबाट दसैंमा झापाको मेचीनगरस्थित घर आएका थिए ।



 तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानुन क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मंगलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए ।



नेकपाको अन्तरविरोध झनै चर्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय लत्याउँदै मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिस गरेपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको ओलीनिकट नेताहरू बताउँछन् । पार्टी संसदीय दल नभए काङ्ग्रेसको साथ लिएर संसदमै पनि अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको ओलीपक्षको भनाइ छ ।



गत बिहीबार शपथग्रहण कार्यक्रममा नेकपाकाे दुई पक्षबीच भएको झडपमा परेर मृत्यु भएका विन्दवासनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको घटनामा संलग्नविरुद्ध सरकारी वकिल कार्यालय पर्सामार्फत जाहेरीसहितको निवेदन दर्ताको भएको छ । मृतकका भाइद्वारा प्रहरी कार्यालय पर्सामा १२ जनामाथि कारबाहीको माग राख्दै जाहेरीसहितको निवेदन दर्ताको भएको हो ।



दसैँका १० दिन (१-११ कात्तिक)मा देशभर सडक दुर्घटनामा परी ५१ जनाको मृत्यु भएको छ । अन्य ६ सय २७ जना घाइते भएका छन्, तीमध्ये दुई सय १२ जना गम्भीर र चार सय १५ जना सामान्य घाइते भएका छन् ।



यातायात व्यवस्था कार्यालय जनकपुरले सेवाग्राहीलाई वितरण गर्न राखेको करिब ५ सय थान स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा भेटिएको छ । कार्यालयको कोठामा सुरक्षित राखिएको लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको छ ।



दार्चुला जिल्लाका तत्कालीन नेकपा एमालेका संस्थापक पार्टी प्रमुख तथा नेकपा अनुशासन आयोगका सदस्य वीरबहादुर ठगुन्नाको निधन भएको छ । 

महाकाली नदीको मुहानदेखि यताको भूभाग नेपालको हो भन्दै लामो समयदेखि वकालत गर्दै आएका ठगुन्नाको बुधबार निधन भएको हो । उनी क्यान्सर रोगबाट पीडित थिए । 



पर्यटकीय नगरी पोखराको लेकसाइडसहित देशभरका पर्यटकीय गन्तव्य पर्यटकको व्यग्र प्रतिक्षामा छन् । विगतका दसैंको यही बेलामा पर्यटकले भरिने लेकसाइड यतिबेला भने सुनसान छ ।

पर्यटन व्यवसायी पर्यटक आउने आशमा बसिरहेका छन् । लकडाउनको बेलामा पुर्ण रूपमा बन्द भएका होटेल, रेष्टुरेन्टलगायतका व्यापार व्यवसाय अझै पनि पर्ण रूपमा नखुलेको व्यवसायी बताउँछन् ।



सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडकखण्डमा बिहीबार भएको सवारी दुर्घटनामा आठ यात्रु घाइते भएका छन् ।

तानसेनबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ३०६७ नम्बरको टिपरले बुटवलबाट पाल्पा आउँदै गरेको लु १ ख ९९८२ नम्बरको बसलाई ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका हुन् ।



बिपी प्रतिष्ठान धरानमा कोरोना उपचारमा देखिएको बेथिति सुधारका लागि दबाब समूह गठन गरिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले सञ्चालन गरेको कोभिड- १९ अस्पतालमा चरम लापरबाही भएर बिरामीको मृत्यु हुने गरेको आलोचना बढेपछि नागरिक दबाब समूह गठन भएको हो । 



 र्‍यापर समिर घिसिङ 'भिटेन' ले हालै सार्वजनिक गरेको नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ ।

'पारा' बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतले बताए ।



राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सामान्य लक्षण देखिएपछि थापाले गत मंगलबार पीसीआर परीक्षण गराएका थिए । 



पशुपति टोलको बीचमा मुस्लिम समुदायको शव व्यवस्थापन स्थल कब्रिस्तान छ। वर्षैंदेखि मुस्लिम समुदाय कब्रिस्तानमा आफन्तको शव व्यवस्थापन गर्दै आएका थिए। तर, बिहीबार भने पशुपति टोलमा फरक माहोल सिर्जना भयो। कोरोना संक्रमणबाट मृत्यु भएकी धनगढी–२, की ५७ वर्षीया मुस्लिम महिलाको मृत्युपश्चात् मुस्लिम समुदायले धार्मिक परम्पराअनुसार कब्रिस्तानमै शव व्यवस्थापन गर्ने निर्णय गरे।



कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक कात्तिक २१ गते बस्ने भएको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी कात्तिक २१ गते सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने जानकारी दिएका हुन् ।



संघीय सांसदहरुका लागि सुधारिएको लाेगाे तयार भएको छ ।

संसद सचिवालयले गत साउन अन्तिमतिर लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नयाँ नक्सा समेटिएको लागाे तयार पारेको भए पनि त्यो विवादमा आएपछि पुन त्यसलाइ सुधारिएको हो ।



डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए)ले नेपाल बार एसोसियनको निर्वाचनमा आफ्नै उमेदवार हराउन लागेको भन्दै डीएलएकै पूर्वअध्यक्षसहित केही वरिष्ठ अधिवक्तालाई संगठनबाट निष्कासन गरेको छ । 

डीएलएको अनुशासन समितिले डीएलएका पूर्व अध्यक्ष वरिष्ठ अधिवक्ता यदुनाथ खनालसहित वरिष्ठ अधिवक्ता एवं नेपाल बारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, प्रेमबहादुर खड्कासहित अधिवक्ताहरु विजयप्रसाद मिश्र र श्रीराम दवाडीलाई निष्कासन गरेको हो । 



कोलकाता इन्टरनेसनल फिल्म फेस्टिभलमा नेपाली फिल्म 'महानगर'को वर्ल्ड प्रिमियर हुने भएको छ । फेस्टिभलको तीन प्रतिस्पर्धात्मक विधामध्ये एसिया सेलेक्ट(नेटप्याक अवार्ड)तर्फ यो फिल्म छनाेट भएको हो । 



म्याग्दीस्थित बेनी नगरपालिका क्षेत्रमा एक साता पुन: लकडाउन गरिएको छ । जिल्ला सदरमुकाम बेनीका एक प्रतिष्ठित घरनाका ८० वर्षीय वृद्धको दसैंकै बीचमा बिहीबार कोरोना संक्रमणबाट मृत्यु भएपछि लकडाउन गरिएको हो । 



संघीय संसद्का समितिहरूले दिएका निर्देशन सरकारी तहमा कार्यान्वयन नहुने समस्या देखिएको छ । कोभिड– १९ पछिको अवस्थामा विभिन्न समितिले आफ्नो कार्यक्षेत्रभित्र रहेका निकायलाई दिएको निर्देशन सरकारले पालना नगरेको पाइएको छ । 

समितिले जनताको पिसिआर परीक्षण, क्वारेन्टिन व्यवस्थापन, उपकरण, अत्यावश्यक औषधि, नियमित स्वास्थ्य जाँच उपचारलगायतका विषयमा दिएको निर्देशन पनि सरकारले पालना नगरेको पाइएको हो ।



सरकारले भारत उत्तराखण्डको देहरादूनस्थित एक विद्यालयका विद्यार्थीमाथि भएको घटनाप्रति गम्भीर भएको बताउँदै नयाँदिल्लीस्थित नेपाली राजदूतावासमार्फत घटनाको सत्यतथ्यबारे जानकारी लिएको जनाएको छ । 

नेपाली सञ्चारमाध्यममा सार्वजनिक भएजस्तो घटना नभएको र १० नेपाली विद्यार्थीमाथि मात्र कुटपिट भएको बताउँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले घर फर्कन चाहनेलाई अनुमति दिन विद्यालय प्रशासन तयार रहेको जानकारी दिए ।



 म्याग्दीको सरमुकाम बेनी आउँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते अन्नपूर्ण गाउँपालिका, २ भुरुङकी अन्दाजी १० वर्षीया रिया विकको उपचारका क्रममा बेनी अस्पतालमा मृत्यु भएको हो ।



प्रदेश सरकारलाई संघको प्रशासनिक युनिट मात्र भएको भनेर टिप्पणी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता कार्यान्वयनमा अत्यावश्यक कानुनहरू निर्माणमा समेत बेवास्ता गर्दै आएका छन् । प्रहरीसम्बन्धी कानुनहरू लामो समयदेखि मन्त्रिपरिषदमा थन्किएका छन् ।



बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गराएका छन् । 

सुनवल नगरपालिका– १२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराएका हुन् । 



यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा मखमली फूलको मालाको खपत हुने गर्छ । तर यसवर्ष तिहार अगाडि नै सयपत्री फूल फुलिसक्ने भएकाले मागअनुसार फूल आपूर्ति हुन नसक्दा बजार प्रभावित हुने देखिएको छ ।

तर व्यवसायीहरुले भने तिहारमा स्वदेशी उत्पादनले नै फूलको माग धान्ने बताएका छन् ।



नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबारदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट संक्रमित भएको जनाएको छ । 



 कलाकार सुशीला दाहालको ६७ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो वर्षयता अमेरिका बस्दै आएकी उनको क्यान्सरको कारण‍ बिहीबार 'बस्टन'मा निधन भएको कलाकार हरिवंश आचार्यले बताए । 'मह जोडी'सँग उनले चर्चित टेलीश्रृंखला 'लालपूर्जा', 'चिरञ्‍जीवी', 'भकुन्डे भुत' लगायतमा अभिनय गरेकी थिइन् । 



प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले नेकपा विभाजन हुन सक्ने चेतावनी दिएका छन् । सचिवालयका केही सदस्यसहित आफू निकट नेताहरुसँग खुमलटारमा छलफल गरेका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीबाट यस्तो चेतावनी आएको बताएका हुन् ।



नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिस्ट आन्दोलनको आवश्यकता, आमकार्यकर्ता तथा शुभेच्छुकहरूको चाहना र जनादेशविरुद्ध हुने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र आ–आफ्नो ठाउँबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न आह्वान गरेका छन् । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट निधन भएकाको यकिन संख्या पत्ता लगाउन तीन सदस्यीय समिति गठन गरेको छ ।

मन्त्रालयले सार्वजनिक गरेकाे तथ्यांकमा आइतबारसम्म काेराेना संक्रमणबाट नाै सय ६० जनाकाे निधन भएकाे छ



 प्रधानमन्त्री केपी शर्मा ओली र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले न्यायालयको फैसला अवज्ञा गरेको आरोपमा ‘अदालतको अवहेलना’को मुद्दा सामना गर्नुपर्ने भएको छ ।

कोरोना संक्रमणको शंकामा परीक्षण र संक्रमण भएमा उपचार निःशुल्क हुनुपर्ने भनी सर्वोच्च अदालतले गरेको फैसला उल्लंघन गरेको आरोपमा सर्वोच्च अदालतमा अदालतको अवहेलना निवेदन दर्ता भएको हो ।



सरकारले कोभिड–१९ को लक्षित वर्गबाहेक अरूको उपचार खर्च लाग्ने भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले उपचार खर्च तोकेको छ । 

पहिले निःशुल्क गर्दै आएको अस्पतालले कोभिड–१९ का सङ्क्रमितलाई उपचार गर्नका लागि उपचार खर्च तोकेको हो । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले सरकारले नै उपचार खर्च नदिएपछि संस्था चलाउनका लागि सङ्क्रमितको लागि उपचार खर्च तोकिएको बताए । 


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक