आज मुख्यत : नेपालमा कोरोनाबाट छुटकारा पाउनेको संख्या करिब १ लाख पुग्यो, रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन, मङ्सिर ९ गतेबाट कक्षा १२ को परिक्षा, सुडानलाई आतंकवादको सूचीबाट हटाउँदै अमेरिका, ट्रम्पको चिनियाँ बैंकमा खाता भएको खुलासा लगायतका खबरहरूलाई समावेश गरिएका छन्। यस बाहेक देश-दुनियाँमा आज के-कस्तो हलचल देखीयो, सम्पूर्ण जानकारी यहाँ पाउनुहोस् ।
बुधबार ५,७४३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,४४,८७२ पुगेको छ भने मृत्यु हुनेको संख्या ७९१ पुगेको छ। हालसम्म नेपालमा ९९,६०५ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: २०,११८=> Recovered Today: २,९९६
सम्बन्धित :
राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कलकाे उद्घाटन गरेकी छिन्। २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी र दरबार हाइस्कलकाे पुनर्निर्माण सम्पन्न भइसकेको छ।
राष्ट्रिय मानव अधिकार आयोगका केन्द्रीय र प्रदेश कार्यालयहरु दसैं बिदामा पनि खुल्ने भएका छन् । आयोगले विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लंघनका घटनाहरुको उजुरी ग्रहण गर्नका लागि १२ बजेदेखि २ बजेसम्म कार्यालय खुला रहन जनाएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले देशभर मंसिर ९ गतेबाट कक्षा १२ को परीक्षा संचालन गर्ने भएको छ। बिहान ८ बजेदेखि साढे ९ बजेसम्म परीक्षा संचालन हुनेछ। शनिबार पनि परीक्षा संचालन गरेर मंसिर १६ गते सकिने बताइएको छ।
बिमा समितिले बिमा कम्पनीहरुलाई कोरोना बिमा गराएका संक्रमितहरुको उपचार खर्च बिमा रकमबाट असुल गर्ने सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
समितिले बुधबार निर्जीवन बिमा कम्पनीहरूलाई परिपत्र जारी गर्दै सरकारले नि:शुल्क बिमा गराउने भनी तोकेका संक्रमितहरुले कोरोना बिमा गराएको खण्डमा उनीहरुको उपचार खर्च बिमा रकमबाट असुल गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।
कोरोना रोकथाम तथा नियन्त्रणमा गोर्खा वेल्फेयर ट्रस्ट (जीडब्लुटी) ले ३ करोड रुपैयाँ खर्चिएको छ । बेलायत सरकारको वैदेशिक सहयोग नियोगले उपलब्ध गराएको उक्त रकम संस्थाले स्वास्थ्य सामग्री वितरण तथा सचेतनामूलक कार्यक्रममा खर्च गरेको हो ।
बारामा प्रहरीले गोली चलाएको छ । गोली प्रहारबाट भारतीय नागरिक बृजकिशोर कुशवाह घाइते भएका छन् ।
प्रदेश नम्बर २ का प्रहरी प्रमुख (डीआईजी) धीरजप्रताप सिंहका अनुसार भारतसँग सीमा जोडिएको बंकुर नाकामा भारतबाट नेपाल आएका कुशवाहले सोधपुछ गर्दा पेस्तोल देखाएर प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उम्मेदावारी दर्ता गरेका छन् । बुधबार महासंघको केन्द्रीय कार्यालय टेकुमा ढकालसहित उनको प्यानलका सबै उपाध्यक्षका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
भारतीय गुप्तचर विभाग 'रअ'का प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका छन् । उनी बुधबार दिउसो चार्टर्ड विमानमा आइपुगेका हुन् । उनी ८ घन्टा काठमाडौंमा रही बेलुकी ९ बजे फर्कने स्रोतले बताएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आयोगले कारबाहीका लागि सिफारिस गरेका व्यक्तिहरुलाई सरकारले तत्काल मुद्दा चलाउनुपर्ने बताएका छन् । विभिन्न समयमा अनियमितता गरेको, पदको दुरुपयोग गरेको तर कारबाहीका लागि सिफारिस हुँदासमेत पदको लाभ लिइरहेका व्यक्तिहरुलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत तत्काल मुद्दा चलाउनुपर्ने शर्माको भनाइ छ ।
कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह कोरोना भाइरस संक्रमित भएका छन् । उनलाई बुधबार संक्रमण पुष्टि भएको हो । गत शुक्रबार उनीसहित नगरपालिकाका १८ कर्मचारीको स्वाब संकलन गरी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले बताए ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकबीच बुधबार शिष्टाचार भेटवार्ता भएको छ । भेटवार्तामा दुईक्षीय सम्बन्ध, सहकार्य र सहयोगबारे कुराकानी भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकारद्वारा स्थापित ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा चालु आर्थिक वर्षको आफ्नो दुई महिनाको पारिश्रमिक दिएकी छिन् । राष्ट्रपतिले पारिश्रमिकस्वरुप मासिक एक लाख ७७ हजार ५ सय ३१ रुपैयाँ पाउँछिन् ।
कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय खोटाङले धार्मिक स्थलहरुमा पूजाआजा गर्न रोक लगाएको छ । दसैं–तिहार तथा छठपर्वको अवसरमा मठमन्दिर, शक्तिपीठ, पण्डाल, मस्जिद, गुम्बा र चर्चमा भीडभाड हुँदा संक्रमणको जोखिम देखिएको भन्दै धार्मिकस्थलमा पूजा, प्रार्थना, भजनकिर्तन, रथयात्रा, कलशयात्रा, बलिपूजा, मूर्ति विसर्जनलगायतका क्रियाकलाप गर्नमा रोक लगाइएको हो ।
क्यान्सरलाई मात दिएर अभिनेता सञ्जय दत्त श्रीमती मान्यता र छोराछोरीसँग भेटन दुबई उडेका छन् । केही महिनाअघि मात्रै फोक्सोको क्यान्सर भएको पत्ता लागेपछि सञ्जय मुम्बईमै पहिलो चरणको उपचार गरिरहेका थिए ।
उनको यो गाह्रो परिस्थितिमा छोराछोरीलाई दुबईमा नै छोडेर मान्यता मुम्बई सञ्जयको साथमा बस्न आएकी थिइन् ।
पाकिस्तान जान भिसाका लागि आवेदन दिन जम्मा भएको भीडमा भागदौड मच्चिँदा अफगानिस्तानमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । भिसा आवेदनका लागि पाकिस्तानी कन्सुलेट कार्यालय अगाडि झन्डै ३ हजार जना भेला भएका थिए ।
ब्राजिलले चीनमा बनेको कोरोना खोपलाई राष्ट्रिय प्रतिरक्षा कार्यक्रममा समावेश गर्ने भएको छ । साओपाउलोका गभर्नर जोआओ डोरिआले ब्राजिलको संघीय सरकारले चीनमा बनेको कोरोना खोप कोरोनाभ्याकको ४ करोड ६० लाख डोज किन्ने निर्णय गरेको जानकारी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आतंकवाद पीडितहरू र उनीहरूका परिवारलाई ३३ करोड ५० लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्ने प्रतिबद्धता पूरा गरेमा सुडानलाई आतंकवाद प्रायोजक राष्ट्रहरूको सूचीबाट हटाइने बताएका छन् ।
तर सुडानी आक्रमणमा घाइते भएकाहरूमध्ये केहीले राष्ट्रपति ट्रम्पको सर्त स्विकार्य नभएको प्रतिक्रिया दिएका छन् । यो कदमले अफ्रिकी मुलुक सुडानका लागि अन्तर्राष्ट्रिय ऋण र सहायता लिन बाटो खुल्नेछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका अन्य देशमा कोभिड–१९ संक्रमितको संख्या फेरि बढ्न थालेको भन्दै नागरिकलाई सचेत हुन आग्रह गरेका छन् ।
देशमा भाइरसको संक्रमण फैलिएपछि देशवासीका नाममा गरेको सातौं सम्बोधनका क्रममा मोदीले भारतमा कोभिड–१९ संक्रमितहरू निको हुने दर निकै उत्कृष्ट रहेको समेत बताए । प्रधानमन्त्री मोदीका अनुसार भारतमा करिब ८८ प्रतिशत संक्रमित निको भइसकेका छन् ।
चीनको चर्को विरोध गर्दै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीनमा बैंकखाता रहेको खुलासा भएको छ ।
न्युयोर्क टाइम्सले खुलासा गरेअनुसार ट्रम्पको करको अभिलेख हेर्दा उनले चीनमा कैयन व्यापारिक परियोजना विस्तार गरेको र चीनमा बैंक खातासमेत खोलेको देखिन्छ ।
नाइजेरियामा प्रहरीले प्रदर्शकारीमाथि अन्धाधुन्ध गोली चलाउँदा दर्जनौँको मृत्यु भएको छ ।
प्रहरी ज्यादतिविरुद्ध सडकमा उत्रिएका सयौँ प्रदर्शकारीमाथि प्रहरीले गोली चलाएको हो । प्रत्यक्षदर्शीलाई उद्धृत बिबिसीले जनाएअनुसार सडकमा २० जनाभन्दा बढीकाे लास देखिएको छ । यस्तै ५० जनाभन्दा बढी घाइते भएका छन्।