छोटकरीमा : आज - २०७७ कार्तिक ०३, सोमबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



सोमबार ३,७९० जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,३६,०३६ पुगेको छ भने मृत्यु हुनेको संख्या ७५७ पुगेको छ। हालसम्म नेपालमा ९४,५०१ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १५,७१४ => Recovered Today: २,३३५

सम्बन्धित :

  • कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १८ जनाको निधन भएको छ ।देशभर सोमबार ३७ सय ९० संक्रमित थप भएका छन् भने २३ सय ३५ जना संक्रमणमुक्त भएका छन् ।
  • पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ३ सय ८८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा २ हजार ८ जना, ललितपुरमा २ सय ८१ जना र भक्तपुरमा ९९ जना काेराेना संक्रमित थपिएकाे जनाएका छन् ।



कोभिड-१९ को संक्रमण दर बढिरहेकाले सरकारले काठमाडौंमा १५ दिन भित्रै दुई हजार तथा बढी प्रभावित जिल्लामा २०० वटा हाइ डिपेन्डेन्सी बेड बनाउने निर्णय गरेको छ। 



अबदेखि कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने सरकारी निर्णयप्रति चाैतर्फी विरोध भएको छ । 

प्रमुख प्रतिपक्ष दल कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य डा. शेखर कोइराला, गगन थापालगायतका नेताले यसको विरोध गरेका छन् । 



सरकारी अस्पतालहरुले कोभिड-१९ संक्रमित बिरामीको उपचार खर्च नव्यहोर्ने निर्णय सोमबारदेखि लागू गर्न थालेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार कोरोनाको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको नियमित पत्रकार सम्मेलनमा बताएका थिए । अस्पतालहरुले यही निर्णय कार्यान्वयन गर्न थालेका हुन् ।  



गृह मन्त्रालयले सोमबार मोबाइल, सामाजिक सञ्‍जाल लगायतका विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषय समेत जोडी संकटकाल-कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषित भएको पाइएको भन्दै त्यसलाई गलत, तथ्यहीन, भ्रामक र निराधार भनेको छ ।



 प्रधानमन्त्री केपी शर्मा ओलीसहित सम्पूर्ण मन्त्रीहरुले यस वर्षको दशैं भत्ता नलिने भएका छन्। दशैं खर्चवापत प्राप्त रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण तथा उपचार कोषमा उपलब्ध गराउने सरकारले निर्णय गरेको हो।

सरकारले प्रदेश र स्थानीय तहका पदाधिकारीहरुलाई पनि यस वर्षको दसैं भत्ता नलिन र कोरोना नियन्त्रण कोषमा जमा गर्न आग्रह गरेको छ। 



कोरोना कहरले जनतालाई सताइरहेका बेला कर्णालीका स्थानीय तह र प्रदेश तहका जनप्रतिनिधिको लागि दसैं (चाडपर्व) खर्चबापत सवा ६ करोड रुपैयाँ खर्च भएको छ । कर्णाली प्रदेशसभाले पारित गरेको कानुनअनुसार उनीहरुको बैंक खातामा दसैं खर्च गइसकेको छ ।



भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्री नेम्बाङले सामजिक सञ्जाल मार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी गराएका हुन् ।



 प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सांसदहरूलाई दिएको दसैं भत्ता फिर्ता गराउन र कोरोना संक्रमितको निशुल्क उपचार गर्नका लागि सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले आफ्नो दलका सबै सांसदहरूलाई दसैं भत्ताबापत आएको रकम फिर्ता गर्न पनि निर्देशन दिएका छन् । 



 ६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडसम्मका अस्पतालहरूको शिलान्यास हुने भएको छ । अस्पतालहरुको डिजाइन स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई उपलब्ध गराउने र सबै पालिकामा अस्पतलाल भवनको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्ने गरी निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।



सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अशक्त र विपन्न वर्गको कोरोना उपचार सरकारले गर्ने कुराको सुनिश्चितता गरिएको बताएका छन् । सरकारले कोरोना संक्रमितको उपचारमा लाग्ने खर्च नबेहोर्ने भनेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दिएको अभिव्यक्तिपछि भइरहेको आलोचनालाई मत्थर पार्ने उद्देश्यले सरकारका प्रवक्ताले उक्त कुरा भनेका हुन् ।



चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले बेल्ट अफ् रोड इनिसिएटिभ (बीआरआइ) परियोजनासँग सम्बन्धित रहेर नेपालका राजनीतिक दलसँग भर्चुअल गोष्ठी गर्ने भएको छ ।

मंगलबारका लागि तय भएको भर्चुअल गोष्ठीलाई फेन्डस् अफ सिल्क रोड क्लब नेपालले संयोजन गरेको नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए ।



प्रहरी सहायक निरिक्षक गोविन्द विकको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरेर कारबाहीको दायरामा ल्याउन माग गर्दै उनका आफन्त र स्थानीयले धनगढीमा प्रदर्शन गरेका छन् । 

धनगढी उपमहानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरिक्षक गोबिन्द विकको शनिबार राति गस्तीमा गएका बेला हत्या भएको थियो । मोटरसाइकलमा उनीसँगै गस्तीमा गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात छ । 



सरकारका नवनियुक्त सूचना तथा सञ्‍चारमन्त्री मन्त्री पार्वत गुरुङले सरकार जनताको जीवन र स्वास्थ्यप्रति अत्यन्त संवेदनशील रहेको बताएका छन् । कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिकेको भन्‍ने विषयमा भ्रममा नपर्न भन्दै स्पष्टिकरण दिएका छन् ।

सोमबार असोज २६ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै उनले सरकारले गरेका कामको फेहरिस्त सुनाउँदै जनताको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताए ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले होम आइसोलेसनमा बसेका संक्रमितको निधन भएको खण्डमा आफन्तले परम्परा र संस्कृतिअनुसार दाहसंंस्कार गर्न चाहेमा पाउने व्यवस्था मात्र गरिएको बताए ।



जनता आफैँले कोरोनाको उपचार गर्नुपर्ने सरकारको नीतिको नेकपा मसालले पनि विरोध गरेको छ । 

प्रवक्ता रामप्रकाश पुरीले सोमबार विज्ञप्ति जारी गर्दै उपचारको जिम्मेवारी नलिने र बिरामी आफैँले यसको जिम्मा लिनुपर्ने घोषणाले गैरजिम्मेरीको नांगाे रूपमा प्रस्तुत गरेर कर्तव्यबाट सरकार भाग्न खोजेको उल्लेख गरेका छन् ।



 वाग्मती प्रदेश संसद सचिवालयले दसैं भत्ता बापत सांसद र उनीहरुको स्वकीयहरुका लागि रकम उपलब्ध गराएको छ । दसैं सुरु हुनु अगाडि नै सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७ सय ९० रुपैयाँ भत्ता बापत वितरण गरिएको छ । दसैं भत्ता बापतको रकम सांसदहरूलाई ५४ लाख ७९ हजार ८ सय ४० रुपैयाँ र स्वकीय सचिवहरूलाई २७ लाख ७० हजार नौ सय ५० रुपैयाँ सम्बन्धित बैंक खाता मार्फत दाखिला गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।



कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण जिल्ला प्रशासन झापाले राति 'लकडाउन' घोषणा गरेको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३) बमोजिम आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।



श्रम अदालतको अध्यक्षमा उच्च अदालत तुलसीपुरका न्यायाधीश रामप्रसाद ओलीलाई जिम्मेवारी तोकिएको छ । 

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुंगले श्रम अदालत गठन गरिएको जानकारी दिएका हुन् । 



चीनको 'बक्सअफिस'ले अमेरिकालाई उछिनेर विश्वकै ठूलो बनेको छ । अमेरिकाको मनोरञ्जन क्षेत्रलाई कोरोना महामारीले असर पारिरहेको बेला चीनका फिल्म हलहरु भने कमाइको पुरानै लयमा फर्किन थालेका छन् ।

कोरोना महामारीपछि चीनका हजारौं फिल्म हल ७५ प्रतिशत अकुपेन्सीमा खुलेको हलिउड रिपोर्टरले जनाएको छ ।



अभिनेता शाहरुख खान र अभिनेत्री काजोलको सुपरहिट चलचित्र ‘दिलवाले दुल्हनिया ले जायेंगे’को २५ औं वार्षिकोत्सवको उपलक्ष्यमा लण्डनको लेसेस्टर स्क्वायरमा काजोल र शाहरुखको ब्रोन्ज (कास्य) मूर्ति अनावरण गरिने छ । चलचित्रका चर्चित सिनमध्ये एक दृष्यमा भएका राज र सिमरनलाई मूर्तिमा उतारिने छ । 



बलिउड अभिनेता आमिर खान हाल दिल्लीमा आफ्नो बहुप्रतिक्षित चलचित्र ‘लालसिंह चड्डा’ को छायांकन गर्दैछन् । 

चलचित्रकै एक दृश्य छायांकनका क्रममा अभिनेता आमिरलाई चोट लाग्यो । यद्यपि आमिरले छायांकन नरोकी केही समयको आरामपछि नै पेन किलर खाएर उनी छायांकनमा फर्किएको सेटकै एक स्रोतले भारतीय सञ्‍चारमाध्यमलाई जनाएका छन् ।



दुई सातायतादेखि भियतनाममा जारी बाढी र पहिरोका कारण कम्तीमा ९० जनाको ज्यान गएको प्राकृतिक प्रकोपको उद्धारसम्बन्धी अधिकारीहरूले जनाएका छन् । ६ अक्टोबरदेखि विभिन्न स्थानमा भीषण वर्षा हुँदा पाँच लाखभन्दा बढी घरपालुवा पशु चौपाया पनि मरेका बताईएको छ ।



अमेरिकामा राष्ट्रपति निर्वाचन हुन १६ दिन बाँकी रहँदा दुई करोड ७० लाख मतदाताहरुले मतदान गरिसकेका छन् । सीएनएन, एडिसन रिसर्च एन्ड क्याटालिस्टका निर्वाचन अधिकारीहरुको सर्वेक्षण अनुसार औपचारिक मतदानको दिनभन्दा १६ दिन अघि नै दुई करोड ७० लाख मतपत्र खसिसकेका छन् ।



कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि इटालीमा प्रतिबन्धात्मक नियमहरु थप कडा गरिएका छन् । मास्क लगाएर उपस्थित भएका प्रधानमन्त्री जुसेपे कोन्टेले पुनः लकडाउनको अवस्था आउन नदिनका लागि प्रतिबन्धात्मक उपायहरु लागु गर्नु परेको बताएका छन् ।



 कोरोना महामारीले थलिएको चिनियाँ अर्थतन्त्रमा सुधार देखिएको छ । चीनको राष्ट्रिय तथ्यांक ब्युरोले सोमबार प्रकाशित गरेको तथ्यांकअनुसार यस आर्थिक वर्षको तेस्रो त्रैमासिक(जुलाई–सेप्टेम्बर) मा चीनको अर्थतन्त्र ४.९ प्रतिशतले वृद्धि भएको छ । 



अमेरिकामा झन्डै ७० वर्षपछि एक जना महिला कैदीलाई मृत्युदण्ड दिन लागिएको न्याय मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सन् २००४ मा मिसोरी राज्यमा लिसा मन्टगमरीले एउटी गर्भवती महिलाको हत्यापछि पेट चिरेर बच्चाको अपहरण गरेकी थिइन् ।



 कोभिड १९ को रोकथाम एवं नियन्त्रणलाई लिएर अन्योल र त्रास कायमै रहेका बेला सरकारद्वारा गठित एउटा विशेष समितिले भने भारतमा संक्रमण उच्च बिन्दुमा पुगेर क्रमश: ओरालो लागिरहेको दाबी गरेको छ । भारतको प्रतिष्ठित शैक्षिक संस्थान इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी), हैदरावादका प्राध्यापक एम विद्यासागरको नेतृत्वको कोभिड १९ सुपरमोडल समितिले महामारीको प्रक्षेपणलाई गणितीय हिसाबले विश्लेषण गरेर त्यस्तो निष्कर्ष निकालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



काबुल — अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको साहिब जिल्लामा सेना र तालिबान विद्रोहीबीच भएको झडपमा १२ जनाको मृत्य भएको छ । मृत्यु हुनेमा सात जना सैनिक छन् ।

झडपमा कम्तीमा पाँच जना विद्रोही मारिएका अधिकारीले आइतबार पुष्टि गरेका छन् । करिब दुई दशकदेखि अफगानिस्तानमा जारी युद्ध अन्त्यका लागि कतारको राजधानी दोहामा अफगान सरकार र तालिवानबीच वार्ता जारी छ । 



बेलायती प्रधानमन्त्रीको कार्यालयले ब्रेक्जिटपछि युरोपेली संघसँग हुने व्यापारसम्बन्धी सम्झौताका लागि जारी वार्ता ‘सकिएको’ जनाएको छ । प्रधानमन्त्री कार्यालयले साझेदारीबारे विस्तृत कानुनी मस्यौदा छलफल गर्न युरोपेली संघ तयार नहुँदासम्म वार्ता जारी राख्नुको कुनै औचित्य नहुने जनाएको हो ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक