यस साता : राजनीतिक घटनाक्रमहरू :

यस हप्ता नेपाली राजनीतिक वृतमा के-कस्ता घटनाहरू घटे ? हप्ताभरका सम्पूर्ण राजनीतिक गतिविधिहरू एकसाथ यहाँ पाउनुहोस् ।



 चीनले हुम्लासँग जोडिएको नेपाली भूमि मिचेको नेपाली कांग्रेसले आरोप लगाएको छ । कांग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाही नेतृत्वको टोलीले विवादित क्षेत्रको स्थलगत अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको हो । उनको यो प्रतिवेदन र भनाइमा सरकारको प्रतिक्रिया आउन बाँकी छ ।



नेकपा कर्णाली प्रदेश सभा दलका प्रमुख सचेतक गुलावजंग शाहलाई जिम्मेवारीबाट हटाइएको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री एवं नेकपा प्रदेश सभा दलका नेता महेन्द्रबहादुर शाहीले उनको काम सन्तोषजनक नभएको भन्दै जिम्मेवारीमुक्त गरेका हुन् ।



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशको पार्टी विवाद मिलाउन प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन्। कर्णाली प्रदेशका १८ सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन्। तत्कालीन एमाले र माओवादी एकताअघि मुख्यमन्त्री भागवण्डा हुँदा कर्णाली प्रदेश माओवादीको भागमा परेको थियो। 



सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेशमा देखिएको राजनीतिक खिचातानीलाई साम्य पार्न पार्टीका दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड सक्रिय बनेका छन् । 

दुई अध्यक्षले प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव राख्न नेतृत्व गरिरहेका सांसद यमलाल कँडेललाई उक्त अभियानबाट पछि हट्न निर्देशन दिएको स्रोतले जनाएको छ । 



नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली प्रदेशमा देखिएको अराजनीतिक गतिविधि अन्ततः असफल भएको बताएको छ ।

सचिवालयमा रहेकी प्रचण्डपुत्री गंगा दाहालले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै नेतृत्वले देखेको एकताको सपना साकार पार्ने सबैलाई धन्यवाद पनि दिएकी छन् ।



कर्णाली प्रदेशको संसदीय दलमा विवाद बढेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले प्रदेश कमिटीका पदाधिकारीसहित मुख्यमन्त्रीलाई बिहीबार काठमाडौं बोलाएका छन् । दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद बढेको थियो । 



हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ।  सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि सरकार मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको कांग्रेसको आरोप छ।



कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका सांसदहरूले माधव नेपाल समूहबाट ‘धोका’ भएको निष्कर्ष निकालेका छन् ।

आफैं अभियानका थालनी गरेका नेपाल पक्षले मुद्दा बाटैमा अलपत्र छाडेर पद लेनदेन गरेपछि प्रदेशका हस्ताक्षरकर्ता सहयात्री सांसदहरूले असन्तुष्टि जनाएका हुन् ।



नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशमा देखिएको विवादले पार्टीलाई राम्रो नगरेको बताएका छन् । कर्णालीबाट आएका नेताहरुसँग शुक्रबार भएको भेटमा उनले यस्तो बताएका थिए ।

कर्णाली प्रदेशका नेता यामलाल कँडेलले पार्टी एकतादेखि अहिलेसम्म भएका कमीकमजोरीका बारेमा जानकारी गराएका थिए । उनले संघीयताको मर्मविपरीत केन्द्रको हस्तक्षेप मान्य नहुने पनि बताएका थिए ।



राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार ९४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ। उनलाई सो बराबरको बिगो असुल, जरिवाना र कैद सजाय मागदाबी लिएर सोमबार उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरिएको राजश्व अनुसन्धान विभागले जनाएको छ। 



जनता समाजवादीका नेता एवं पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ठूला पार्टीका अध्यक्षले गरेको भ्रष्टाचारबारे आफूले बोलेपछि ठूलो कम्पन आएको बताएका छन् । सोमबार पर्सामा आयोजित पार्टी प्रवेश तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले अर्बौंको घोटाला भएको दावी दोहोर्‍याए । 



गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरू बढ्न सक्ने भन्दै तिनलाई रोक्ने गरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन्। 

गृहमन्त्री थापाले चाडपर्वलक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका निकायलाई निर्देशन दिएका छन् ।



उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बजारमा मूल्यवृद्धि नभएको बताएका छन् । जब कि उपभोक्ताकर्मीहरूले दसैँ नजिकिँदै गर्दा उपभोग्य सामग्रीसहित तरकारीहरूमा मूल्यवृद्धि भएको बताउँदै आएका छन् । 

उनले लामो समय लकडाउन भएपछि खुलेको बजारमा कुनै पनि खाद्यान्नलगायत दैनिक रूपमा प्रयोगमा आउने वस्तुमा महँगी नभएको दाबी गरे । 



प्रधानमन्त्री केपी ओलीले एघारौँपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । एघारौँ पुनर्गठनमा तीनजना मन्त्री थपिएका छन् भने दुई मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्‍मा हेरफेर गरेकी छन्। नयाँ मन्त्रिपरिषद्‍मा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् भने उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ।



 सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनप्रति गम्भीर असहमति व्यक्त गरेका छन् । बुधबार दुई अध्यक्षको बालुवाटारमा भेटवार्ता भएको थियो । भेटमा कर्णाली प्रदेशको विवाद सल्ट्याउने विषयमा मात्रै कुरा भएको स्रोतको जिकिर छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पक्षका तीन नेतालाई मन्त्री बनाउने गरी मन्त्रिपरिषद पुनर्गठन गरेपछि नेकपाभित्र हल्लीखल्ली मच्चिएको छ ।प्रधानमन्त्री ओली स्थायी कमिटीको निर्णय र कार्यदलको सुझावलाई पूृर्णतः बेवास्ता गरेर मनपरी ढंगबाट अघि बढेको भन्दै माधव नेपाल पक्षले आपत्ति जनाएको छ ।



हुम्लामा चिनियाँ पक्षबाट भएको सीमा अतिक्रमणलाई सरकारले ढाकछोप गर्न खोजेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले आपत्ति जनाएको छ।  सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि सरकार मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको कांग्रेसको आरोप छ।



न्यायपरिषद्ले ८४ जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको छ । परिषद्को बुधबार बसेको बैठकले विशेष अदालतका अध्यक्ष र सदस्यको समेत सरुवा गरेको छ । 

विशेषका अध्यक्ष शिवराज अधिकारीको स्थानमा उच्च अदालत दिपायलका प्रेमराज कार्कीलाई ल्याइएको छ । सदस्यमा उच्च अदालत सुर्खेतका अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेलाई ल्याउने निर्णय भएको छ ।



सर्वाेच्च अदालतमा विचाराधीन राष्ट्रिय सभा सदस्य वामदेव गौतमको योग्यतासम्बन्धी मुद्दा बुधबारको पेशी सूचीबाट हटाइएको छ । 

सर्वोच्च प्रशासनका अनुसार कोरोना संक्रमणको जोखिमका कारण संवैधानिक इजलास स्थगित भएको हो । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले दायर गरेको वामदेवको योग्यतासम्बन्धी मुद्दा असोज १२ बाट सर्वोच्चको संवैधानिक इजलासमा सरेको थियो । 



धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको कोभिड– १९ अस्पतालका भेन्टिलेटरहरू तीन महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरूलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटरमध्ये ६ वटाले काम नगरेर थन्किएपछि भेन्टिलेटरकै अभावमा संक्रमितको ज्यान गएको थियो ।



बुढीगण्डकी परियोजनामा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले अर्बौं घुस लिएको भनी पूर्वप्रधानमन्त्री एवं जसपा नेता बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको सत्तारुढ नेकपाले खण्डन गरेको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति प्रकाशित गर्दै भट्टराईको आरोप झुटो, कपोलकल्पित, आधारहीन र दुराशयपूर्ण भएको बताएका छन् ।



कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो । 



राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सरकारले बुधबार मात्र आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डल पुनर्गठन गरी नयाँ तीन अनुहारलाई समावेश गरेको थियो ।



सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए ।



नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका घटनाको छानबिनका लागि दबाब बढाउन आह्‍वान गरेका छन् ।

उनले ट्‌विटरमा बूढीगण्डकी जलविद्युत् आयोजनाबारे पार्टीको धारणायुक्त पुरानो भिडियो पोस्ट गरेर भ्रष्टाचारका घटनाको छानबिन र कारबाहीका लागि दबाब बढाउन आह्‍वान गरेका हुन् ।



नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद सानु शिवा पहाडीको निधन भएको छ । उनकाे बुधबार बिहान साढे १० बजे निधन भएकाे हाे । 

उनी नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य याने कि सांसद थिइन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन् । 



 प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पछिल्लो राजनीतिक विवादबाट मुक्त भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको स्रोतले जानकारी दियो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बाहिरका राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको बताएका थिए ।



कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रह्माजी आए पनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन् । 

शुक्रबार ४०औँ विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन् । 

उनले तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन भगवान् शिव वा ब्रह्मा आए पनि नसक्ने टिप्पणी गरे । 



 प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बालिका बलात्कार र दलितमाथि भएको दमन रोक्न प्रहरी सक्रिय हुनुपर्ने बताएका छन् । प्रदेश २ मा बलात्कारसहित अन्य आपराधिक घटना मौलाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रहरीले अपराधीको मानसिकता नै परिवर्तन गर्ने समय आएको बताए । 



प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारका घटना मिलापत्र गराउने र छोपछाप पार्ने कुरा सह्य नहुने बताएका छन् । नेपाल प्रहरीको ६५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उनले बलात्कारका घटनामा कुनै पनि प्रलोभनमा नपर्न पनि प्रहरीलाई आग्रह गरेका छन् । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक