आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।
बिहीबार ३,७४९ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १,२१,७४५ पुगेको छ भने मृत्यु हुनेको संख्या ६९४ पुगेको छ। हालसम्म नेपालमा ८४,५१८ जना कोरोना संक्रमित निको भएका छन्।
=> PCR Tests Today: १६,५९८ => Recovered Today: ३,५६४
सम्बन्धित :
राष्ट्रिय मानवअधिकार आयोगले दुई सय ८६ जना मानव अधिकार उल्लंघनकर्ताको सूची सार्वजनिक गरेको छ । २० वर्षको अवधिमा आयोगमा १२ हजार आठ सय २५ उजुरी परेको र त्यसमध्ये ६ हजार ६ सय १८ आयोगले फर्स्याेट गरेको छ ।
पर्साको ठोरी गाउँपालिकामा प्रहरी र हतियारधारी समूहबीच बुधबार राति झडप भएको छ । जंगलछेउको ओरिया खोलामा लागुऔषध तस्कर र प्रहरीबीच झडप भएको हो ।
तस्कर समूहले एक राउन्ड फायर गरेपछि प्रहरीले पनि दुई राउन्ड हवाई फायर गरेको इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहले जानकारी दिए ।
छिमेकी देश चीनको तिब्बतसँग सीमा जोडिएको दोलखाको लामाबगरमा सशस्त्र प्रहरीले बिओपी स्थापना गरेको छ ।
मन्त्रिपरिषद्को निर्णयअनुसार बुधबार सशस्त्र प्रहरी बलका डिआइजी मन्दीप श्रेष्ठले उद्घाटन गर्दै बिओपी स्थापना भएको घोषणा गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो ।
पोखरा महानगरपालिकाले अत्यावश्यक सेवाबाहेकका सबै सेवा बन्द गरेको छ ।
कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको मेयर मानबहादुर जिसीले जानकारी दिए ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रजिअलाई कोरोना पजिटिभ भएपछि जिल्ला प्रशासन कार्यालय सात दिनलाई सिल गरिएको छ ।
बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टमाथि कुटपिट भएको छ । आन्दोलनरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष विष्टमाथि ढुंगा प्रहार भएको र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमित आइसोलेसनमा नबसे संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुने चेतावनी दिएको छ । तर, पोखरामा संक्रमित नै फेला नपर्ने समस्या देखिएको छ । पोखरा महानगरको स्वास्थ्य महाशाखाका अनुसार पछिल्ला हप्ता सातजना संक्रमित फेला परेका छैनन् । उनीहरूलाई खोजिएको भए पनि स्वाब परीक्षण गराउँदा नक्कली परिचय र नक्कली नम्बर टिपाएकाले समस्या आएको हो ।
वीरेन्द्रनगरका किशोरी तथा बालिकाहरुले बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले बिहीबार र्यालीसहित प्रदर्शन गरेका हुन् ।
सरकारले कोरोना संक्रमितको उपचार आफ्नै खर्चबाट गर्न भनेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बाह्रखरीसँग कुरा गर्दै जसले इन्स्योरेन्स गरेको छ उसले सोही रकमबाट र नगरेको भए खल्तीबाटै खर्च गरेर कोरोनाको उपचार गर्नुपर्ने बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री लीलानाथ श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् । सरकारले बुधबार मात्र आफ्नो नेतृत्वमा रहेको मन्त्रिमण्डल पुनर्गठन गरी नयाँ तीन अनुहारलाई समावेश गरेको थियो ।
सुर्नया गाउँपालिका वडा नं ५ का वडाध्यक्ष केशव मडैको निधन भएको छ । उनको बिहीबार ७० वर्षका उमेरमा निधन भएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । वडाध्यक्ष मडै लामो समयदेखि मधुमेह, उच्च रक्तचाप र कमलपित्तको बिरामी रहेको गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए ।
काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा रहेको एउटा घरमा बिहीबार दिउँसो एलपीजी ग्यास सिलिन्डर पड्किँदा ११ जना घाइते भएका छन्। घाइतेहरूको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ।
बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले गोरखाको मनास्लु हिमाल आरोहण गरेको छ । बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमाल आरोहण सम्पन्न गरेको सेभेन समिट ट्रेक प्रालिका प्रबन्धक निर्देशन पासाङ फुर्बा शेर्पाले बताए ।
सम्बन्धित :
पर्साको ठोरी गाउँपालिकाको विजयवस्तीस्थित ओरिया खोलाको बगरमा बुधबार राति प्रहरी र हतियारधारी समूहबीच दोहोरो फायरिङ भएको छ ।
हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीका प्रमुख प्रहरी निरीक्षक अशोक साहका अनुसार पक्राउ परेका ४ जना स्थानीय नै हुन् ।
सियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको छ । नेपाली फुटबलले ग्रासरुट फुटबल विकासमा हाँसिल गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले एन्फालाई ग्रासरुट चार्टर ब्रोन्ज लेभेल सदस्यता प्रदान गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले ट्विट गरेर आफूलाई कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि गरेका छन् ।
कोरोना भाइरसको संक्रमण देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गर्दै अध्यक्ष थापाले केही दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् ।
गण्डकी प्रदेशसभा सदस्य रामबहादुर गुरुङलाई कोरोना संक्रमण भएको छ ।
उनले आज फेसबुकमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जनाएका छन् ।
पाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भ्रष्टाचारका घटनाको छानबिनका लागि दबाब बढाउन आह्वान गरेका छन् ।
उनले ट्विटरमा बूढीगण्डकी जलविद्युत् आयोजनाबारे पार्टीको धारणायुक्त पुरानो भिडियो पोस्ट गरेर भ्रष्टाचारका घटनाको छानबिन र कारबाहीका लागि दबाब बढाउन आह्वान गरेका हुन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले ०७७ कात्तिक ७ गतेबाट क्लिनफिड लागू गर्नुपर्ने बताएको छ ।
मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै क्लिनफिडबारे सजग गराएको हो । कात्तिक ७ गतेभित्र विज्ञापनरहित प्रसारण नभएमा प्रचलित कानुनबमोजिम अघि बढिनेसमेत मन्त्रालयले जनाएको छ ।
विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ ।
पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाहगृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाहगृह निर्माण गर्न लागिएको हो ।
महानगरपालिकाको आर्थिक वर्ष ०७७–७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाहगृह निर्माण हुनेछ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद सानु शिवा पहाडीको निधन भएको छ । उनकाे बुधबार बिहान साढे १० बजे निधन भएकाे हाे ।
उनी नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य याने कि सांसद थिइन् । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधनमा दुःख व्यक्त गरेका छन् ।
कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुह्येश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवीलगायतका शक्तिपीठहरू कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पछिल्लो राजनीतिक विवादबाट मुक्त भएको बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले यस्तो बताएको स्रोतले जानकारी दियो । एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले बाहिरका राजनीतिक विवादबाट मन्त्रिपरिषद् मुक्त रहेको बताएका थिए ।
चीन सरकारले किङदाओ सहरमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि दुई उच्च अधिकारीहरुलाई पदमुक्त गरेको छ ।
किङ्दाओ सहरमा एक अस्पतालबाट कोरोना भाइरसको संक्रमण सुरु भएपछि सहरको स्वास्थ्य आयोगमा प्रमुखलाई पदमुक्त गरिएका हुन् ।
कोरोना भाइरसको संक्रमण बढेपछि बेलायतमा फेरि प्रतिबन्धहरु कडा पारिने भएका छन् । बीबीसीका अनुसार लन्डनमा दोस्रो चरणको कोरोना भाइरस प्रतिबन्धहरु जारी गरिने भएको हो ।
लन्डनका लाखौं नागरिकहरुले शुक्रबार मध्यराति देखि कडा प्रतिबन्धहरुको सामना गर्नुपर्ने एकजना सांसदले बताएका छन् ।
फ्रान्स प्रहरीले स्वास्थ्यमन्त्री ओलिभियर भेरानको घरको खोजी गरिरहेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले गरेको कामबारे अनुसन्धान गर्न प्रहरीले स्वास्थ्यमन्त्रीको घर खोजिरहेको बीबीसीले जनाएको छ ।
महामारी नियन्त्रणका सम्बन्धमा अनुसन्धान भइरहेका धेरै वर्तमान र पूर्वस्वास्थ्यमन्त्रीहरुमध्ये एक हुन् । उक्त अनुसन्धानमा फ्रान्सका पूर्वप्रधानमन्त्री एडवार्ड फिलिप पनि रहेका छन् ।
चीनको तिब्बत स्वशासित क्षेत्र अब अति गरिबीबाट मुक्त भएको छ । तिब्बतमा कूल ७४ वटा अति गरिबीग्रस्त जिल्लाहरू रहेकोमा अब ती स्तरोन्नति भएका बिहीबार त्यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
अफगानिस्तानको हेलमन्द प्रान्तमा सरकारी सैन्यबल र तालिवान विद्रोहीबीच तीन दिनयता जारी भीषण लडाइँका कारण कम्तीमा ३५ हजार स्थानीय विस्थापित भएका छन् । गत महिना अफगान सरकार र तालिवानबीच सुरु भएको शान्ति वार्तापछि दुवै पक्षबीच पहिलो पटक भीषण लडाइँ भएको हो । दुवै पक्षबीच कतारको राजधानी दोहामा वार्ता जारी छ ।
थाइल्यान्डमा प्रधानमन्त्रीको राजीनामा तथा नयाँ संविधानको माग गर्दै बुधबार दसौं हजारले प्रदर्शन गरेका छन् । राजधानी बैंककमा भेला भएका प्रदर्शनकारीले राजाको अधिकार कटौतीको मागसमेत जोडदार रूपमा उठाएका छन् ।
राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकाल घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइटहाउसको वेबसाइटमार्फत छोरा ब्यारोनलाई कोभिड– १९ संक्रमण देखिएको बताएकी हुन् ।