छोटकरीमा यस हप्ता : असोज १८ गतेदेखि असोज २५ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (असोज १८-असोज २५ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? सम्पूर्ण गतिविधिहरू एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



यस वर्षको चिकित्सातर्फको नोबेल पुरस्कार ‘हेपाटाइटिस सी’ भाइरस पत्ता लगाउने तीन जना वैज्ञानिक हार्भी जे एल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइएको हो। विजेतालाई स्वर्ण पदक र संयुक्त रुपमा ११ लाख १८ हजार अमेरिकी डलर दिइनेछ।



 सन् २०२० को रसायन शास्त्रतर्फको नोबेल पुरस्कार जिन सम्पादन सम्बन्धी प्रविधिको विकास गर्ने दुई जना वैज्ञानिकहरुले पाउने भएका छन् । जिनोम इडिटिङ विधिको विकास गर्ने वैज्ञानिकद्वय इम्मानुएल सार्पेन्टिर र जेनिफर डाउड्नालाई सो पुरस्कार पाएका हुन् । पुरस्कारको राशी १ करोड स्वीडस कोर्नर रहेको छ ।



यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ। विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन्। सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लिक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन्।



यस वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) लाई दिइने भएको छ। संयुक्त राष्ट्र संघीय विश्व खाद्य कार्यक्रमले भोकलाई परास्त गर्न गरेको प्रयास र द्वन्द्वग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि गरेको पहलका लागि सो पुरस्कार प्रदान गरिएको नोबेल कमिटीले जनाएको छ।



सन् २०२० को भौतिक शास्त्रको नोबेल पुरस्कार प्राध्यापकहरू रोजर पेनरोज, राइन्हार्ड गेञ्जल र आन्ड्रिया गेजलाई प्रदान गरिने भएको छ। पेनरोज बेलायती, राइन्हार्ड जर्मन र गेज अमेरिकी खगोल शास्त्री हुन्। 



कोरोना संक्रमणको उपचारका क्रममा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार समर्थकलाई अभिभावदन गर्न एकाएक अस्पतालबाट निस्किएपछि उनको आलोचना भइरहेको छ । 

शुक्रबार कोरोना संक्रमण देखिएपछि उपचारका लागि अस्पताल पुगेका राष्ट्रपति ट्रम्पले आइतबार अस्पतालबाट निस्किएर आफ्ना समर्थकहरुलाई हात हल्लाउँदै अभिवादन गरेका थिए । 



कोभिड–१९ को महामारीका कारण लामो समयदेखि बन्द रहेका भारतको राजधानी नयाँ दिल्लीका विद्यालयहरू यस महिनाको अन्त्यसम्म बन्द रहने दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोडियाले आइतबार बताएका छन् । यो घोषणा भारतमा शैक्षिक संस्थाहरूलाई सोमबारदेखि आंशिक भएपनि खोल्ने भनी गरिएका हल्ला र अनुमानबीच आएको हो । यस पहिलेको निर्देशनमा महामारीका कारण नयाँ दिल्लीमा विद्यालयहरूलाई अक्टोबर ५सम्म बन्द गर्ने उल्लेख गरिएको थियो । 



कोरोना भाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिंगापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ ।

आर्थिक संघर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएपछि उपचाररत् अवस्थामा रहेकै बेला नाटकीय रुपमा ह्‍वाइटहाउस फर्किएका छन् । यति मात्र नभएर उनले ह्‍वाइटहाउस पुग्‍नासाथै बाल्कोनीमा फोटो खिचाउनका लागि मास्क खोलेर सबैलाई हात हल्लाएर अभिवादन गरेका छन् । जहाँबाट उनले सबैलाई अभिवादन गरे यतिखेर त्यहाँका थुप्रै कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । 



न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले न्युजिल्यान्डले कोरोना भाइरसलाई फेरि पनि परास्त गरेको बताएकी छन् । नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले अकल्यान्ड सहरमा निषेधाज्ञाहरू खुकुलो बनाइएको घोषणासमेत गरिन् । 



विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन् ।



अमेरिकी राष्ट्रपतिका लागि डेमोक्रेटिक उमेदवार जो बाइडेनले राष्ट्रपति ट्र्म्प कोरोना संक्रमित भइरहे आगामी डिबेट हुननसक्ने बताएका छन् । 

बाइडेनले मंगलबार भने, "मलाई लाग्छ, यदि उहाँलाई कोरोना संक्रमण भइरहे आगामी डिबेट हुनसक्दैन ।" 



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पर्कमा रहेका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण देखिन थालेको छ । व्हाइट हाउसका सल्लाहकार स्टफेन मिलर र उच्च सैन्य अधिकारीलाई कोरोना भाइरसको संक्रमण भएको बीबीसीले जनाएको छ । 



भारतमा वैज्ञानिकहरुको एउटा टोलीले एकदमै सस्तो पर्ने कागजमा आधारित कोभिड परीक्षण उपकरण निर्माण गरेका छन्, जसले प्रग्नेन्सी टेस्ट जत्तिकै छिटो र सजिलै नतिजा देखाउन सक्ने बताइएको छ । सो परीक्षण किटलाई अहिले भारतका एक काल्पनिक जासुस पात्र, फेलुदाको नाम दिइएको छ । यो वास्तवमा, ‘क्रिस्पर’ नामक जिन संसोधन प्रणालीमा आधारित छ ।



श्रीलंकाको राजधानी कोलम्बोमा कोरोना नियन्त्रणका लागि लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले त्यसलाई थप बढ्न नदिन कर्फ्यु बढाउँदै लैजाने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  



अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन् । 

 गत शुक्रबार कोरोना भाइरसबाट संक्रमित भएका ट्रम्पले एक हप्ता नहुँदै बिहीबार आफूलाई पूर्ण स्वास्थ्यलाभ भइसकेकाले र्‍यालीमा सहभागी हुन सक्षम रहेको दाबी गरेका हुन् । 



जापानले आगामी नोभेम्बरदेखि १२ देशबाट आउन चाहनेहरूलाई यात्रा अनुमति दिने तयारी गरेको छ ।कोरोनाको महामारी फैलिँदै गएकाले बन्द गरिएको यात्रा अनुमतिलाई खुला गरेर सरकारले ती देशहरूबाट आउन दिने योजना बनाएको हो । 

जापानले अनुमति खुला गर्न लागेका देशहरुमा इन्डोनेसिया, चीन, अष्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, भियतनाम, मलेसिया, ताइवानलगायत रहेका छन् ।



अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प अब अरूलाई कोभिड-१९को संक्रमण सार्ने खतरा नरहेको उनको उपचारमा रहेका चिकित्सकले बताएका छन् । ट्रम्पको उपचारमा संलग्‍न चिकित्कक डा. सीन कोन्लेले दिएको यो विवरण नै ट्रम्पको स्वास्थ्यबारे बिहीवार यताको पहिलो औपचारिक विवरण हो ।



अमेरिकाका वरिष्ठ संक्रामक रोगविज्ञ एन्थोनी फाउचीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने गरी दुई साताअघि एक भेला आयोजना गरेको भन्दै राष्ट्रपति कार्यालय ह्वाइटहाउसको कडा आलोचना गरेका छन् । 



राष्ट्रिय जनता दलका नेता तथा बिहारका पूर्व उप-मुख्यमन्‍त्री तेजस्वी यादव र उनका दाइ एवं पूर्वमन्‍त्री तेजप्रताप यादवसहित ६ जना विरुद्ध हत्या आरोपमा मुद्दा दर्ता गराइएको छ ।

तेजस्वीसहित ६ जनामाथि पार्टीका एक पूर्वनेता शक्ति मलिकको हत्या आरोपसहित बिहारको पूर्णिया जिल्लामा प्राथमिकी (एफआईआर) दर्ता गराइएको जनाइएको छ । 



भारतको लागूऔषध ब्यूरो(एनसीबी)ले अभिनेत्री दीपिका पादुकोण, साराअली खान, श्रद्धा कपुर र दीपिकाकी म्यानेजर करिश्मा प्रकाशलाई लगभग क्लिन चिट दिएको बताइएको छ । लागूऔषध मामिलामा यी चारलाई एनसीबीले सोधपुछ गरेको थियो । 



 बलिउड अभिनेत्री प्रियंका चोपडा जोनसले आफ्नो जीवनीमाथि लेखेको संस्मरण पुस्तक 'अनफिनिस्ड'को आवरण सार्वजनिक गरेकी छिन् । शुक्रबार सामाजिक सञ्जाल इन्स्टाग्राममा पुस्तकको आवरण तस्बिर सार्वजनिक गर्दै 'प्रि-अर्डर'को घोषणा पनि गरिन् ।



माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ । माल्दिभ्सको उच्च अदालतले मंगलबार यस्तो सजाय सुनाएको अदालतका अधिकारीहरूले जानकारी गराएका हुन् ।



बलिउड अभिनेता अजय देवगनका भाइ तथा हिन्दी फिल्मका निर्देशक अनिल देवगनको निधन भएको छ । ४५ वर्षीय अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो । अनिलले 'राजु चाचा', 'ब्ल्याकमेल' र 'हाल-ए-दिल'को निर्देशन गरेका थिए । 



युक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उत्तर अफ्रिकी मुलुकहरू भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गरेका थिए ।



भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै दुई सयजनाविरुद्ध मुद्दा लगाइएको छ ।

भारतीय दण्डसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरू दुई सयजनाले दण्डसंहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ ।



अमेरिकी विदेशमन्त्री माइक पोम्मपेओ चीनविरुद्धको रणनीति बनाउनका लागि जापान पुगेका छन् । उनले जापानमा अस्ट्रेलिया, भारत र जापानका विदेशमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । 

चीनको आक्रामक व्यवहारविरुद्ध चार मुलुकहरुको 'क्‍वाड बैठक' लक्षित हुने बीबीसीले जनाएको छ ।



अफगास्तिानको सार ए साफा जिल्लाको एक प्रहरी चौकीमा यहाँका तालिबानी लडाकूहरूले गरेका कारबाहीमा परी कम्तीमा पनि छ जना प्रहरी र चार अफगान सेनाको ज्यान गएको छ ।

अफगानिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणमा परी ती सुरक्षाकर्मीहरु मारिएका टोलो न्युजले जानकारी दिएको छ ।



बलिउड लागुऔषध मुद्दामा हिरासतमा रहेकी अभिनेत्र रिया चक्रवर्ती करिब एक महिनापछि हिरासत मुक्त भएकी छन् । बम्बे उच्च अदालतबाट जमानत पाएपछि रिया बुधबार ५:३० बजे भायखला जेलबाट रिहा भएकी हुन् । 

बम्बे उच्च अदालतले बिहीबार रियाको जमानत याचिकामा रिहाको फैसला सुनाएको हो । यद्यपि उच्च अदालतले रियाका भाइ सोविकलाई भने जमानत दिएन । 



बलिउड अभिनेत्री ऋचा चड्डाले सोमबार अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी अभिनेत्री पायल घोषविरुद्ध मानहानिको मुद्दा दर्ता गरेकी थिइन । साथै रिचाले १.१ करोड रुपैंया क्षतिपूर्तिको माग पनि गरेकी थिइन् । 

ऋचाको यही मुद्दाको सुनुवाईको क्रममा बुधबार अदालतले पायल घोषलाई बयान फिर्ता लिने बारेमा सोधेको छ ।



श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ। यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो।



फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्। 

सन्ना मरिनले बुधबारका लागि १६ वर्षिया आभा मुर्तोलाई प्रधानमन्त्री बनाएकी हन्। तर उनलाई कार्यकारी अधिकार भने छैन। संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि यो गरिएको हो। 



भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने घोषणा गरेको छ । एक्सडिए–डेभलपर्सका अनुसार परीक्षणका रूपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ । 

केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधा परीक्षण गरिसकेको दि भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरू प्रयोग गर्न पाउनेछन् । 



नेपालीहरूका लागि रोजगारीका लागि आकर्षक गन्तव्य मानिने मुलुक दक्षिण कोरियामा १५ लाख बढी मजदुरले आफूले काम गरेवापत पाउनुपर्ने तलब रोजगारदाताबाट पाउन नसकेको तथ्यांक सार्वजनिक भएको छ ।

यहाँको श्रम मन्त्रालयको तथ्यांकअनुसार सन् २०१६ देखि २०१९ सम्म १५ लाखभन्दा धेरै कामदारले नपाएको कुल तलब रकम ७‍.१७ ट्रिलियन बाेन पुगेको छ ।



बिहारका पूर्वमुख्यमन्त्री एवं भारतीय राजनीतिका चर्चित नेता लालुप्रसाद यादवलाई झारखण्ड उच्च अदालतले शुक्रबार एउटा मुद्दामा जमानत दिएको छ । 

चारा घोटालासँग सम्बन्धित एउटा मुद्दामा उनलाई जमानत दिएको अदालतले जनाएको छ ।



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सेना क्रिसमसअघि नै स्वदेश फर्काइने बताएका छन् । ‘अफगानिस्तानमा कार्यरत अमेरिकी बहादुर सेनाहरू अब सानो संख्यामा त्यहाँ रहेका र तिनीहरूलाई पनि आगामी क्रिसमस पहिले फिर्ता गरिनुपर्छ,’ सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले लेखेका छन् ।



भारतको राजधानी नयाँदिल्ली छेउको नोयडामा बाह्र वर्षअघि भएको आरुषी–हेमराज हत्या प्रकरणमा नेपालीहरुलाई निर्दोष ठहर गर्दै छानबिनलाई नयाँ मोड दिने भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) का तत्कालीन प्रमुख अश्विनी कुमार बुधबार साँझ हिमाचलको राजधानी, सिमलास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले ‘आत्महत्या’ गरेको आंशका गरिएको छ । 



पार्टनर भिसामा अस्ट्रेलिया जान र स्थायी बसोवास गर्न चाहनेले अनिवार्य अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । 

विदेशबाट अस्ट्रेलिया पार्टनर याने कि अस्ट्रेलियामा रहेका आफ्ना पति वा पत्नीका आधारमा श्रीमान् वा श्रीमतीले अनिवार्य रूपमा अंग्रेजी परीक्षा दिएर उत्तीर्ण भएपछि मात्र स्थायी बसोवासको भिसा पाइने व्यवस्था गरिएको बिबिसीले जनाएको छ । 



एक बेल्जियमी घुमन्तेलाई गैरकाननी काममा लगाएर मृत्यु भएको मुद्दामा एक अस्ट्रेलियाली रोजगारदाता दोषी ठहरिएका छन् ।

ती मृत्यु भएका बेल्जियमी घुमन्तेलाई अस्ट्रेलियाको एक कृषि उद्योगले फलफूल टिप्ने काममा लगाएको थियो । त्यस क्रममा उनको मृत्यु भएको थियो ।



गत सातादेखि द्वन्द्वग्रस्त बनेको नागोर्नो-काराबख विवादित क्षेत्रको विषयमा वार्ता गर्न अर्मेनिया-अजरबैजना सहमत भएको रुसले जनाएको छ । रुसले शुक्रबार दुबै मुलुकहरुले वार्ताका लागि इच्छा जनाएका छन् । 

रुसले यसलाई 'पछिल्लो तनाव अन्त्यका लागि एक ठूलो कदम भएको' बताएको छ । अजरबैजनाले मस्कोमा हुने वार्ताका लागि परराष्ट्रमन्त्री जेहुन बेरामोभ सहभागी हुने बताएको छ । 



भारतपछि पाकिस्तानले पनि टिकटकमा प्रतिबन्ध लगाएको छ । पाकिस्तानको दूरसञ्चार प्राधिकरणले शुक्रबार चिनियाँ भिडियो सेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाएको हो । 

टिकटकले अनैतिक र अश्लील सामग्रीलाई फिल्टर गर्न नसकेको भन्दै प्रतिबन्ध लगाएको प्राधिकरणले जनाएको छ ।  



अफगानिस्तानमा तालिबानी लडाकुहरूले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुँदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । आक्रमणमा परी अरू केही सेना घाइते भएका छन् भने तीनजना सर्वसाधारण मारिएका छन् ।



अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनले वार्ताका माध्यमबाट चिनियाँ कम्युनिस्ट सरकारले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय आइसकेको बताएका छन् ।

भारत-चीन सीमा विवादबारे प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ओब्रायनले वार्ता वा आपसी सहमतिका माध्यमबाट चीनले अंगीकार गरेको बाटो परिवर्तनका लागि मनाउन र बाध्य पार्न नसकिने समय आइसकेको बताएका हुन् ।



पाँच वर्षभित्रमा ५ करोडभन्दा बढी ग्रामीण क्षेत्रका जनता गरिबीबाट पूर्णतः मुक्त भएको चीनले दाबी गरेको छ । चीनको तेह्रौं पञ्चवर्षीय योजना (सन् २०१६-२०२०) भित्रमा यति ठूलो उपलब्धी हात लागेको आइतबार चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।



थाइल्यान्डको पूर्वी क्षेत्रमा एउटा यात्रुवाहक बस रेलसँग जुध्दा कम्तीमा १८ जनाको मृत्यु भएको छ । घटनामा कम्तीमा १२ जना घाइते भएका अधिकारीहरूले जनाएका छन् ।

थाई प्रहरीका अनुसार बसमा रहेका यात्रुहरू बौद्ध मन्दिरतर्फ गइरहेका थिए । घटनास्थलबाट सार्वजनिक तस्बिरहरूमा दुर्घटनापछि बस उत्तानो परेको तथा यात्रुहरूका समान वरिपरि छरिएका देखिन्छ ।



कोरोना वस्तुस्थिति :

गत आइतबारसम्म ३,५२,३०,७४६ जनामा देखिएको कोरोना भाइरस बढेर आज (आइतबार) ३,७५,७६,१६३ पुगेको छ। 

गत आइतबारसम्म कोरोना भाइरसका कारण १०,३९,३२७ जनाको मृत्यु भएकोमा आज (आइतबार) १०,७८,८३२ पुगेको छ।

गत आइतबारसम्म २,६२,१०,८९६ जना कोरोना संक्रमित निको भइ घर फर्किएका थिए भने त्यो संख्या बढेर आज (आइतबार) २,८१,८१,२९५ पुगेको छ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक