छोटकरीमा : आज - २०७७ असोज २२, बिहीबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



बिहीबार ४,३६४ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९८,६१७ पुगेको छ भने मृत्यु हुनेको संख्या ५९० पुगेको छ। हालसम्म नेपालमा ७१,३४३ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: १८,४७२ => Recovered Today: २,६७५

सम्बन्धित :

  • काठमाडौं उपत्यकामा बिहीबार थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ ।काठमाडौंमा एक हप्ताभित्र १० हजारभन्दा बढी संक्रमण बढेको भन्दै सरकारले स्वास्थ्य मापदण्ड पूरा पालना नभएको देखिएको बताएको छ।
  • कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १२  जनाको निधन भएको छ । निधन हुनेमा आठ पुरुष र चारजना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • काठमाडौं उपत्यकामा कुल एक सय ८१ आइसियू रहेका छन् जसमध्ये ८२ वटा आइसियू अहिले प्रयोगमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । त्यसैगरी काठमाडौं उपत्यकामा कुल ७६ वटा भेन्टिलेटर रहेका छन् । जसमा २७ वटा अहिले प्रयोग भइरहेका छन् । यो कुल भेन्टिलेटरको ३५.५ प्रतिशत हो । 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले डा. गोविन्द केसीको सत्याग्रहको बलमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताएका छन् । प्रवक्ता श्रेष्ठले यतिवेला सरकार, सत्याग्रही स्वयं र आमनेपालीले उनको जीवनरक्षामा ध्यान दिनु जरुरी रहेको बताएका छन्।

सम्बन्धित :

  • विभिन्न सञ्चारमाध्यममा कार्यरत २२ जना सम्पादकले अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता थाल्न आग्रह गरेका छन् । बुधबार एक संयुक्त वक्तव्य जारी गर्दै सम्पादकहरूले तत्काल सार्थक वार्ता सुरु गर्न आग्रह गरेका हुन् । वक्तव्यमा छ, ‘अभिभावकीय जिम्मेवारी लिँदै सरकारले डा. केसीसँग उच्च तहबाट अविलम्ब वार्ता थाल्नुपर्छ ।’
  • नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनशनरत डा. गोविन्द केसीका माग पूरा गर्न भन्दै सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।कोटेश्वरमा विरोध प्रदर्शन गर्दै नेविसंघका पूर्व महामन्त्री कुन्दनराज काफ्लेले गरिब जनताको पक्षमा आवाज उठाउने डा. केसीको माग तत्काल सरकारले पूरा गर्नुपर्ने बताए ।


प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटवार्ता सकिएको छ । आजको भेटमा दुई अध्यक्षबीच पार्टी एकतालाई पूर्णता दिने विषयमा सघन छलफल भए पनि निष्कर्ष भने ननिस्किएको प्रचण्ड स्रोतले जानकारी दियो । 



नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका छन् ।

कोरोना भाइरसको संक्रमण देखिएका नेता थापाले बिहीबार बेलुकी होम आइसोलेसनबाटै प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल भागबण्डा छाडेर संकटका बारेमा छलफल गर्न सुझाएका हुन् ।



विदुर नगरपालिकाले गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाअन्तर्गत पीपलटार–ढुङ्गे खण्डको मुआब्जा दिन आग्रह गरेको छ ।  

सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीमार्फत प्रधानमन्त्रीलाई पत्र पठाउँदै नगरपालिकाले राष्ट्रिय गौरवको आयोजनाको निर्माणको मुआब्जामा भेदभाव नगर्न आग्रह गरेको हो ।



नेपाली समयअनुसार बुधबार राति पौने १० बजेदेखि फारम भर्न मिल्ने डीभी गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे छ । डीभीको आवेदन खुलेपछि निःशुल्क आफैंले भर्न सकिन्छ ।



मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुन सक्ने गैरकानुनी जग्गा किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । 

प्रदेशको राजधानी र नामकरणपछि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कर्मचारीलाई निर्देशन दिँदै उनले अब गुरुयोजनाको टुंगाे नलाग्दासम्म नयाँ घर किनबेच रोक्नुपर्ने बताएका छन् । 



त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन् । 

घटना भएको तीन दिनसम्म पनि अपराधी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशिल प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन् ।  



मुगु जिल्लामा दुई महिनामा ६८ जना बालबालिकामा कुपोषणको समस्या देखिएको छ । साउन र असोज महिनामा मात्रै ६८ जना कुपोषणका बिरामी भेटिएका हुन् ।



तनहुँकाे भानु नगरपालिकाको कार्यालय अन्यत्र तत्काल नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासले नगरपालिका कार्यालय तत्कालै अन्त कतै नसार्न अन्तरिम आदेश दिएको हो ।



विश्व बैंकको पछिल्लो दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदनका अनुसार कोरोना र लकडाउनले पर्यटन पर्यटन क्षेत्रमा पुर्याएको असरका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान गरेको छ।



यस वर्षको नोबेल साहित्य पुरस्कार अमेरिकी कवि लुइस ग्लिकलाई दिइने भएको छ। विजेताले स्वर्ण पदक र एक करोड स्विडिस क्रोनर पाउनेछन्। सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी ग्लिक यल विश्वविद्यालयमा अंग्रेजीकी प्राध्यापकसमेत हुन्।



फिल्म तथा टेलिश्रृङ्खालगायतमा प्रहरी पोसाकको दुरुपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले सो कार्य गर्नेलाई प्रचलिति कानुन बमोजिम कानुनी कारबाही गर्ने बताएको छ । प्रहरी पोसाकको प्रयोग गर्नुअगाडि प्रहरी प्रधान कार्यलय नक्सालस्थित जनसम्पर्क तथा प्रचार-प्रचार इकाईमा प्रयोजन खुलाई स्वीकृति लिनुपर्ने छ।



 चीनले ताइवानको राष्ट्रिय दिवसको सन्दर्भमा प्रकाशित/प्रसारित सामग्रीप्रति आपत्ति जनाउँदै भारतीय सञ्चारमाध्यमहरुलाई घुमाउरो भाषामा त्यस्तो नगर्न ‘चेतावनी’ दिएको छ । १० अक्टोबरमा ताइवानको ‘राष्ट्रिय दिवस’ सन्दर्भ पारेर बुधबार भारतका प्रमुख छापा माध्यमहरु र केही विद्युतीय सञ्चारमाध्यमहरुले विज्ञापन सामग्री प्रसारण तथा प्रकाशित गरेका थिए । 



भारतको राजधानी नयाँदिल्लीबाट करिब १ सय ८० किमिको दूरीमा रहेको उत्तरप्रदेशको हाथरसमा एक दलित युवतीमाथि भएको ‘सामूहिक बलात्कार’ र पीडितको मृत्युको घटनालाई लिएर भारतभर विरोध जारी रहेका बेला संयुक्त राष्ट्रसंघले आइतबार एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गर्‍यो ।

भारतका लागि आवासीय संयोजकका तर्फबाट जारी विज्ञप्तिमा पछिल्लो समय भारतमा महिला तथा किशोरीमाथि यौन हिंसाका घटना बढिरहेकामा त्यसतर्फ चिन्ता व्यक्त गर्दै भारत सरकारसँग दोषीलाई कडा सजाय र पीडित परिवारलाई न्याय दिलाउन माग गरिएको थियो ।



भारतको राजधानी नयाँदिल्ली छेउको नोयडामा बाह्र वर्षअघि भएको आरुषी–हेमराज हत्या प्रकरणमा नेपालीहरुलाई निर्दोष ठहर गर्दै छानबिनलाई नयाँ मोड दिने भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) का तत्कालीन प्रमुख अश्विनी कुमार बुधबार साँझ हिमाचलको राजधानी, सिमलास्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले ‘आत्महत्या’ गरेको आंशका गरिएको छ । 



श्रीलंकाको राजधानी कोलम्बोमा कोरोना नियन्त्रणका लागि लगाइँदै आएको कर्फ्युलाई बुधबार थप विस्तार गरिएको छ । कोरोना भाइरसको संक्रमण फैलिँदै गएकाले त्यसलाई थप बढ्न नदिन कर्फ्यु बढाउँदै लैजाने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।  



पार्टनर भिसामा अस्ट्रेलिया जान र स्थायी बसोवास गर्न चाहनेले अनिवार्य अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । 

विदेशबाट अस्ट्रेलिया पार्टनर याने कि अस्ट्रेलियामा रहेका आफ्ना पति वा पत्नीका आधारमा श्रीमान् वा श्रीमतीले अनिवार्य रूपमा अंग्रेजी परीक्षा दिएर उत्तीर्ण भएपछि मात्र स्थायी बसोवासको भिसा पाइने व्यवस्था गरिएको बिबिसीले जनाएको छ । 



भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने घोषणा गरेको छ । एक्सडिए–डेभलपर्सका अनुसार परीक्षणका रूपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ । 

केही छानिएका गुगल प्रयोगकर्ताले यी सुविधा परीक्षण गरिसकेको दि भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाजमार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरू प्रयोग गर्न पाउनेछन् । 



फिनिस प्रधानमन्त्री सन्ना मरिनले एक दिनका लागि १६ वर्षिया किशोरीलाई आफ्नो पद हस्तान्तरण गरेकी छन्। 

सन्ना मरिनले बुधबारका लागि १६ वर्षिया आभा मुर्तोलाई प्रधानमन्त्री बनाएकी हन्। तर उनलाई कार्यकारी अधिकार भने छैन। संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि यो गरिएको हो। 



श्रीलङ्कामा हात्तीहरूको बथान फोहोरमा चरिरहेको तस्बिरले यो वर्ष रोयल सोसाइटी अफ बायोलजी (आरएसबी) फोटोग्राफी प्रतियोगिता जितेको छ। यो तस्बिर तिलक्षण धर्मपालनले खिचेका हुन्। तस्बिर आम्पारा जिल्लामा अवस्थित एउटा वन्यजन्तु आरक्षनजिकै खिचिएको हो।


सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक