छोटकरीमा : आज - २०७७ असोज २०, मंगलबार

आज देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। मुलुक एवं मुलुकबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



मंगलबार १,५५१ जना थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९०,८१४ पुगेको छ भने मृत्यु हुनेको संख्या ५६३ पुगेको छ। हालसम्म नेपालमा ६७,५४२ जना कोरोना संक्रमित निको भएका छन्।

=> PCR Tests Today: ११,०४७ => Recovered Today: २,३४०

सम्बन्धित :

  • संक्रमित निको हुने दर ७४.३ प्रतिशत रहेको छ भने सक्रिय संक्रमितको संख्या २२ हजार सात सय नौ पुगेको छ । संस्थागत आइसोलेसनमा नौ हजार एक सय १८ जना र होम आइसोलेसनमा १३ हजार पाँच सय ९१ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।संक्रमितमध्ये दुई सय ४३ जना आइसियू र ४० जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । 
  • काठमाडौँ उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । काठमाडौँमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना संक्रमित देखिएका हुन् ।


हास्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले सोमबार स्वाब दिएकामा मंगलबार आएको पीसीआर रिपोर्ट अनुसार संक्रमण पुष्टि भएको हो । 

हरिवंश आचार्यका अनुसार उनकी श्रीमती रमिला आचार्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । 



प्रदेशसभाको आजको बैठकबाट प्रदेश-५ को नाम 'लुम्बिनी' र स्थायी राजधानी दाडको 'देउखुरी क्षेत्र' राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको छ। लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले मतदानमा भाग लिए । त्यसमध्ये ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेका थिए।



राजनीतिक विवाद र सत्तारुढ दलकै नेताहरूबीच प्रतिष्ठा बनेको प्रदेश ५ को राजधानीको विषय अन्ततः टुंगिएको छ । 

राजधानी दाङ र बुटवल बनाउने विषयमा नेकपा महासचिव विष्णु पौडेल र मुख्यमन्त्री शंकर पोखरेलबीच प्रतिष्ठाको लडाइँ थियो । मुख्यमन्त्रीले दाङ र महासचिव बुटवल स्थायी राजधानीको पक्षमा थिए ।



मुख्यमन्त्री शंकर पोखरेलले सरकारले बहुमतका आधारमा नभई संसदीय सुझाव समितिको राय र विज्ञ समूहको सुझावअनुसार नै राजधानी दाङ तोकिएको बताए । समिति र विज्ञको सुझावमा पहिलो नम्बरमा दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राजधानीका लागि उपयुक्त स्थान भएको सुझाव दिएको उनले जनाए ।



नेकपा सचिवालय सदस्यहरुले सत्याग्रहमा रहेका डा. गोविन्द केसीसँग तत्काल वार्ता प्रक्रिया अघि बढाउन सरकारलाई आग्रह गरेका छन्। प्रधानमन्त्रीसँग नेकपाका सचिवालय सदस्यहरु झलनाथ खनाल, माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठलगायतले तत्काल वार्ताको पहल गर्न आग्रह गरेका हुन्।

सम्बन्धित :

  • सरकारका तर्फबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले मंगलबार २३ दिनदेखि आमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेको छ । डा. केसीलाई भेटेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएको र अनशन तोड्न आग्रह गरिएको शिक्षा सचिव मैनालीले कान्तिपुरसँग बताए ।


नेपालमा गाँजाखेती खुला गर्न संघीय संसदमा संकल्प प्रस्ताव समेत पेश भएको छ । कानुन नै बनाएर गाँजाखेती खुला गर्नुपर्ने बहस चलिरहँदा प्रहरीले गाँजा र भाँगोको बोट नष्ट गर्ने अभियान पनि तीव्र बनाएपछि बागलुङका कृषक रुष्ट बनेका थिए । स्थानीय कृषक रुष्ट बन्दै गर्दा गण्डकी प्रदेशसभामा पनि बागलुङका सांसदले गाँजा र भाङ खुलाउनुपर्ने विषय उठाए । 



 जिल्लाको नेत्रावती डबजोङ गाउँपालिका-५ स्थित बेतिनीमा मंगलबार भएको मिनी ट्रक दुर्घटनमा चालकसहित २ जनाको मृत्यु भएको छ । सवारी धनी सख्त घाइते भएका छन्  । 



भरतपुर महानगरपालिकाले पश्चिम चितवनका ५ वटा वडाका १७ विद्यालयका १३५ जना विद्यार्थीलाई साइकल वितरण गरेको छ ।

जोखिममा परेका ‘महिलासँग मेयर कार्यक्रम ’ अन्तर्गत विद्यालय शिक्षामा छात्राहरुको शैक्षिक पहुँच लागि विपन्‍न छात्रालाई मंगलबार साइकल हस्तान्तरण गरिएको हो । 



अमेरिकाले आफ्नो भिसा नीतिमा कुनै पनि परिवर्तन नल्याएको जनाएको छ। नेपालस्थित अमेरिकी दूतावासले अमेरिकाले आफ्नो भिसा नीतिमा कम्युनिष्ट पार्टीका सदस्यहरुमाथि कडा प्रावधानहरु ल्याएको भन्ने समाचारको खण्डन गरेको हो।



सोमबार खुलाइएको तातोपानी नाका भन्सारमा कार्यरत तीन मजदुरमा मंगलबार चीन क्षेत्रमा कोरोना पुष्टि भएपछि मंगलबार पुन: बन्द भएको छ । यहाँबाट चीनतर्फ सामाग्री लोड अनलोड गर्न गएका ३३ मजदुरको स्वास्थ्य परीक्षण गर्दै स्वाब संकलन गरिएकोमा अहिलेसम्म ७ जनामा संक्रमण देखिएको छ ।



कर्णाली प्रदेशको जुम्लामा रहेको प्रसिद्ध चन्दननाथ मन्दिरबाट पाँच वर्षअघि चोरी भएका बहुमूल्य मूर्तिहरूमध्ये थप दुई पुरातात्विक मूर्ति भेटिएका छन् । 

११ मंसिर ०७३ मा मन्दिरबाट चोरी भएका दर्जनौँ बहुमूल्य मूर्तिमध्ये सोमबार प्रहरीले विष्णु र भगवती सरस्वतीको मूर्ति भेटाएको हो । 



अपराधमा संलग्न भएका तीन प्रहरी जेल चलान भएका छन् । लागुऔषधको कारोबारमा संलग्न प्रहरी निरीक्षक तथा संगठित मुद्दा लागेका दुई सिपाहीलाई अदालतले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो । 



 धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीलाई नियुक्त गरेको ६ महिना नबित्दै पछिल्लो समय दैनिकजसो आन्दोलन हुन थालेको छ । एउटा संस्थाको आन्दोलन किनारा नलाग्दै अर्को संस्थामा आबद्ध प्रतिष्ठानभित्रका चिकित्सक, कर्मचारी, नर्सहरू आन्दोलित हुन थालेका छन् ।



 डा. पिताम्बर शर्मा, नारायण ढकाल, अरुण उप्रेतीलगायतका १५ जना लेखक/बुद्धिजीवीले अनशनरत सत्याग्रही डा. गोविन्द केसीका मागहरुलाई अविलम्ब सम्बोधन गरी केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेका छन् । 



सन् २०२० को भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार 'ब्ल्याक होल' र आकाशगंगा तारापुञ्जको रहस्य पत्ता लगाउने ३ वैज्ञानिकलाई प्रदान गरिने भएको छ।  स्विडिस एकेडेमीले भौतिकशास्त्रीहरु रोजर पेनरोज तथा राइनहार्ड गेन्जेल र एन्ड्रिया गेजलाई सो पुरस्कार प्रदान गरिने घोषणा गरेको हो। 



नेपालस्थित शरणार्थीहरुका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) की नवनियुक्त प्रतिनिधि क्यारोलिन स्पानुथ वर्माले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली समक्ष मंगलबार आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेकी छन् ।

जर्मन नागरिक स्पानुथ वर्मा नेपालमा यूएनएचसीआर प्रतिनिधिको रूपमा नयाँ जिम्मेवारी सम्हाल्न भदौ ३० गते काठमाडौं आइपुगेकी थिइन् ।



माल्दिभ्सका पूर्वउपराष्ट्रपति अहमद अदिबलाई भ्रष्टाचार, अवैध सम्पत्ति आर्जन र शक्तिको दुरुपयोग गरेको अभियोगमा २० वर्ष जेल सजाय सुनाइएको छ । माल्दिभ्सको उच्च अदालतले मंगलबार यस्तो सजाय सुनाएको अदालतका अधिकारीहरूले जानकारी गराएका हुन् ।



बलिउड अभिनेता अजय देवगनका भाइ तथा हिन्दी फिल्मका निर्देशक अनिल देवगनको निधन भएको छ । ४५ वर्षीय अनिलको हृदयघातका कारण सोमबार राति मृत्यु भएको हो । अनिलले 'राजु चाचा', 'ब्ल्याकमेल' र 'हाल-ए-दिल'को निर्देशन गरेका थिए । 



संयुक्तराज्य अमेरिका र उत्तर अफ्रिकी मुलुक मोरक्कोबीच १० वर्षे सैन्य सहयोग सम्झौता भएको छ । अमेरिकी रक्षामन्त्री मार्क एस्परले मोरक्कोको दुई दिने भ्रमणका क्रममा सैन्य सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उत्तर अफ्रिकी मुलुकहरू भ्रमणकै क्रममा मन्त्री एस्परले ट्युनिसियासँग पनि यस्तै सैन्य सम्झौता गरेका थिए ।



विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले विश्वमा हरेक १० व्यक्तिमध्ये एक जना कोरोना भाइरसबाट संक्रमित हुन सक्ने बताएको छ । सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा आयोजित डब्लूएचओको कार्यकारी बोर्डको मिटिङमा डब्लूएचओका आपत्कालीन कार्यक्रमका प्रमुख डाक्टर माइक ऱ्यानले ‘विश्वको ठूलो हिस्सा’ कोरोना संक्रमणको जोखिममा रहेको बताएका हुन् ।



भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका निवर्तमान अध्यक्ष राहुल गान्धी र महासचिव प्रियंका गान्धीसहित झन्डै दुई सयजनाविरुद्ध मुद्दा लगाइएको छ ।

भारतीय दण्डसंहिता उल्लंघन गरेको आरोप लगाउँदै उनीहरूविरुद्ध मुद्दा दायर गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । गौतमबुद्ध नगर प्रहरीले गान्धीद्वय र अरू दुई सयजनाले दण्डसंहिताको धारा १८८, २६९ र २७० को उल्लंघन गरेको दाबी गरेको छ ।



न्युजिल्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले न्युजिल्यान्डले कोरोना भाइरसलाई फेरि पनि परास्त गरेको बताएकी छन् । नियमित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आर्डर्नले अकल्यान्ड सहरमा निषेधाज्ञाहरू खुकुलो बनाइएको घोषणासमेत गरिन् । 



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसबाट संक्रमित भएपछि उपचाररत् अवस्थामा रहेकै बेला नाटकीय रुपमा ह्‍वाइटहाउस फर्किएका छन् । यति मात्र नभएर उनले ह्‍वाइटहाउस पुग्‍नासाथै बाल्कोनीमा फोटो खिचाउनका लागि मास्क खोलेर सबैलाई हात हल्लाएर अभिवादन गरेका छन् । जहाँबाट उनले सबैलाई अभिवादन गरे यतिखेर त्यहाँका थुप्रै कर्मचारी कोरोना पोजेटिभ भेटिएका छन् । 



कोरोना भाइरस महामारी फैलिएको भए पनि मानिसहरूलाई बच्चा जन्माउन प्रोत्साहित गर्न सिंगापुर सरकारले एक पटकका लागि भत्ता दिने प्रस्ताव गरेको छ ।

आर्थिक संघर्ष गर्नुपर्ने र जागिर गुमाउने नागरिकहरूले सन्तान पाउने योजना स्थगित गरिरहेकोमा सरकारलाई चिन्तित बनाएको छ ।



अमेरिकी विदेशमन्त्री माइक पोम्मपेओ चीनविरुद्धको रणनीति बनाउनका लागि जापान पुगेका छन् । उनले जापानमा अस्ट्रेलिया, भारत र जापानका विदेशमन्त्रीहरुसँग छलफल गर्ने भएका छन् । 

चीनको आक्रामक व्यवहारविरुद्ध चार मुलुकहरुको 'क्‍वाड बैठक' लक्षित हुने बीबीसीले जनाएको छ ।


सम्बन्धित सामग्री

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक

ताप्लेजुङको दोभान बजारमा लागेको आगो नियन्त्रणमा, ४९ घर जलेर खरानी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजार लागेको आगो नियन्त्रणमा आएको छ । आगलागीबाट दोभान बजारका ४९ घर जलेर नष्ट हुँदा डेरा गरी बसेकासहित ७१ परिवार विस्थापित भएका छन् । कसरी लाग्यो आगो ?

छोटकरी सम्पादक

फेवातालको नयाँ क्षेत्रफल प्रश्नको घेरामा, १५ सय ४५ रोपनी क्षेत्रफल घटेको दाबी

फेवातालको चार किल्ला निर्धारण, सीमांकन तथा नक्सांकन समितिको प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनअनुसार फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर अर्थात् ११ हजार दुई सय ५५ रोपनी ११ आना एक पैसा छ ।

छोटकरी सम्पादक

कोरोनाविरुद्धको थप ५० लाख डोज खोप खरिद गर्दै सरकार

सरकारले कोरोना भाइरस विरुद्धको ५० लाख डोज खोप खरिदको प्रक्रिया अगाडि बढाएको छ । दोस्रो चरणको खोप कार्यक्रम सरकारले फागुन २३ गतेदेखि सुरु गर्न लागेको छ । जसमा ५५ वर्ष र माथिका नागरिकलाई लगाउने तयारी सरकारको छ ।

छोटकरी सम्पादक

प्रधानमन्त्रीलाई ‘सुरक्षा थ्रेट’ : प्रोपोगाण्डा कि वास्तविकता ?

'अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान नै तलमाथि भयो भने अनौठो नमान्नु होला।' मुलुकको कुनै सामान्य नागरिकको त्रासमय अभिव्यक्ति होइन यो। यसप्रकारको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीबाटै आएको हो। जम्बो सुरक्षाकर्मीको घेरामा रहेका प्रधानमन्त्रीलाई के कारण भयो सुरक्षा थ्रेट?

छोटकरी सम्पादक

चीनले नेपाललाई थप ३ लाख डोज खोप दिने

चीनले नेपाललाई अनुदानमा दिने कोभिड–१९ को खोप संख्यालाई बढाएर आठ लाख डोज पुर्‍याएको छ । चीनले सरकारी कम्पनी सिनोफार्मले उत्पादन गरेको भ्याक्सिन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो । जसलाई नेपालमा पनि प्रयोग गर्नको लागि नेपाल सरकारले स्वीकृति दिइसकेको छ ।

छोटकरी सम्पादक