छोटकरीमा यस हप्ता : असोज ११ गते देखि असोज १७ गतेसम्म (राष्ट्रिय)

यस हप्ता देशभर कोरोना नियन्त्रणको लागि के-कस्ता माग एवं निर्णयहरू भए ? कोरोना भाइरसको पछिल्लो वस्तुस्थिति थाहा पाउनुहोस्। यस हप्ता मुलुकभर के-कस्ता राजनीतिक, आर्थिक,न्यायीक एवं शैक्षिक गतिविधिहरू भए ? एकसाथ एकैठाउँमा सम्पूर्ण खबरहरू पढ्नुहोस्।



कोरोना स्थिति विवरण :

गत आइतबारसम्म ७३,३९४ जनामा देखिएको कोरोना भाइरस बढेर यस आइतबारसम्म ८४,५७० पुगेको छ।

गत आइतबारसम्म कोरोना भाइरसका कारण ४७७ मृत्यु भएकोमा यस आइतबारसम्म ५२८

पुगेको छ।

गत आइतबारसम्म ५३,८९८ जना कोरोना संक्रमित निको भइ घर फर्किए थिए भने त्यो संख्या बढेर आज ६२,७४० पुगेको छ।

यस्तै, हालसम्म १०,६१,६६४ जनाको पिसीआर टेस्ट भएको छ भने ४,२७३ जना क्वारेन्टाइनमा रहेका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित गतिविधिहरू :

  • ६ महिना अघिसम्म दैनिक पाँच करोडको कारोबार हुने गरेको सीमापारीको रुपैडिया बजार अहिले सुनसान छ। कोभिड १९ महामारीका कारण नेपाल भारत सीमानाबाट सर्वसाधारणको आवागमन बन्द गरिएपछि नेपाली ग्राहकहरुले भरिभराउ हुँदै आएको सो बजार अहिले सुनसान छ।
  • कोरोना प्रभावित भएर होम आइसोलेसन बस्दै आएका किसान आफ्नो व्यवसाय नियमित गर्न नपाउँदा दुखित छन्। व्यवशायिक रुपमा माछा पालेका गोरखाको गण्डकी गाउँपालिका ५ दर्बुङका राजेन्द्र श्रेष्ठको सबै माछा सखपा हुने गरी पोखरीमा विष मिसिएपछि चिन्ता झन बढेको हो। 
  • उपत्यकामा कोरोना भाइरस संक्रमण फैलिरहे पनि सरकारको निर्णयअनुसार असोज १ देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै लामो दुरीको यातायातका साधन र अन्य व्यापार/व्यवसाथ सञ्चालन भइरहेका छन्। यसबीच काठमाडौं बाहिरमात्रै नभइ राजधानीकै चन्द्रागिरि नगरपालिका ७ महादेवस्थानस्थित चेक पोस्टमा समेत प्रभात माध्यमिक विद्यालयमा कक्षा शुरु गरिएको छ।
  • लामो समयको बन्दाबन्दी र निषेधाज्ञापछि काठमाडौं उपत्यकालगायत देशभर चलेका सार्वजनिक सवारी साधनहरुमा न्युन मात्रामा यात्रुहरु चढ्दा यातायात व्यवसायीहरु मर्कामा पर्न थालेका छन्। बुधबार काठमाडौंमा चल्ने विभिन्‍न रुटका बस, मिनि बस, माइक्रोबस र ट्याम्पोहरु प्रायः खाली-खाली चलिरहेका थिए । 
  • कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । प्रदेश प्रमुख कार्यालयमा कार्यरत केही कर्मचारीमा कोरोना संक्रमित देखिएकोले कन्टयाक्ट ट्रेसिङ गर्दा प्रदेश प्रमुख कलौनीलाई पनि कोरोना पुष्टि भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । 
  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई कोरोड-१९ (कोरोना) संक्रमण भएको छ । ज्ञवालीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सन्‍जालमार्फत जनाएका छन् । 
  • नेपालका लागि ब्राजिलकी राजदूत मारिया टेरेसा पेसोआमा कोरोना संक्रमण देखिएको छ । उनले आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै आजै कोभिड १९ को रिपोर्ट आएको जानकारीका साथ आफू कोरोना संक्रमित भएको बताएकी हुन्।
  • नोबेल मेडिकल कलेजले आईसीयूमा उपचाररत कोरोना संक्रमितलाई मध्यरातमा निकालेको छ ।विराटनगर महानगरपालिका- १४ का ७५ वर्षीय भिखारी यादव बुधबारयता नोबेलको आईसीयूमा उपचाररत थिए । उनलाई कोरोना संक्रमण भएको शुक्रबार पुष्टि भएको थियो । पोजेटिभ रिपोर्ट आएपछि अस्पतालले राति करिब ८ बजे बिरामीलाई निकालेको हो ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।स्रोतका अनुसार नेपाली सेनालका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको छ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकारलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको छ ।राजनीतिक सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको शनिबार पुष्टि भएको हो । दुबैले शुक्रबार स्वाब दिएका थिए ।
  • बुढानिलनण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । खरेललाई शनिबार कोरोना संक्रमण पुष्टि भएको नगरपलिकाका प्रवक्ता नवराज भट्टराईले बताए ।


कोरोना भाइरस नियन्त्रण सम्बन्धमा माग एवं निर्णयहरू :

  • यो वर्षको चाडपर्वलक्षित सुपथ मूल्य पसल बिहीबारबाट सञ्चालनमा आउने भएका छन्। सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसल मंसिर ६ गतेसम्म जारी रहनेछन्। कुनकुन स्थानमा पसल खुल्ने भन्‍ने अझै टुंगो लागिसकेको छैन। 
  • केही दिनयता जोर–बिजोरका आधारमा नभई हरेक दिनजसो सबै सवारीसाधन चल्न थालेपछि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूले जोर–बिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाइ गर्ने निर्णय गरेका छन्। 
  • रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड-१९ खोप उपलब्ध गराउने भएको छ। यस सहमतिअनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड-१९ खोप 'स्पुतनिक-भी' उपलब्ध गराउन सकिने बताइएको छ । विश्व स्वास्थ्य संगठनले भने यो खोपलाई मान्यता दिइसकेको छैन। 
  • पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ। जसका लागि सरकारले नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने, कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य लागायतका शर्तसम्बन्धी मापदण्ड- २०७७ स्वीकृत गरेको हो। 
  • प्रदेश १ को हिमाली जिल्ला ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाले सामुदायिक विद्यालय सञ्‍चालन गर्ने तयारी थालिसकेको छ तर पहिलो शर्त 'सबै शिक्षकको पीसीआर टेस्ट र रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने बताएको छ। यस्तै, भोजपुरका कतिपय पालिकाले स्वास्थ्यसम्बन्धी नियमलाई कडाइसाथ लागु गर्ने नीति लिएका छन्।
  • हिमाली जिल्ला सोलुखुम्बुमा प्रवेश गर्नेले पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य पेश गर्नुपर्ने नियम लगाइएको छ।हवाईजहाजबाट आउने पर्यटकहरुको लागि समेत यस्तो नियम अनिवार्य गरिएको छ। 
  • काठमाडौं महानगरपालिकाले कालोबजारी गर्ने २६ वटा पसललाई कारबाही गर्न सिफारिस गरेको छ। कोरोना महामारीको मौका छोपेर व्यापारीहरुले उपभोक्ता ठग्‍ने गरेको गुनासो आएपछि अनुगमनमा गरेको महानगरले उपत्यकाभित्रका विभिन्‍न २२ वटा पसल सञ्‍चालकलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई सिफारिस गरेको हो।
  • पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा ताेकिएकाे दुई हजारभन्दा बढी शुल्क लिने ८ वटा प्रयोगशालालाई २४ घन्टाभित्र शुल्क समायोजन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। बढी शुल्क लिनेमा ह्याम्स अस्पताल, डिकोड ल्याब, इन्ट्राप्रिड डायग्नोस्टिक, स्टार अस्पताल, नेपाल मेडिसिटी, बी एन्ड बी, सेन्ट्रल डायग्नोस्टिक, साैर्या हेल्थकेयर छन्। 
  • चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा काम गर्ने कामदारको कोरोना परीक्षण चीनले गर्ने भएको छ । नेपालतर्फ कोरोना परीक्षणको रिपोर्ट ढिलो आउने भएपछि नाकामा काम गर्ने चालक तथा लेबरको कोरोना परीक्षण चीनले नै गर्ने भएको हो । 
  • बजार खुल्यो, यातायात खुल्यो हवाई सेवा सुरु भै सक्यो तर सरकारले धार्मिक मठ मन्दिरमा जान भने रोक लगाएको छ। चाडपर्वको मौसम सुरु भएपनि सरकारले मन्दिर दर्शन गर्न रोक लगाएको छ। स्वस्थ्यलाई ध्यानमा राखेर एक पटकमा २५ जनालाई दर्शन गराउने र दर्शन गरेर फर्किएपछि अरुलाई मन्दिर प्रवेश गर्न दिने माग गरिएको छ।
  • कोभिड १९ को बढ्दो संक्रमणका कारण नेपाल राष्ट्र बैंकले यो वर्षको दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ। बैंक तथा वित्तीय संस्थाले पनि कोरोना जोखिमलाई मध्यनजर गर्दै सीमित कर्मचारीबाट मात्रै सेवा दिइरहेका र भीड बढ्ने बताउँदै यस्तो निर्णय गरिएको हो।
  • उद्योगी व्यवसायीले फेरि लकडाउन नगराइदिन सरकारसँग अपिल गरेका छन्। राष्ट्रिय व्यावसायिक पहल (एनबीआई) ले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर लकडाउन नदोहोर्‍याउन अनुरोध गरेको हो। 
  • कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा प्रदेश ५ सरकारले थप १० करोड रुपैयाँ निकासा गर्ने भएको छ। प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथाम र उपचारका लागि आवश्यक परेको भन्दै थप रकम निकासा दिने निर्णय गरेको हो।
  • रुसमा निर्मित कोरोनाभाइरस विरूद्धको खोप ठूलो परिमाणमा नेपालमा भित्र्याउन गरिएको सम्झौतामा नेपालस्थित रुसी राजदूतावासको समर्थन रहेको उक्त सहमतिको मस्कोस्थित पक्षले बताएको छ। रुसको सार्वभौम सम्पत्ति कोष अन्तर्गतको रुसी प्रत्यक्ष लगानी कोष आरडीआईफका प्रवक्ताले बीबीसीलाई यो जानकारी दिएका हुन्।
  • दशैँ-तिहारको समय पारेर बिहीवारदेखि नेपाल सरकारले अन्तर्राष्ट्रिय उडानहरूलाई मागेजति अनुमति दिन थालिएको बताइए पनि अहिलेसम्म १४ वटा विमानसेवाले मात्र नियमित उडानका लागि अनुमति लिएको उड्डयन अधिकारीहरूले जनाएका छन्।सामान्य अवस्थामा दैनिक एक सयको सङ्ख्यामा आउजाउ उडान हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले प्रतिबन्ध खुकुलो पार्दा समेत तत्काल दैनिक केही समय दुईदेखि साढे दुई दर्जनको हाराहारीमा मात्र उडान हुने देखिएको अधिकारीहरूको भनाइ छ।
  • संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले स्वदेश फर्कन चाहने सबै नेपालीलाई सुरक्षित तवरबाट नेपाल ल्याउन र त्यसका लागि नियमित उडान संख्या थप्न सरकारलाई निर्देशन दिएको छ।त्यस्तै, समितिले गैरकानुनी बाटोबाट विदेश गएर अलपत्र परेका नेपाली श्रमिकलाई तत्काल उद्धार गर्न पनि निर्देशन गरेको छ। 



यस हप्ताका राजनीतिक गतिविधिहरू :

  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहले पार्टीलाई विधानसम्मत रुपमा सञ्‍चालन गरी आगामी महाधिवेशन स्वच्छ र निष्पक्ष वातावरण सम्मपन्न गर्ने वातावरण बनाउन माग गर्दै ज्ञापनपत्र दर्ता गराएको छ। ज्ञापनपत्रमा महाधिवेशनलाई प्रभावित पार्न सभापति शेरबहादुर देउवाले विधान विपरित गरेका निर्णय सच्चाउन माग गरिएको छ।
  • आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। ०७४ फागुनमा यो सरकार बनेपछि मन्त्रीहरूको सम्पत्ति एकपटक मात्र सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठन हुँदा थपिएका १२ जना मन्त्रीको सम्पत्ति त एकपटक पनि सार्वजनिक भएको छैन।
  • राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बुडले शिष्टाचार विदाई भेट गरेका छन्। राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्‍न गरेकोमा अष्ट्रेलियाली राजदूतलाई बधाई दिँदै भविष्यमा दुई देशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जानकारी दिए।
  • भर्चुअल माध्यमबाट आयोजना भएको नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलो बैठक सम्पन्‍न भएको छ। दुई देशबीच पारवाहन ढुवानी सम्झौता र त्यसको प्रोटोकल कार्यान्वयन, व्यापार सहजीकरण, सीमा नजिक रहेका सीमा वारपार आर्थिक क्षेत्र स्थापना, व्यापार पूर्वाधार विकासमा सहयोगलगायत विषयमा सहमति भएको बताइएको छ।
  • बैठकमार्फत् रसुवाको टिमुरेमा जाँच स्टेसन-सुख्खा बन्दरगाह निर्माण गर्ने, १ सय ८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्य वस्तुलाई चीनले नेपालबाट आयात हुने वस्तुको सूचीमा राख्ने सहमति दिएको छ। यस्तै नेपालमा वनस्पति तथा पशुजन्य वस्तु जाँच गर्न चिनले सघाउने पनि भएको छ। सोही अवसरमा स्याफ्रुबेसी–रसुवा सडक स्तरोन्नतीमा चीनले सघाउने सहमति दिएको छ।
  • उत्तरी छिमेकी चीनसँगको सबैभन्दा पुरानो सिन्धुपाल्चोकको तातोपानी नाका असोज १९ गतेदेखि सञ्‍चालनमा आउने भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल र ल्हासाको फरेन अफिसका डेपुटी डाइरेक्टर लिउलिन नेतृत्वबीच आज मितेरी पुलमा भएको वार्तामा नाका खुलाउने सहमति भएको हो। नाका खुलाउन अर्थ मन्त्रालय, उद्योग मन्त्रालयले पनि ताकेता गरेका थिए।
  • सत्तारुढ दल नेकपाका नेता वामदेव गौतम राष्ट्रियसभा सदस्य र मन्त्री बन्‍न अयोग्य रहेको भन्दै दायर रिटमा सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ। आज संवैधनिक इजलासमा सुनुवाइ सुरु भएको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमको योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
  • काठमाडौं-तराईमधेश द्रुतमार्गमा दुईवटा सुरूङ बनाउन कुल ४३ कम्पनी इच्छुक भएका छन्। छोक्रेडाँडादेखि धेद्रेखोलासम्मको खन्डको सुरूङ तथ पुल बनाउन २१ वटा र धेद्रेखोलादेखि लेनडाँडासम्मको सुरूङ तथा पुल बनाउन २२ कम्पनीले बोलपत्र दाखिला गरेका हुन्। आयोजना निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ।
  • सरकारको अर्कमण्यता र भ्रष्ट्राचारविरुद्ध छलफल गर्नका लागि कांग्रेसले संसद्को विशेष अधिवेशन माग गर्ने भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार आफूपक्षीय पदाधिकारीसँगको छलफलमा संसद्को विशेष अधिवेशनको आवश्यकता रहेको निष्कर्ष निकालेको हो।नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजानका लागि श्रम समझदारीमा हस्ताक्षर भएको छ ।बुधबार नेपाल र इजरायलबीच नेपाली श्रमिक लैजान र ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्ने सम्बन्धमा सम्झदारीपत्रमा हस्ताक्षर भएको इजरायलमा रहेको नेपाली दूतावासले जनाएको छ ।बुधबार इजरायली परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच हस्ताक्षर सम्पन्न भएको हो ।
  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य किरण र नेत्रविक्रम चन्द विप्लवलाई मूलधारमै फर्किन आग्रह गरेका छन्। तत्कालीन माओवादी छाडेर हिँडेका प्रदेश २ का नेताहरुलाई धुम्बाराहीमा आयोजित कार्यक्रममा नेकपामा प्रवेश गराउँदै प्रचण्डले यस्तो बताएका हुन्।
  • राष्ट्रिय राजनीतिमै प्रभावशाली मानिएका केन्द्रीय सदस्य महेश आचार्य, मीनेन्द्र रिजाल र शेखर कोइरालाबीच बोलचालसमेत नहुने गरेको दृष्टान्त, व्यक्तिगत गुट अनि समूहको विवादका कारण नेतात्रयले तीनतिर मुख फर्काएको बुझाइ आमकार्यकर्ताको बुझाइ छ 



प्रदेश-५ को राजधानी तोकीयो :

  • सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेको छ । यद्दपी  प्रदेश ५ सरकारले आफ्नो राजधानी देउखुरीलाई बनाउने प्रस्ताव गरेपछि त्यसको विरोधमा रुपन्देहीमा विरोध शुरु भएको छ ।
  • प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ। शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्रीले राजधानी र नामकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अगाडि बढाएपछि कांग्रेसका कार्यकर्ताले सडकमा प्रदर्शन गरेका हुन्। 
  • यसैबीच, प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने सरकारको निर्णयपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार प्रदेशसभा बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीले राजधानी र नामाकरण निर्धारणसम्बन्धी कार्यविधि पेस गरेर प्रस्ताव अघि बढाएपछि नेविसंघले बुटवलका विभिन्न स्थानमा टायर बालेर नारा जुलुस सुरु गरेको हो।
  •  प्रदेश पाँच सरकारले प्रदेश राजधानी प्रस्ताव गरेको दाङका दुइ र अर्घाखाँचीको एक पालिकामा जग्गा किनबेचमा रोक लगाएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मातपोत कार्यालय दाङ, लमही र अर्घाखाँचीमा पत्राचार गर्दै अर्को आदेश नहुँदासम्मका लागि सो क्षेत्रको जग्गा किनबेच र कित्ताकाटमा रोक लगाएको हो।
  • ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानीसम्बन्धी प्रस्तावमाथि आगामी सोमबारबाट प्रदेश सभामा छलफल हुने बताएका छन् । प्रदेश सरकारले अर्घखाँचीको शीतगंगा नगरपालिका तथा दाङको राप्ती र गरुडा गाउँपालिकाभित्र पर्ने गरी भालुवाङमा प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि नयाँ पत्रिकासँग संक्षिप्त कुरा गर्दै पोखरेलले सोमबारबाट प्रदेश सभामा छलफल अघि बढ्ने जानकारी दिएका हुन् ।
  • प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ । रुपन्देहीबाट राजधानी सार्ने प्रस्ताव अविलम्ब फिर्ता गर्न माग गर्दै जुलुस जुलुस निकालिएको हो । 
  • प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेसका जिल्ला, नगर,जिल्लामा रहेका प्रदेश सांसद र निर्वाचनका प्रत्यासी नेताको सहभागितामा बसेको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । 
  • सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पाँच नम्बर प्रदेश संसदीय दलले दाङको भालुवाङ राजधानी तोक्न ह्विप लगाएको छ । शनिबार बसेको संसदीय दलको बैठकले लुम्बिनी प्रदेश र दाङको भालुवाङ मुकाम तोक्ने प्रस्तावको पक्षमा मत हाल्ने निर्णय गरेको हो । दाङ राजधानी तोक्ने सन्दर्भमा रुपन्देही, पाल्पा, गुल्मी, नवलपरासीका करिब १४ जना सांसद्ले नोट अफ् डिसेन्ट, अर्थात् निर्णयमा विमति राखेको प्रदेशसभा सदस्य बैजनाथ चौधरीले जानकारी दिए ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गरेका छन् । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरे । 
  • नेपालले पारमाणविक हातहतियारका निम्ति विनियोजित स्रोतलाई समग्र शान्ति र मानवताको बृहत्तर हितका खातिर अघि सारिएका दिगो विकास योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । संयुक्त राष्ट्र सङ्घको ७५औँ महासभाका सिलसिलामा आणविक शस्त्रास्त्रको पूर्ण उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय दिवसका अवसरमा आज न्यूयोर्कमा भएको उच्चस्तरीय बैठकमा नेपालले आणविक हातहतियारको कालो छाया रहेसम्म विश्व सुरक्षित स्थान बन्न नसक्ने यथार्थ प्रस्तुत गरेको हो ।


डा. गोविन्द केसी र अनसन :

  • डाक्टर गोविन्द केसीका समर्थकहरुले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीविरुद्ध कारबाही माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्।
  • चिकित्सा शिक्षा सुधारका माग राख्दै १५ दिनदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था खस्किँदै गएको छ। त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा. केसीमा जिउ गल्ने, चक्कर लाग्‍ने, धड्कन बढ्नेलगायतका समस्या देखिन थालेको त्रिवि शिक्षण अस्पतालले जानकारी दिएको छ।
  • सरकारले डा. गोविन्द केसीलाई उनको माग पुरा भएर कार्यन्वयनको चरणमा रहेको बताउँदै अनशन तोड्न आग्रह गरेको छ। डा. केसीको मागअनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन बनाई त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको सरकारको भनाइ छ।
  • चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनरत डा गोविन्द केसीको समर्थनमा शिल्पी थिएटरका कलाकारहरूले सडक नाटक मञ्‍चन गरेका छन् ।ललितपुरको पाटन दरबार स्क्वायरमा उनीहरुले बुधबार सडक नाटक प्रस्तुत गरेका हुन् । 
  • चिकित्सा शिक्षा सुधारको माग गर्दे अनसन बसेका डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै शनिबार माइतीघरमा प्रदर्शन भएको छ । अनसनरत केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले जीवन रक्षाको माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् । अनसनको २० दिन पुग्दासमेत सरकारले केसीका मागहरु पूरा गर्न कुनै कदम चाल्न नसकेको प्रदर्शनमा सहभागिहरुले बताएका छन् । भदौ २९ गतेबाट अनसन थालेका केसी अहिले त्रिवि शिक्षण अस्पतालमा छन् । 


सम्झना कामी र बलात्कारका घटना :

  • बालिका तथा महिलामाथि हुने बलात्कार र हत्याका घटनाविरुद्धका कानुनी प्रावधानमा कडाइ पार्नका लागि महिला सांसदहरूले अध्ययन तथा सुझाव दिनका लागि कार्यदल गठन गरेको छ। नेकपा सांसद बिन्दा पण्डेको संयोजकत्वमा महिला सांसदहरूको ९ सदस्यीय समिति गठन भएको हो।
  • सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सांसदहरूले सभामुख अग्नि सापकोटालाई भेटेर बझाङकी १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीका लागि पहल गरिदिन ध्यानाकर्षण गराएका छन्। ध्यानाकर्षण गर्न आउनेमा आशा विक, लक्ष्मी चौधरीलगायतका सांसद थिए।
  • महिला र बालबालिका विरुद्ध हुने जघन्य अपराध तथा हिंसाका घटनालाई मिलापत्र गरेर ढाकछोप गर्ने जनप्रतिनिधिहरुलाई निलम्बन गर्नुपर्ने महिला सांसदहरुले माग गरेका छन्। उनीहरुले यस्ता घटनामा संलग्‍न जनप्रतिनिधिहरुको नाम सार्वजनिक गर्नुपर्ने पनि बताएका छन्।
  • कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान तीव्र रूपमा अगाडि बढिरहेको प्रहरी महानिरीक्षक शैलेश थापाले बताएका छन्। 'सकभर अनुसन्धन छिटो निष्कर्षमा पुग्ने गरी काम भइरहेको' थापाले बताएका छन्।
  • बझाङकी सम्झना कामीलगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। सम्झनाको असोज ७ गते बलात्कारपछि हत्या भएको थियो। 
  •  बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया बालिका सम्झना कामीको आठ दिनपछि अन्त्येष्टि गरिएको छ। सम्झनाका गाउँले र परिवारका सदस्यले सदरमुकाम चैनपुर नजिक सेती नदी र बाहुलीगाडको दोभानमा सम्झनाको शव गाडेर अन्तिम संस्कार गरेका हुन्।
  • संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्‍न राजनीतिक दलआवद्ध महिला सांसदहरुले बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका छन्। उनीहरुले बलात्कारीमाथि नेपालको कानुनमै नभएको सजाय माग गर्नु कारण थियो, पछिल्लो समय भइरहेका श्रृंखलावद्ध बलात्कारका घटना। 
  • पछिल्लो समय बझाङकी १२ बर्षिया सम्झना कामीको बलात्कारपछि हत्या भएको घटना लिएर सामाजिक सन्जालहरुमा बहस एवं देशका विभिन्‍न भागमा विरोध प्रदर्शन भइरहेका छन् ।काठमाडौंको माइतीघरलगायत १७ जिल्लाका जिल्ला प्रशासन र सातवटै प्रदेशका मुख्यमन्त्रीको कार्यालय अगाडि बिहीबार धर्ना एवं विरोध प्रदर्शन गरिएको छ ।
  • बलात्कार प्रयासको आरोप लागेका दुई अभियुक्तलाई बचाउन प्रहरी र जनप्रतिनिधि नै लागेको खुलेको छ । प्रहरीले पीडित पक्षबाट ठाडो निवेदन मात्रै परेको र जनप्रतिनिधिले पञ्चायतीबाट समस्या समाधान गर्ने भन्दै प्रहरी कार्यालयबाट आरोपितलाई बुझेर लगेका छन् ।
  • बलात्कार प्रयासको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मोरङका प्रहरी प्रमुख (एसपी) सन्तोष खड्काले घटनाको १० महिनापछि उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार २० वर्षीय मोहम्मद शाहिद मियाँ र २५ वर्षीय मोहम्मद असलम मियाँलाई विराटनगर–८, सुकुम्बासी टोलबाट पक्राउ गरी मंगलबार सार्वजनिक गरिएको हो ।


यस हप्ताका आर्थिक गतिविधिहरू :

  • आर्थिक वर्ष सकिएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ। ०७४ फागुनमा यो सरकार बनेपछि मन्त्रीहरूको सम्पत्ति एकपटक मात्र सार्वजनिक गरिएको छ। मन्त्रिपरिषद् पुनर्गठन हुँदा थपिएका १२ जना मन्त्रीको सम्पत्ति त एकपटक पनि सार्वजनिक भएको छैन।
  • सरकारले आन्तरिक ऋण उठाउन सुरु गरेको छ। नेपाल राष्ट्र बैंकमार्फत सरकारले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएअनुसारको आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको छ। जसअनुसार केन्द्रीय बैंकले प्रथम चौमासमा ५७ अर्ब आन्तरिक ऋण उठाउने गरी लक्ष्य लिएको छ। 
  • नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका ग्राहकको गुनासो सुन्‍ने कार्यविधि बनाएर लागु गरेको छ। केन्द्रीय बैंकको नियमन विभागले सोमबार उक्त कार्यविधि जारी गर्दै लागु गरेको छ। वित्तीय ग्रहकको हित संरक्षण तथा समान व्यवहारको लागि ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि - २०७७’ लागु गरेको केन्द्रीय बैंकले जनाएको छ। 
  • नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल २०७७ जारी गरेको छ। धितोपत्र व्यवसायीको जोखिम मुल्यांकनलाई थप व्यवस्थित गर्न उक्त म्यानुअल जारी गरेको बोर्डले जनाएको छ। 
  • जागिर छाड्ने क्रम बढेपछि नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सुविधा बढाउन थालेको छ। कल्याणकारी कोषमार्फत यस वर्षदेखि प्रहरीका सुविधा थपिएका छन्। त्यसमध्ये पछिल्लो सुविधा हो, सहुलियत घर कर्जा। घर बनाउन चाहने प्रहरीले कल्याणकारी कोषबाट सहुलियतपूर्ण कर्जा पाउने भएका छन्। कोषबाट पहिलोपटक घर कर्जा दिइन लागेको हो।
  • नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ । बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ ।
  • सरकारले करका दर र अन्तशुल्क घटाउने निर्णय गरेको छ । आर्थिक ऐन २०७७ को दफा १८ उपदफा १ बमोजिम करका दरहरु र अन्तशुल्क घटाउने निर्णय भएको मन्त्री ज्ञवालीले बताए । यो व्यवस्था आजै राजपत्रमा प्रकाशित भई कार्यान्वयनमा आएको पनि उनले बताए ।
  • करका दर र अन्त:शुल्क घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको व्यवसायीहरुले बताएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले करका दर र अन्त:शुल्क घटाउने निर्णय गरेपछि व्यवसायीहरु उत्साहित हुँदै स्वागतयोग्य कदम भनेका छन् ।
  • बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य तीव्र पारेको छ । मल ढुवानी गर्न मन्त्रालयले तीन विकल्पबारे छलफल गरिरहेको छ । त्यसमा ट्रकबाट ढुवानी छिटो छरितो हुने मन्त्रालयको निष्कर्ष छ ।
  • कोभिड–१९ को संक्रमण बढिरहेका बेला कोरोना बिमामा झन् कठोर प्रावधान ल्याइएको छ । बिमा कम्पनीहरूको प्रभावमा परेर बिमितको हितविपरीत बिमा समितिले कोरोना बिमामा कडा प्रावधान थपेको हो ।


यस हप्ताका न्यायीक एवं प्रशासनिक गतिविधिहरू :

  • राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा तेजाव आक्रमणका दोषीहरुलाई कडा कारबाही गर्ने व्यवस्थासहितको कानुनी व्यवस्था लागि अध्यादेश जारी गरेकी छिन्। उनले तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७ लगायतका तीनवटा अध्यादेश जारी गरेकी हुन् । 
  • सर्वोच्च अदालतले स्वास्थ्य सामग्री खरिद अनियमिततामा मुछिएका ओम्नी बिज्नेश कर्पोरेट इन्टरनेसनल (ओबीसीआई) लाई तत्काल कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको छ।लकडाउन लगत्तै स्वास्थ्य सामग्री खरिदको जिम्मेवारी पाएको ओम्नीले गुणस्तरिय सामान नल्याएको अनि समयमा सामान समेत आपूर्ति नगरेको भनी स्वास्थ्य सेवा विभागले उसँगको खरिद सम्झौता रद्द गरेको थियो।
  • सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले वैज्ञानिक वन व्यवस्थापनअन्तर्गत देशभरका सामुदायिक र साझेदारी वनमा काटिएका सालका काठको बिक्री साधारणसभाबाट निर्णय गराएर खुलाउन सुझाव दिएको छ। यसो गर्दा विदेशबाट सालका काठ आयात रोक्न सकिनेछ।
  • सांसदहरुले रेल्वे बोर्डमा कार्यकारी समिति आवश्यक रहने वा नरहने विषयमा अझ बढी छलफल आवश्यक रहेको बताएका छन्।राष्ट्रिय सभा अन्तर्गतको विधयान व्यवस्थापन समितिको सोमबारको बैठकमा ‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक-२०७६’ माथि छलफल गर्दै सांसदहरुले कार्यकारी समिति राख्‍ने वा नराख्‍ने सम्बन्धमा अझ स्पष्ट हुनुपर्ने बताएका हुन्।
  • संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विगतमा घरेलु काममा श्रमिक पठाउन पूर्ण रूपमा बन्देज लगाउन सरकारलाई निर्देशन दिएकोमा अहिले घरेलु कामदार विदेश पठाउनका लागि निश्चित सर्तहरू तोकेको छ। समितिको मंगलबार बसेको बैठकले कस्तो–कस्तो अवस्थामा घरेलु कामदारका रूपमा पठाउन सकिने भन्ने सर्त तोकेको छ।
  • संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिले ठूलो रकम लिएर नेपालीलाई अवैध बाटोबाट लग्दै मानव बेचबिखनजस्तो गम्भीर आपराधिक कार्यमा संलग्न म्यानपावरको दर्ता खारेज गरी कारबाही गर्न निर्देशन दिएको छ। 
  • सरकारले त्रिभुवन विमानस्थलमा हिमालय एयरलाइन्सलाई दिएको सेल्फ ग्राउन्ड ह्यान्डिलिङ (भूमिस्थ सेवा) सुविधाबारे नेपाल एयरलाइन्स (वायुसेवा निगम)ले आफ्नो धारणा सार्वजनिक गरेको छ।मंगलबार एक विज्ञप्ति जारी गर्दै नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्ससँग रहेको ग्राउन्ड ह्यान्डिलिङ सेवामा पूर्णविराम लगाउने कामको सुरुआत यसैमार्फत गरेको निगमले आरोप लगाएको छ।
  • मानवअधिकारका क्षेत्रमा काम गर्दै आएको एमनेस्टी इन्टरनेसनल (एआई) ले भारतमा आफ्नो काम बन्द गर्ने निर्णय गरेको छ। भारत सरकारको प्रतिशोधपूर्ण व्यवहारका कारण यस्तो निर्णयमा पुगेको एआईले जनाएको छ। दुई वर्षदेखि लगातारको अनुसन्धान र खातासमेत रोक्का गरिएपछि सबै काम बन्द गर्ने निर्णयमा पुगेको एआईद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 
  • प्रहरी प्रधान कार्यालय, नक्सालले कर्मचारीको सरुवासम्बन्धी ०६९ सालबाट कायम रहेको मापदण्डलाई संशोधन गरेको छ। नयाँ मापदण्डअनुसार अब प्रहरी कर्मचारी कुनै पनि युनिटमा एक वर्षसम्म ढुक्कले काम गर्न पाउनेछन्। तर आर्थिक वा अन्य कुनै किसिमको विवादमा मुछिए तत्काल फिर्ता बोलाउन सकिने व्यवस्था गरिएको छ।
  • प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। कार्यवाह अध्यक्ष बुढाथोकीले आज दश बुँदे प्रतिवद्धतापत्र सार्वजनिक गर्दै काउन्सिलमा नयाँ शैली अवलम्बन गरी आजको काम आजै सम्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन्।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले भोलिदेखि लागु हुने गरी उडान कोटा बढाएको छ। जसअनुसार अब बुद्ध एयरले सबै भन्दा बढी दैनिक २९ र यति एयरलाइन्सलाई दैनिक १९ वटा उडान गर्न पाएको छ। यस्तै, श्री एयरले १२, सिम्रिक एयर र सौर्य एयरले २/२, तारा, समिट र सिता एयरले ४-४ उडानको अनुमति पाएका छन्।
  • नेपाल नागरिक उड्‍डयन प्राधिकरणले थाई एयर र एयर इन्डियालाई दिएको ग्राउन्ड ह्‍यान्डलिङको अनुमति फिर्ता लिने भएको छ। सरकारले हिमालय एयरलाइन्सलाई ग्राउन्ड ह्‍यान्डलिङको जिम्मेवारी दिएको विषयमा आलोचना भइरहेका बेला यस्तो निर्णय आएको हो।
  • सार्वजनिक निकायमा हुने अनियमितताको अनुसन्धान गर्ने जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै अख्तियारको दुरुपयोग भएको छ । अनाथ तथा असहाय बालबालिकाको हितमा काम गर्दै आएको नेपाल बाल संगठनको जग्गामा ग्यारेज बनाएर आयोगले प्रयोग गर्दै छ ।
  • कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका आरोपितमध्येका एक गोविन्दबहादुर बटाला ‘जीवीत’लाई सफाई दिने आफ्नै फैसलालाई सर्वोच्च अदालतले पुनरावलोकन गर्ने भएको छ । न्यायाधीशहरु दिपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको इजलासले बिहीबार पुनरावलोकनका लागि ‘निस्सा हुने’ आदेश गरेको हो । 



यस हप्ताका शैक्षिक गतिविधिहरू :

  • त्रिभुवन विश्वविद्यालय सेवा आयोगले पहिलोपटक अनलाइन माध्यमबाट प्राध्यापक छनोट गरेको छ। विदेशी विज्ञसहितको छनोट टोलीले ५० वर्षभन्दा कम उमेरका प्रतिस्पर्धीमध्येबाट दुई प्राध्यापक र १६ सहप्राध्यापक छानेको हो।  
  • उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहरुले राजीनामा माग गरेका छन्। प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजमा आबद्ध करिब ३ सयजना चिकित्सकहरुले उपकुलपति गिरीको राजीनामा गरेका हुन्।
  • करिब ३० वर्ष काठमाडौंको बौद्ध महांकालस्थित आफ्नो कलाकुटीमा एकान्तवास बसेका कला एवम् साहित्यका विशिष्ट स्रष्टा स्व. मनुजबाबु मिश्रका निबन्धहरूको संग्रह ‘एकलानुभूति’ मंगलबार सार्वजनिक भएको छ। उनका यसअघि प्रकाशित ६ वटा निबन्ध संग्रहबाट चर्चित साहित्यकार अमर न्यौपानेले छानेका निबन्ध ‘एकलानुभूति’मा संग्रहित छन्
  • रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ। नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो।
  • लेखक तथा पत्रकार विजय कुमारको दोस्रो पुस्तक ‘सम्बन्धहरू’ सार्वजनिक भएको छ । मदन पुरस्कार विजेता ‘खुशी’का लेखकको यो दोस्रो कृति हो ।
  • पोखरा विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. प्रेमनारायण अर्याल नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बुधबार नियुक्त गरेका हुन् । 
  • कोरोना संक्रमणको जोखिमबीच निजी तथा सामुदायिक विद्यालय धमाधम खुल्न थालेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशिका जारी गरी विभिन्न विधिमार्फत विद्यार्थी सिकाइ सहजीकरण गर्न भनेपछि विद्यालय खुल्न थालेका हुन् ।
  • नेपालको ०७२ सालमा आएको भूकम्पपछिको क्षतिपछिको पुनर्निमार्णमा भारतले ठूलो सहयोग गरेको छ । शिक्षा क्षेत्रमा भएका भूकम्पपछिका पुनर्निर्माण प्रयासहरुबारे तयार पारिएको सीबीआरआई परियोजना वेबसाइटको भारतीय राजदूत विनय मोहन क्वात्रा र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीद्वारा संयुक्त रुपमा शुभारम्भ गरेका छन् । 
  • कोरोना भाइरसको जोखिमका कारण शैक्षिक संस्थाहरु ठप्प भएको अवस्थामा मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाटै परीक्षा लिएको छ । गत भदौ १२ गते मिड टर्म परीक्षा लिएको विश्वविद्यालयले शनिबारदेखि अन्तिम परीक्षा लिएको हो । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौं र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा अनलाइनबाट लिएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।


विविध :

  • रौतहटको गरुडा नगरपालिका-४ मा रहेको श्रीराम सुगर मिलको सञ्चालन र बक्यौता भुक्तानीको माग गर्दै उखु किसान आन्दोलनमा उत्रिएका छन्। सोमबार उनीहरुले गौर–चन्द्रनिगाहपुर सडक खण्ड बन्द गराएका छन्।
  • महामारीको चपेटका बावजुत पनि युरोपियन र अमेरिकी राष्ट्रहरुमा फुटबल फर्किँदा एसियाली केही राष्ट्रमा मात्र फुटबल फर्किएको छ। नेपालमा भने कोरोनाको कहर व्यापक हुँदा खेलकुद गतिविधि पनि शून्य नै देखिएका छन्। 
  • लमजुङ जिल्लामा बालविवाह बढेसँगै किशोरी अवस्थामै आमा हुनेहरूको संख्या पनि बढेको छ । कानुनमा २० वर्षअघि विवाह गर्न पाइँदैन । तर, लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रसूति गराउन आउनेमध्ये १६ प्रतिशत किशोरी २० वर्षमुनिकै रहेको पाइएको छ ।
  • नेपाल स्वास्थ्य अनुसन्धान परिषदले एक सर्वेक्षण सार्वजनिक गर्दे नेपालीहरुले नुन बढी खाने गरेको देखाएकाे छ ।सर्वेक्षणले नुन सेवनमा खाना खानुअघि वा खाइरहँदा खानामा नुन वा थपेर खाने बानी ९.२ प्रतिशतमा पाइएको देखाएको छ । त्यसैगरी औसत नुन सेवन प्रतिदिन(ग्राममा) ९.१ प्रतिशतले खाने गरेको सर्वेक्षण देखाउँछ ।त्यसैगरी मुख स्वास्थ्यको कुरा गर्दा दिनमा एक पटक वा सो भन्दा बढी दाँत सफा गर्ने ८९.९ प्रतिशत रहेका छन् । अध्ययनमा ९० प्रतिशत पुरुष र ८९.९ प्रतिशत महिलाले दाँत माझ्ने गरेको बताउँछ ।
  • बाजुरामा एकै घरका ५ जना खोलामा बगेर बेपत्ता भएका छन् । हिमाली गाउँपालिका–५ कवाडी गाउँकी ३० वर्षकी सत्ता नेपाली ४ छोराछोरीसहित स्थानीय कवाडी खोलामा बगेर बेपत्ता भएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रवक्ता प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक